कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुद्ध एयरको पोखरा–सिमरा उडान सुरु 

काठमाडौँ — प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखरा हवाई मार्गबाट जोडिएको छ । बुधबार पहिलोपल्ट पोखरा–सिमरा–पोखरा उडान भएको हो । 

बुद्ध एयरको पोखरा–सिमरा उडान सुरु 

यसअघि काठमाडौंबाहेक नेपालगञ्ज, भरतपुर र भैरहवामा पोखराबाट सिधा उडान हुँदै आएको छ । पोखराबाट नेपालगञ्ज, भरतपुर र भैरहवामा उडान भरिरहेको बुद्ध एअरले नै पोखरा–सिमराको सेवा सुरु गरेको हो ।

१९०० डी विचक्राफ्ट १८ सिटे जहाजले साताको ३ दिन पोखरा–सिमरा उडान भर्ने छ । आइतबार, बुधबार र शुक्रबार पोखरा र सिमराबाट यात्रुले आहोरदोहोर गर्न पाउनेछन् । यो मार्गमा ४ हजार ७ सय ७०, ५ हजार २ सय ७० र ७ हजार १ सय ७० गरी तीनथरि भाडादर छन् । उडान समय ३० मिनेट रहेको छ । पोखराबाट सिमरा दिउँसो १२:२० र सिमराबाट पोखराको उडान १३:१५ बजे तोकिएको छ ।

बुद्ध एयरका पोखरा कार्यालय प्रबन्धक गौतम बरालले यात्रुको चाप बढेसँगै उडान संख्या बढाउन सकिने बताए । पहिलो दिन सिमराबाट ८ यात्रु पोखरा आएका छन् । पोखराबाट भने १८ यात्रु बोकेर जहाज सिमरा पुगेको छ । नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश समितिको अगुवाइमा पर्यटन पुनरुत्थान कार्यक्रमअन्तर्गत पोखराका पर्यटन व्यवसायी जहाजमार्फत सिमरा पुगेका हुन् ।

टोलीमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा समेत सहभागी छन् । टोलीमा नाट्टाका केन्द्रीय अध्यक्ष, पोखरा पर्यटन परिषद्, पोखरा उद्योग वाणिज्य संघ, नागरिक उड्डयन कार्यालयका प्रतिनिधिको सहभागिता छ । तीन दिनको भ्रमणमा टोलीले सिमरा र वीरगन्जमा प्रदेश सरकार, स्थानीय तह, उद्योग, पर्यटन व्यवसायी र सञ्चारकर्मीसँग अन्तरक्रिया गरेर शुक्रबारको फ्लाइटबाट पोखरा फर्किने छ ।

उडान सुरु भएसँगै सीमा खुल्नेबित्तिकै भारतीय सहरको नजिक रहेको वीरगन्ज नाका हुँदै पोखरा आउने पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । यसअघि बुद्ध एयरले पोखरालाई अन्तरप्रदेश उडानको हब बनाउन भरतपुर, भैरहवा र नेपालगञ्जमा सिधा उडान भरिरहेको छ ।

प्रकाशित : भाद्र १६, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?