महसुल वृद्धिको विरोधमा फलामे डन्डी बिक्रीमा रोक- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महसुल वृद्धिको विरोधमा फलामे डन्डी बिक्रीमा रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बजेटमार्फत फलामे डन्डीमा भन्सार तथा अन्तःशुल्क बढाएपछि उद्योगीहरूले यसको बिक्रीवितरण रोकेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल स्टिल रोलिङ मिल एसोसिएसन सम्बद्ध केही उद्योगी व्यवसायीले फलामे छड तथा डन्डी बिक्रीवितरण हाललाई रोकिएको जनाएका हुन् । 

‘आयातित सामानको भन्सार छुटाउने कार्य तथा उद्योगबाट उत्पादित फलामे छड बिक्रीवितरणसमेत हाललाई रोकेका छौं,’ एसोसिएसनका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले भने, ‘सरकारको निर्णय नराम्रो होइन । तर नतिजा नकारात्मक आउने भयो ।’ अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा पेस गरेको अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमार्फत यसको भन्सार महसुल तथा अन्तःशुल्कमा हेरफेर गरेका छन् ।

‘पत्रुसँग मिसाउने स्पञ्ज आइरनको भन्सार महसुलमा शून्य प्रतिशत भन्सार लाग्ने तर आयातित बिलेटको भन्सार ४.७५ प्रतिशत लाग्ने तथा १६ सय ५० प्रति टनबाट वृद्धि गरी २५ सय अन्तःशुल्क तथा सोझै बिलेट प्रयोग गरी उत्पादन गरिने डन्डी स्वतः महँगो हुन जाने हुन्छ,’ उद्योगीहरूको विज्ञप्तिमा भनिएको छ, ‘जसले गर्दा बहुसंख्यक डन्डी उद्योगले प्रतिस्पर्धा गर्न नसकी घाटा बेहोर्दै बन्द हुने स्थितिको सिर्जना हुन जान्छ । यसको प्रत्यक्ष प्रभाव बैंकको लगानीमा समेत पर्न जान्छ ।’ कच्चा पदार्थमा शून्य प्रतिशत अन्तःशुल्क हुनु भनेको विश्व व्यापार संगठनको नीतिविपरीत रहेको उनीहरूको भनाइ छ ।

हाल ३० उद्योगमध्ये ६ उद्योगले स्पन्ज ल्याएर बिलेट उत्पादन गरिरहेका छन् । बाँकी उद्योगले बिलेट आयात गरेर फलामका डन्डी उत्पादन गर्ने एसोसिएसनले बताएको छ ।

प्रकाशित : भाद्र २८, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा ‘भर्टिकल लिडरसीप’ परिवर्तनको चिन्ता

देउवा–पौडेल र विश्वप्रकाश–गगनबीचको दुई पुस्ता यतिबेला राजनीतिको ‘डेन्जर जोन’मा छ । किनकी, विश्वप्रकाश र गगन जसले महामन्त्री जिते पनि कांग्रेसमा ‘भर्टिकल्ली लिडरसीप’ परिवर्तन हनपुग्छ । र, अर्को महाधिवेशनमा यो पुस्तालाई कसैले चुनौती दिन सक्ने छैन । त्यसैले कांग्रेसमा सिद्धान्तको विवाद होइन, ‘भर्टिकल्ली लिडरसीप’ परिवर्तन हुन्छ कि भन्ने चिन्ता देखिन्छ ।
ध्रुव सिम्खडा

काठमाडौँ — यतिबेला मुलुकको पुरानो अग्रणी राजनीतिक दल नेपाली कांग्रेसका नेता/कार्यकर्ता १४ औँ महाधिवेशनमा जुटिरहेका छन् । ७७ मध्ये २० जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । क्रियाशील सदस्यताको विवाद बल्झेपछि ती जिल्लामा वडा अधिवेशन प्रभावित भएका छन् । पूर्वनिर्धारित गाउँ/नगरदेखि केन्द्रसम्मका अधिवेशन कार्यतालिका पुनः परिवर्तन गरिएका छन् ।

