कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

आईटी पार्कको प्रयोजन एउटा, प्रयोग अर्कै काममा

भवन बनेको लामो समयसम्म प्रयोगविहीन भएपछि पार्कमा सुरक्षण मुद्रण केन्द्र स्थापना
नगेन्द्र अधिकारी

काभ्रे — दुई दशकअघि सूचना प्रविधिको क्षेत्रमा नेपाललाई दक्षिण एसियाकै गन्तव्य बनाउने लक्ष्यसहित सरकारले काभ्रेमा सूचना प्रविधि (आईटी) पार्क बनाउन सुरु गरेको थियो । पार्क बनेपछि नयाँ–नयाँ प्रविधिमार्फत विदेशी लगानी भित्र्याउन र रोजगारीका अवसर सिर्जना गर्न सकिने सरकारले जनाएको थियो । तर निर्माण भएको लामो समयसम्म प्रयोगविहीन भएपछि पार्कमा अहिले सुरक्षण मुद्रण केन्द्र स्थापना भएको छ ।

आईटी पार्कको प्रयोजन एउटा, प्रयोग अर्कै काममा

२०५७ मा सुरु भएर २०६१ सालमा प्रथम चरण निर्माण भएको उक्त पार्कमा अब राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, बैंक नोट र अन्तःशुल्क स्टिकर आदि छपाइ गर्ने सरकारको तयारी छ । यसअघिको सरकारले पार्कमा मुद्रण केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सूचना प्रविधि पार्कका लागि तयार भएका संरचना मर्मतसम्भार गरेर केन्द्रको काम भइरहेको छ,’ केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले भने, ‘मेसिन आइपुगेको छ, सिभिल वर्क केही बाँकी छ ।’ आर्थिक वर्ष २०७६/७७ मा विनियोजित १ अर्ब ९ करोडमध्येबाट भौतिक पूर्वाधार निर्माण, सामग्री खरिद, मर्मत सम्भारलगायतका काम भइरहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षका लागि पनि १ अर्ब ३ करोड विनियोजन भएको छ ।

पार्कको उचित प्रयोगका लागि केन्द्र स्थापना गर्ने निर्णय गरिएको यसअघिको सरकारमा सूचना सञ्चार तथा प्रविधिमन्त्री रहेका गोकुलप्रसाद बाँस्कोटा बताउँछन् । ‘काभ्रेमा मुद्रण केन्द्र बन्नु जिल्लाका लागि गौरवको विषय हो,’ उनले भने, ‘पार्कको तुलनामा केन्द्रबाट थप लाभान्वित हुन सकिनेछ ।’ केन्द्रमा ३ हजार जनशक्तिले प्रत्यक्ष र अन्यले अप्रत्यक्ष रोजगारी पाउने उनको भनाइ छ ।

२०५७ मा पनौती र बनेपा नगरपालिकामा पर्ने जग्गा बनेपाले खरिद गरी पार्क निर्माण थालिएको थियो । विकास बजेट कटाएर खरिद गरिएको जग्गामा बनेको पार्कबाट नगरपालिकाको आम्दानी बढ्ने र स्थानीयले रोजगारी पाउने अपेक्षा थियो । तर उद्देश्यअनुसार काम हुन नसक्दा नगरपालिकाले प्रतिफल नपाएको बनेपाका उपप्रमुख एवं पूर्वउद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे बताउँछन् । उनका अनुसार गुरुयोजनाअनुरूप चीन सरकारको सहयोगमा बनेको बनेपा बहुप्राविधिक महाविद्यालयबाट निस्किएका आईटीका जनशक्ति सूचना प्रविधि पार्कमा प्रयोग गर्ने योजना थियो ।

पार्क सञ्चालनका लागि आफूहरूले पहल गरे पनि तत्कालीन सरकारको निर्णयपछि प्रयास निरर्थक बनेको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) काभ्रेका अध्यक्ष विकास पन्तको भनाइ छ । अब राष्ट्रिय ज्ञान पार्कको अवधारणामा काम हुने र खुमलटारस्थित रेडियो नेपालको जग्गाामा संरचना बनाउने गरी काम भइरहेको पार्क हेर्ने सूचना तथा प्रविधि विभागको पूर्वाधार विकास, अनुसन्धान, सुरक्षण तथा नियमन शाखाका निर्देशक शिवजी शाह रौनियारले बताए ।

२ सय ५७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा पहिलो चरणमा ३० करोडको लगानीमा पूर्वाधार बनेका छन् । २०६३ मा नेदरल्यान्ड्सको जाभ्रा नामक कम्पनीले ६ महिना काम सञ्चालन गरेको थियो । इन्टरनेटको समस्या र काठमाडौंदेखि पार्कसम्म पुग्ने सडक व्यवस्थित नभएको भन्दै कम्पनीले काम छाडेको थियो । २०६५ मा आईटीसम्बन्धी अमेरिकी कम्पनी आईबीएमले काम थाले पनि टिक्न सकेन । २०७२ चैतमा पार्क सञ्चालनमा आए पनि लामो समयसम्म चल्न सकेन ।

पार्क सञ्चालनमा आउन नसकेपछि राजनीतिक दल र सामाजिक संघसंस्थाको कार्यक्रम गर्ने थलो पनि बन्यो । २०६७ मा काभ्रे उद्योग वाणिज्य संघले मध्यमाञ्चल महोत्सव गरेको थियो भने नेपाली कांग्रेसको जिल्ला सम्मेलन पनि यही पार्कमा नै भयो । पार्क सञ्चालनका लागि स्पष्ट संरचना नभएका कारण पनि बेवास्ता हुँदै आएको छ । पार्क सञ्चालनका लागि कुनै विकास समिति छैन । संघ सरकारको सूचना तथा प्रविधि विभागको एउटा शाखाअन्तर्गत काम भइरहेको छ । पहिला सूचना प्रविधि उच्चस्तरीय आयोगको मातहतमा रहेको पार्क आयोग विघटनसँगै मन्त्रालयको एउटा शाखामा सीमित रहँदै आएको हो ।

प्रकाशित : श्रावण २७, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×