कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

दोधारा चाँदनीमा एकीकृत चौकी निर्माणको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन

काठमाडौँ — दोधारा चाँदनी सुख्खा बन्दरगाह एकीकृत चौकी निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ र ३ को क्षेत्रमा फैलिने गरी प्रस्ताव गरिएको एकीकृत जाँच चौकीको निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन थालिएको हो । 

दोधारा चाँदनीमा एकीकृत चौकी निर्माणको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन

महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्कीपुलदेखि पारिपट्टी करिब १२०० मिटरको दुरीमा सुख्खा बन्दरगाह निर्माण हुन लागेको छ । सुख्खा बन्दरगाहको गुरु योजनासमेत तयार भइसकेकाले वातावरणीय प्रभाव मूल्यांकन अध्ययन नेपाल इन्टरमोडल यातायात विकास समितिले सुरु गरेको हो । समितिका कार्यकारी निर्देशक आशीष गजुरेलका अनुसार अध्ययनका लागि परामर्शदाता छनोट भइसकेको छ ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन क्षेत्रका प्रस्तावित करिब २८० बिघा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, रेल्वे प्लेटफार्म, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइन लगायतका लागि आवश्यक भौतिक संरचना निर्माण हुने बताए ।

वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गर्ने विशेषज्ञ प्राविधिक टोलीका साथ निर्माणस्थलको निरीक्षणको क्रममा सचिव भट्टराईले निर्माण अघिका वातावरणीय प्रभाव मूल्यांकन अध्ययनलगायत सम्पूर्ण आवश्यक कार्यहरु शीघ्र सम्पन्न गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई निर्देशन दिए ।

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार एवम् दोधारा चाँदनी नगरपालिका प्रमुख वीरबहादुर सुनारले सुख्खा बन्दरगाहको शीघ्र निर्माण सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : भाद्र २७, २०७८ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×