अधिवेशनमा युवादेखि वृद्धसम्म चुनिएका छन् । युवा, वयस्क र वृद्धका परिभाषा के हुन् ? यसबारे यकिन छैन । ४०/ ५० वर्ष उमेर कटेका युवा हुन् कि होइनन् ? युवा त २५ वर्षमुनिकालाई नै भन्नुपर्ने हो । यस समूहकालाई युवा मान्ने हो भने अधिवेशनमा चुनिने यो समूहको प्रतिशत हल्ला पिटेजस्तो ठूलो नहोला । प्रतिकात्मक मात्र हुनसक्छ ।

अधिवेशनमा पुस्ताको प्रसंग आउँदा वर्ग र लिंगको पनि कुरा आउँछ । समावेशीताको चर्चा भइरहेकै छ । पार्टी विधानमा नै समावेशीताको संख्या किटानी गरिएकाले अब त्यसलाई कसैले हटाउन सक्ने छैनन् । तर महाधिवेशनमा वर्गका कुरा भने निकै गौण सुनिएको छ ।

के अब एउटा सामान्य परिवारमा जन्मनेले कांग्रेसको सानेपा कार्यालयसम्म पुग्न सक्ला ? कि सुकिला–मुकिला, भुइँफुट्टाहरूको मात्र सानेपामा रजगज चल्ला ? अहिलेको परिवेश हेर्दा कांग्रेस पहुँच र विरासतवालाहरूका लागि मात्र हुनेछ । किनकी, पैसा र पहुँचबिना अब राजनीति नगरे हुने भइसक्यो ।

अहिले कांग्रेसमा नेतृत्वका लागि खासगरी चार पुस्ताबीच घम्साघम्सी छ । २०४६ सालयता शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरूले पनि सात सालको पुस्ताबाट सहज नेतृत्व हस्तान्तरणको अपेक्षा गरेका थिए । तर त्यो सम्भव भएन ।

नेतृत्वमा पुग्ने पालो कुर्दाकुर्दै उनीहरूको पनि उमेरले नेटो काट्यो । बल्लबल्ल उनीहरू नेतृत्वमा त पुगे तर पछिल्ला पुस्ताले फेरि हामीलाई पदासीन हुन हतार भयो, छोडीदेऊ भन्न थाले । अहिले त एउटा पुस्तालाई होइन तीन/चारवटा पुस्तालाई पदमा पुग्न हतार भइसकेको छ ।

२०४६ सालपछि जन्मेकाहरू त कांग्रेस राजनीतिको छेउकुनामा पनि छैनन् । ती पनि ३० वर्ष कटिसके ।

करिब एक दशकअघिदेखि कांग्रेस नेतृत्वमा सातसालको पुस्ताले विश्राम लिन पुगेसँगै परिदृश्यमा देखिएको देउवा–रामचन्द्रको पुस्ता योपटक पनि सभापतिमा रस्साकस्सी गर्दैछन् ।

देउवा–रामचन्द्र पुस्ता : ७५ कटेको यो पुस्ता २०४६ सालयता सत्ताकै वरिपरि छ । मन्त्रीदेखि प्रधानमन्त्री, उपप्रधानमन्त्री र केन्द्रीय सदस्यदेखि सभापतिसम्म हुनेक्रम रोकिएको छैन । शेरबहादुर देउवा अहिले पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा छन् ।

रामचन्द्र पौडेल अघिल्लो महाधिवेशनमा देउवासित पराजित भएर पनि पार्टीमा ‘वरिष्ठ’ नेताको पद सिर्जना गरेर भागबन्डा खोजिरहेका छन् । राजा महेन्द्रले संसदीय व्यवस्था भंग गरी निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि त्यसको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा होमिएको यो पुस्ता अझै पनि नेतृत्वमा आफैं रहन चाहन्छ । पञ्चायतकालमा दुःख गरेको राजनीतिक ब्याजको हिसाबकिताब खोजिरहेको छ ।

देउवा–पौडेल जो भए पनि पार्टी सभापति आफूहरूबाट फुत्कियो भने त्यो सदाको लागि गुम्ने र पुस्तान्तर हुने खतरा यिनले देखेका छन् । देउवाले सभापति जित्दा पनि पौडेल ‘वरिष्ठ’ नेताको पगरी गुथेर पार्टीमा बस्न पाउने र कथंकदाचित् पौडेल पार्टी सभापति भइहाले भने पनि देउवालाई अहिले पौडेलले पाइरहेको ‘वरिष्ठ’को पद्‌वी स्वतः प्राप्त हुने र राजनीतिको शीर्षस्थानमै रहन पाउने यिनको भित्री चाहना प्रकट नभए पनि बुझ्न कठिन पर्दैन ।

