१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

पाइपलाइनबाट सवा १६ लाख किलोलिटर डिजेल आयात

निगमलाई करिब ३ अर्ब फाइदा

काठमाडौँ — तिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट सवा १६ लाख किलोलिटर डिजेल आयात भएको छ । २०७६ भदौ २४ मा पाइपलाइन उद्‌घाटन भएपछि हालसम्म उक्त परिमाणमा डिजेल आयात भएको छ । 

पाइपलाइनबाट सवा १६ लाख किलोलिटर डिजेल आयात

नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४ लाख ८८ हजार ५ सय ४८ किलोलिटर, २०७७/७८ मा १० लाख ३ हजार १ सय ५० किलोलिटर र २०७८/७९ हालसम्म १ लाख ३२ हजार ४ सय ७ किलोलिटर आयात भएको हो ।

पाइपलाइनबाट डिजेल आयात भएपछि दुई वर्षको अवधिमा करिब ३ अर्ब रुपैयाँ जोगिएको निगमले जनाएको छ । उक्त रकम ढुवानी भाडा र प्राविधिक नोक्सानीबाट जोगिएको निगमका प्रादेशिक कार्यालय प्रदेश नम्बर २ बाराका प्रमुख प्रदीप यादवले जानकारी दिए । ‘पाइपलाइनबाट प्रतिघण्टा २ सय ५० किलोलिटर डिजेल आयात भइरहेको छ । पाइपबाट ढुवानी भएपछि प्राविधिक नोक्सानी पनि शून्य छ,’ उनले भने, ‘ढुवानी भाडा समेत बचत हुँदा २ वर्षको अवधिमा करिब ३ अर्ब जोगिएको छ ।’


पाइपलाइनबाट आयात भएको डिजेल थानकोट डिपो, भैरहवा डिपो, पोखरा तथा विराटनगरमा स्टक ट्रान्सफर गरिन्छ । वीरगन्ज क्षेत्रबाट मात्रै कूल आयात परिमाणको ६० प्रतिशत इन्धन आयात हुने गरेकोमा ट्याकट्रक मार्फत ढुवानी गर्दा लाग्ने ढुवानी भाडा, अन्य ढुवानी शुल्क बापत रकम बचत भइरहेको छ । यससँगै गुणस्तरको पनि सुनिश्चिचता भएको निगमको दाबी छ । ‘बेला बखतमा हुने गुणस्तरसँग सम्बन्धित समस्या, तापक्रम तथा कार्यगत नोक्सानीको समस्या थियो,’ निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अहिले ती समस्या अन्त्य भएको छ । पाइपलाइनबाट ढुवानी हुँदा वातावरणीय तथा पर्यावरणीय असर समेत न्यूनिकरण भएको छ ।’

प्रकाशित : भाद्र २४, २०७८ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?