कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

गोरखपुरतर्फको प्रसारण लाइन निर्माण : नेपाल र भारतबीच लगानी सम्झौता

संयुक्त कम्पनी स्थापना गरी दुवै देशले ५०/५० प्रतिशत लगानी गर्ने
राजेश मिश्र

नयाँदिल्ली — प्रस्तावित बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइनको भारततर्फका संरचना निर्माण गर्न नेपाल–भारतबीच ‘सेयर होल्डर एग्रिमेन्ट’ भएको छ । नेपाल विद्युत् प्राधिकरण तथा भारत सरकार मातहतको पावर ग्रिड कर्पोरेसन इन्डिया लिमिटेडबीच सिमानादेखि गोरखपुरसम्म चार सय केभी प्रसारण लाइन निर्माणको काम दुवै देशको संयुक्त लगानीमा बढाउने गरी सम्झौता भएको हो । 

गोरखपुरतर्फको प्रसारण लाइन निर्माण : नेपाल र भारतबीच लगानी सम्झौता

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले पावर ग्रिडसँग ज्वाइन्ट भेन्चरमा पूर्वाधार निर्माण गर्ने सम्झौता गरेको हो । प्राधिकरण र पावर ग्रिडका अधिकारीबीच ‘सेयर होल्डर एग्रिमेन्ट’ सम्झौतापत्रमा हस्ताक्षर तथा सहमतिको कपी एकअर्कालाई हस्तान्तरण गरियो । नेपाल र भारतबीच दोस्रो क्रस बोर्डर ट्रान्समिसन लाइन बनाउने विषयलाई गति दिने सन्दर्भमा महत्त्वपूर्ण काम भएको प्राधिकरणका निर्देशक प्रबल अधिकारीले जानकारी दिए ।

‘बुटवलबाट सीमासम्म हामी आफ्नै हिसाबले प्रसारण लाइन निर्माण गर्छौं,’ उनले भने, ‘भारतपट्टि भने ज्वाइन्ट भेन्चरमा निर्माण गरिने सम्झौता भएको हो । बिलकुलै नयाँ मोडालिटीमा काम अगाडि बढ्छ ।’ बुटबलदेखि सीमासम्म प्रस्तावित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट प्राप्त हुने अनुदानबाट निर्माण गर्ने तयारी छ, जुन सहायता स्वीकार गर्ने–नगर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । अमेरिकी सहयोगबाट नेपालतर्फको प्रसारण लाइन निर्माण हुने भएकाले एमसीसी कार्यान्वयनका लागि भारतसँग सम्झौता गर्नुपर्ने पूर्वसर्त राखिएको छ, जसको निर्माण प्रक्रिया अघि बढाउने गरी प्राधिकरणले सम्झौता गरेको हो ।

सम्झौताअनुसार प्राधिकरण र पावर ग्रिड दुईवटै कम्पनीको समान स्वामित्व रहने गरी एउटा ज्वाइन्ट भेन्चर कम्पनी स्थापना गरिनेछ । त्यही कम्पनीमार्फत दुवैले ५०/५० प्रतिशत लगानी गरेर ट्रान्समिसन लाइन बनाइनेछ । ज्वाइन्ट भेन्चर कम्पनीले नै ट्रान्समिसन लाइन निर्माणलाई कार्यान्वयनमा लैजानेछ । प्रबन्धपत्र, नियमावलीहरूको निर्माणपछि कम्पनी दर्ता गरिनेछ । ती सबै कामका लागि ३ महिना समय लाग्न सक्ने अनुमान गरिएको अधिकारीले बताए ।

ज्वाइन्ट भेन्चरमा काम गर्ने विषयलाई यसअघि दुई देशका विद्युत् र ऊर्जा सचिवबीचको बैठकले स्वीकृति प्रदान गरेको थियो । त्यसअनुसार पावर ग्रिड कम्पनीसँग सम्झौताको अधिकार तथा स्वीकृति नेपाल सरकारले साउन अन्तिममा दिएको थियो । सम्झौताको विषय नै भारततर्फ बनाइने संरचनाका लागि रहेको अधिकारीले जानकारी दिए ।

दुई देशबीच चार सय केभी प्रसारण लाइनअन्तर्गत अहिले ढल्केवर–मुजफ्फरपुर लाइन सञ्चालनमा छ । बुटवल–गोरखपुर दोस्रो प्रसारण लाइन निर्माणको चर्चा पछिल्ला धेरै वर्षदेखि चल्दै आएको छ । बुटवल–गोरखपुरको क्षमता ढल्केवर–मुजफ्फरपुरको तुलनामा दुई गुणा नै बढी हुनेछ । यसको निर्माणले नेपालको जलविद्युत् विकासमा महत्त्वपूर्ण सकारात्मक भूमिका खेल्ने अधिकारीले बताए । ‘विद्युत् व्यापारको सुनिश्चितता भएपछि मात्रै लगानी बढ्ने हो,’ उनले भने, ‘चार वर्षदेखि यसमा काम भइरहेको थियो । निर्माणका लागि सम्झौता हुनु महत्त्वपूर्ण हो ।’

प्राधिकरणको टोलीले भारतमा विद्युत् र ऊर्जा क्षेत्रका विभिन्न अधिकारीसँग भेटेर नेपालमा बढी हुने बिजुली खरिदका लागि आग्रहसमेत गरेको छ । ऊर्जा मन्त्रालयका सहसचिव मृत्युञ्जयकुमार नारायणसँग घिसिङ नेतृत्वको टोलीले भेट गरेको थियो । नेपाली टोलीले पटनास्थित नर्थ बिहार पावर डिस्ट्रिब्युसन कम्पनीका अधिकारीसँग पनि छलफल गरेको छ । भेटमा प्राधिकरणका अधिकारीले नेपालमा विद्युत् उत्पादन बढेकाले वर्षाका बेला बढी विद्युत् किनिदिन आग्रह गरेका थिए ।

प्रकाशित : भाद्र २७, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×