विमलेन्द्र–बलबहादुर पुस्ता : २०३६ सालको यो पुस्ताका धेरै नेता छन् । ६० देखि ७० वर्षबीचको यो पुस्ताका केही नेता महामन्त्री, उपसभापति, सह-महामन्त्रीलगायत पदाधिकारी बनिसकेका छन् । अब यसपटक पनि सभापति बन्न नसक्ने हो भने यस पुस्ताका नेताहरूलाई उमेरले पनि साथ दिने छैन ।

अहिले यस पुस्ताका नेताहरू राजनीतिक मैदानबाट बाहिरिनु पो पर्ने हो कि भन्ने मनोविज्ञानबाट भयभित देखिन्छन् । यतिबेलासम्मको आफ्नो राजनीतिक लगानी अन्तिममा आएर डुब्ने पो हो कि भन्ने चिन्ता यिनलाई छ ।

प्रकाशमान सिंह, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, शशांक कोइरालालगायत यस पुस्ताका धेरै नेताहरू यसपटक कसरी सभापति वा पदाधिकारी बन्ने र त्यसपछिको राजनीतिक यात्रा सुरक्षित गर्ने भनी चिन्तित छन् । साँच्चै, यो पुस्तालाई राजनीतिमा अडिने कि कुना लाग्ने भन्ने चुनौतीको महाधिवेशन हो–१४ औँ महाधिवेशन । त्यसैले यो पुस्ता कांग्रेस राजनीतिको ‘डेन्जर जोन’मा पुगेको छ ।

खाँण–भुसाल–एनपी पुस्ता : २०४६ सालको जनआन्दोलनको अग्रणी मोर्चामा होमिएको ‘डेन्जर जोन’मा पुगेको अर्को पुस्ता हो यो । आफूअघिल्तिर सक्रिय दुई पुस्ताबाट पद खोस्न यिनलाई कम्ता पापड पेल्नु पर्दैन । आफूपछिल्तिरको पुस्ता त्यतिकै सक्रियसाथ राजनीतिक मैदानमा प्रकट भइसकेको छ ।

आफूहरू पदाधिकारीमा निर्वाचित हुन नसक्ने र आफूभन्दा पछिल्लो र चर्चित पुस्ता निर्वाचित हुने अवस्था आयो भने आफ्नो राजनीति धरासयी हुने आकलन यो पुस्ताले गर्ने नै भयो । चन्द्र भण्डारी, रमेश लेखक, ध्रुव वाग्ले, पुष्पा भुसाल, डिला सङ्ग्रौला, गुरूराज घिमिरे, धनराज गुरूङलगायतले यो पुस्ताको प्रतिनिधित्व गर्छन् । चुनावी प्रतिस्पर्धा र गुटीय तालमेलले यो पुस्ताका क-कसलाई आगामी पार्टी राजनीति गर्न सहज हुने हो त्यो अबको करिब साढे दुई महिनापछि थाहा हुनेछ ।

विश्वप्रकाश–गगन पुस्ता : २०६२/६३ सालको दोस्रो जनआन्दोलनसँगै चम्केको पुस्ता हो यो । ४० देखि ५० वर्षका यो कांग्रेसको घोषित कान्छो पुस्ता हो । ४० मुन्तिरकाहरू समूहगत कांग्रेस छन् कि छैनन् त्यो न जिल्ला नेतृत्वलाई थाहा छ, न केन्द्रीय नेतृत्वलाई ।

जे होस् ‘डिजिटल डिमोक्रेसी’को युगमा यिनीहरू कांग्रेसका ‘टेलिजेनिक’ चेहेरा हुन् । यिनीहरू आफूलाई गणतान्त्रिक नेपालको नेतृत्वमा स्थापित गराउन आतुर छन् । कल्याण गुरूङ, प्रदीप पौडेल, नैनसिंह महर, जीतजङ्ग बस्नेतलगायत यस पुस्ताका चर्चित अनुहारहरू हुन् ।

