कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमाल आरोहण अनुमति लिने विदेशी बढे 

विभागद्वारा एक सातामा पर्यटकबाट १ करोड ६९ लाख सलामी दस्तुर संकलन
सुरज कुँवर

काठमाडौँ — कोरोना संक्रमण जोखिमका कारण नेपालले पर्यटकलाई भिसामा कडाई गरिरहेकै बेला शरदकालीन याममा हिमाल आरोहण गर्न चाहने विदेशीको संख्या गत वर्षको दाँजोमा ह्वात्तै बढेको छ । पर्यटन विभागका अनुसार, सोमबारसम्म १ सय ६० जना विदेशीले विभागबाट शरदकालीन याम (सेम्टेम्बर, अक्टोबर र नोभेम्बर) मा हिमाल आरोहणको अनुमति लिइसकेका छन् ।

हिमाल आरोहण अनुमति लिने विदेशी बढे 

गत वर्ष ५८ जनाले आरोहण अनुमति लिएका थिए । यो क्रम अझै बढ्ने सक्‍ने विभागको पर्वतारोहण शाखा प्रमुख मिरा आचार्यले बताइन् । ‘मंगलबार कञ्चनजंघा र धौलागिरि हिमाल आरोहणका लागि अनुमति मागिएको छ,’ उपसचिव आचार्यले कान्तिपुरसँग भनिन, ‘बुधबार अनुमति जारी हुन्छ होला ।’ विभागले हालसम्म उत्तरी गोरखाको मनास्लु हिमालका लागि १ सय ५७ जनालाई अनुमति दिइसकेको छ भने ताप्लेजुङमा पर्ने कञ्चनजंघाका लागि ३ विदेशीलाई अनुमति दिएको छ ।

हालसम्म जारी भएका अनुमतिमा ३४ महिला छन् भने १ सय २६ पुरुष छन् । विभागले गएको मंगलबारदेखि शरदकालीन यामका लागि अनुमति दिन सुरु गरेको थियो । यो एक सातामा विभागले आरोहण अनुमति जारी गर्दै १ करोड ६९ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरिसकेको छ । शरदयाममा सगरमाथाबाहेक ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १ सय २५ देखि अधिकतम ४ सयसम्म सलामी दस्तुर तिर्नुपर्छ । सबैभन्दा महँगो वसन्तकालीन सिजनमा सगरमाथा आरोहणमा जाने विदेशीले प्रतिव्यक्ति ११ हजार डलर तिर्नुपर्छ ।

गत वर्ष सरकारले कोरोना संक्रमणका कारण होटल क्वारेन्टाइनको नियम हुँदा पनि ४९ जना विदेशी र नौ जना नेपाली गरी ५८ जनाले मात्रै शरदकालीन हिमाल आरोहण अनुमति लिएका थिए । ८ वटा आरोहण दलमा रहेर उनीहरु खुम्बु क्षेत्रको अमादब्लम र बरुणचे, उत्तरी गोरखाको मनास्लु, सिन्धुपाल्चोकको ग्याल्जेन र मनाङको हिमलुङ हिमाल आरोहण गर्न गएका थिए ।

प्रकाशित : भाद्र २२, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?