कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा–नेपालगन्ज उडान सुरु

कान्तिपुर संवाददाता

पोखरा — बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगन्ज सिधा हवाइ उडान थालेको छ । अबदेखि सातामा ३ दिन आइतबार, बुधबार र शुक्रबार नियमित उडान हुने बुद्ध एयरले जनाएको छ । बुद्ध एयर पोखराका प्रमुख गौतम बरालका अनुसार अहिले १८ सिट क्षमताको १९०० डी बीच क्राफ्ट जहाजमार्फत उडान थालिएको हो ।

पोखरा–नेपालगन्ज उडान सुरु

पोखराबाट बिहान ९–१० बजे र नेपालगन्जबाट १० बजे उडान हुनेछ । एकतर्फी उडानको समय ३५ मिनेट रहेको छ । भाडादर भने ७ हजार ६ सय ३५, ५ हजार ५ सय ३५ र सस्तोमा ४ हजार ९ सय ३५ रुपैयाँ तोकिएको छ । यसअघि सीता एअरले गत फागनु ७ देखि लकडाउन हुने बेलासम्म सातामा दुई दिन चार्टर उडान गर्दै आएको थियो । तालिकामा भने पहिलोपटक बुद्धले उडान थालेको हो । हाल काठमाडौं, भैरहवा र भरतपुर नियमित उडान गर्दै आएको बुद्धले छिटै विराटनगर र सिमरा उडान थाल्ने बताएको छ ।

नेपालगन्जसँग सिधा हवाइ उडानले जोडिएपछि आन्तरिक र बाह्य पर्यटकसमेत बढ्ने विश्वास पर्यटन व्यवसायीको छ । विशेषगरी भारतीय सहर लखनउ र कानपुरबाट भारतीय पर्यटक पोखरा आउन सहज हुने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । ‘पोखराबाट बर्दिया, राराताल जाने र उताबाट पोखरा आउने क्रम बढ्ने विश्वास छ,’ उनले भने, ‘लुम्बिनीको राजधानी दाङ लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशसमेत जोडिएको छ ।’

पहिलो उडानका यात्रुलाई पोखराबाट बिदाइ र नेपालगन्जबाट आएकालाई स्वागत गरिएको थियो ।

प्रकाशित : श्रावण १७, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?