यो पुस्ता पनि पचास वरिपरि पुगिसकेको छ । यसपछिको पुस्ता त राजनीतिक मैदानमा दृश्य मै छैन । मैदान प्रवेशै नपाएको यो पुस्ताचाहिँ वास्तवमै अन्यायमा परेको पुस्ता हो । जगेडामा बसेर कुर्दाकुर्दै यिनीहरूको खेल्ने समय नै नआउन सक्छ ।

अहिले पार्टी नेतृत्व लिन छटपटाइरहेका माथि उल्लेखित चार तह अर्थात् पुस्तामध्ये बीचको दुई पुस्ता ( विमलेन्द्र–बलबहादुर पुस्ता र खाँण–एनपी पुस्ता) तालमेल मिलेन भने यसपालि ‘भर्टिकल्ली स्लिप’को जोखिममा छ ।

त्यसैले यिनीहरूलाई कि सभापति, उपसभापति, महामन्त्री उठेर जित्नुपर्छ कि त केन्द्रीय सदस्य बनेर राजनीतिको छेउमा बसेर हेर्नु सिवाय अर्को विकल्प छैन ।

यसपटक विश्वप्रकाश र गगनहरू महामन्त्रीमा पुगे भने देउवा–पौडेलबाट अर्को पटक यिनैले सभापति हात पार्ने सम्भावना बढेर जान्छ ।

माथि उल्लेखित नेताहरू सबैले लोकतान्त्रिक आन्दोलनका क्रममा आ–आफ्नो ठाउँबाट योगदान दिएका छन् । जेल–नेल र हण्डर खाएकै हुन् । यसलाई कसैले नकार्न सक्दैन र नकार्नु पनि हुँदैन । यो सम्मान र आदरका उनीहरू भागीदार छन् । तर समय र राजनीतिले भने सधैं उही र उस्तै बाटो हिँड्दैन । कहिलेकाहीँ निर्मम पनि भइदिन्छ ।

माथि उल्लेखित नामहरू लोकतान्त्रिक इतिहासमा जबर्जस्त नामहरू हुन् । तर के गर्नु कहिलेकाहीँ इतिहासले पनि जबर्जस्त बाटो लिन्छ । योगदान गरेकाहरूलाई समय र इतिहासले दोसल्ला ओढाएर सम्मान चाहिँ गर्छ तर कहिलेकाहीँ जिम्मेवारीबाट भने बाहिरै बस्नुपर्ने माहोल सिर्जना गरिदिन्छ ।

पुस्ता परिवर्तनको लामो श‌‌ृंखलासँगै यतिबेला कांग्रेसमा नेतृत्व परिवर्तनको उछलकूद देखिएको छ । क्रमिक र सहजरूपमा एकपछि अर्को पुस्तामा राजनीति सर्ने परम्परा धर्मराउन लागेका सङ्केतहरू देखिन थालेका छन् ।

इतिहास सधैं क्रमिकरूपमा सिलसिला मिलाएर मात्र हिँड्दैन, फड्कै मारेर पनि कुदिदिन्छ । पार्टीमा पुस्तान्तर हस्तान्तरणको चरणमा छ । पुरानो रिले दौड बन्द हुनसक्छ । रिले दौडमा मस्त राजनीति गरिरहेकाहरूलाई ‘म्याराथन’ धावकहरूको प्रवेशले मैदानमा पछाडि पारिदिने सम्भावना बढेको छ ।

देउवा–पौडेल र विश्वप्रकाश–गगन पुस्ताबीचको दुई पुस्ता यतिबेला राजनीतिको ‘डेन्जर जोन’मा छ । किनकि, विश्वप्रकाश र गगनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यी दुईमध्ये जसले जिते पनि कांग्रेसमा ‘भर्टिकल्ली लिडरसीप’ परिवर्तन हनपुग्छ । र, अर्को महाधिवेशनमा यो पुस्तालाई कसैले चुनौती दिन सक्ने छैन ।

अघिल्ला दुई पुस्ता थाकिसकेको अनुभव गरिसकेका हुनेछन् भने उनीहरू पछिको पुस्ताले अहिलेसम्म आकारै ग्रहण गरेको छैन । त्यसैले कांग्रेसमा सिद्धान्तको विवाद होइन, ‘भर्टिकल्ली लिडरसीप’ परिवर्तन हुन्छ कि भन्ने चिन्ता देखिन्छ ।

प्रकाशित : भाद्र २८, २०७८ १४:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×