कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढी धान फल्ने क्षेत्रमै कम रोपाइँ

कृषि विभाग भन्छ– ‘प्रदेश २ मा पानी बढी पर्‍यो, पानी जम्दा रोपाइँमा असर गर्‍यो । साउनसम्म गत वर्षजत्तिकै रोपाइँ हुन्छ ।’
रोपाइँमा ढिलाइ हुँदा उत्पादनमा असर पर्ने चिन्ता
राजु चौधरी

काठमाडौँ — धानको पकेट क्षेत्र तराईमै कम रोपाइँ भएपछि उत्पादन घट्ने हो कि भन्ने चिन्ता बढेको छ ।

बढी धान फल्ने क्षेत्रमै कम रोपाइँ

मनसुन सक्रिय भएको र खेतमा पानी जम्दा रोपाइँमा ढिलाइ भएको कृषि विभागले जनाएको छ । यही साउन ६ सम्म तराई क्षेत्रमा ९० प्रतिशत रोपाइँ भएको विभागले सार्वजनिक गरेको विवरण छ । जब कि गत वर्ष यही समयमा त्यहाँ ९४.१६ प्रतिशत रोपाइँ भएको थियो । ‘तराईमा पनि विशेषगरी प्रदेश २ मा पानी बढी भयो । धान रोपाइँ हुने खेतमा पानी जम्यो,’ विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले भने, ‘प्रदेश २ मा रोपाइँ कम हुँदा समग्र रोपाइँमै असर गर्‍यो ।’ तराईमा ९ लाख ७७ हजार ४ सय १४ हेक्टरमा रोपाइँ हुने गरेको विभागको विवरण छ । त्यसमध्ये प्रदेश २ मा मात्र ३ लाख ६५ हजार ६ सय १५ हेक्टरमा रोपाइँ हुन्छ । यहाँ ३ लाख २२ हजार २ सय ६९ हेक्टर (८८.१४ प्रतिशत) मा रोपाइँ भएको छ । गत वर्ष यही समयमा प्रदेश २ मा ३ लाख ५३ हजार ७ सय ९० हेक्टर (९६.७७ प्रतिशत) मा रोपाइँ भएको थियो ।


प्रदेश १ मा ८०.२ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको तुलनामा प्रदेश १ को रोपाइँ २.४१ प्रतिशत कम हो । यहाँ २ लाख ७५ हजार ९ सय १ क्षेत्रफलमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख २० हजार ७ सय ७२ हेक्टरमा रोपाइँ भएको विभागले जनाएको छ । नेपालमा मध्य, पूर्व र तराईमा बढी धान खेती हुन्छ ।

७० प्रतिशत तराईमै उत्पादन हुन्छ । तर सोही क्षेत्रमा धान रोपाइँ कम भएको र यसले उत्पादनमा असर पर्ने जानकारहरू बताउँछन् । यद्यपि विभागले भने गत वर्षकै हाराहारीमा रोपाइँ हुने दाबी गरेको छ ।

‘समग्र हिसाब गर्दा दुई/तीन प्रतिशत कम हो । त्यो खासै समस्या होइन,’ सूचना अधिकारी पौडेलले भने, ‘गत वर्ष ९८ प्रतिशत हाराहारीमा रोपाइँ भएको थियो । साउन मसान्तसम्म गत वर्षकै हाराहारीमा पुग्न सक्छ ।’ समयमै रोपाइँ हुन नसक्दा उत्पादनमा केही असर पुग्न सक्ने उनले बताए । वाग्मती प्रदेशमा भने रोपाइँ बढेको छ । वाग्मतीमा १ लाख १५ हजार २ सय ९५ हेक्टरमा रोपाइँ हुने विभागको विवरण छ । यहाँ ९०.३४ प्रतिशत अर्थात् १ लाख ४ हजार १ सय ५२ हेक्टरमा रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा वाग्मतीमा ९४ हजार ७ सय ९९ हेक्टरमा मात्रै रोपाइँ भएको थियो ।

गण्डकीमा पनि रोपाइँमा ४ प्रतिशत कमी आएको छ । यहाँ १ लाख ८ हजार २ सय ७८ हेक्टरमा रोपाइँ हुन्छ । साउन ६ सम्म ८७.६ प्रतिशत अर्थात् ९४ हजार ८ सय ९१ हेक्टरमा रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा गण्डकीमा ९१.११ प्रतिशत अर्थात् ९८ हजार ६ सय ५५ हेक्टरमा रोपाइँ भएको थियो । लुम्बिनीमा पनि रोपाइँ ३ प्रतिशत घटेको छ । यहाँ ३ लाख ३ हजार ५ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख ८० हजार ३६ हेक्टरमा रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा २ लाख ८८ हजार ८ सय ३८ हेक्टरमा रोपाइँ भएको थियो ।

कर्णालीको अवस्था पनि उस्तै छ । यहाँ ३८ हजार ३ सय ८५ हेक्टरमा रोपाइँ हुन्छ । साउन ६ सम्म ९३.८२ प्रतिशत अर्थात् ३६ हजार १२ हेक्टरमा रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा भने ३६ हजार ९ सय ३९ हेक्टरमा रोपाइँ भएको विभागको विवरणमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशमा भने रोपाइँ बढेको छ । गत वर्ष १ लाख ५७ हजार २ सय २१ हेक्टरमा रोपाइँ भएकोमा अहिले १ लाख ५९ हजार २ सय ७६ हेक्टरमा रोपाइँ भएको छ । विभागका अनुसार सुदूरपश्चिममा १ लाख ६४ हजार ६ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ ।

मुलुकभर बर्खे बाली १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये साउन ६ सम्म ८८.७५ प्रतिशत अर्थात् १२ लाख १७ हजार ४ सय ११ हेक्टरमा रोपाइँ भएको छ ।

प्रकाशित : श्रावण ९, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?