कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्य्राक परीक्षण सकियो, रेल सञ्चालनको टुंगो छैन

नेपाल अनि भारत रेलवेका अधिकारी, प्राविधिक र सुरक्षाकर्मी चढेर १२० किमि प्रतिघण्टाको गतिमा भारतीय रेल कुदाइयो
अजित तिवारी

जनकपुर — प्रतिघण्टा १२० किमि गतिमा रेल गुड्ने खबरले आइतबार बिहानैदेखि जयनगर–जनकपुर–कुर्था खण्डमा मानिसको भीड लाग्यो । रेलवे ट्र्याकका दुवै छेउमा लागेको भीड व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे पर्‍यो ।

ट्य्राक परीक्षण सकियो, रेल सञ्चालनको टुंगो छैन

रेलवे ट्र्याकबाट हिँडडुल रोकियो । रेलवे क्रसिङमा अटेरी गर्नेलाई भने सुरक्षाकर्मीले हप्काइरहे । भारतको इस्ट सेन्ट्रल रेलवेको डिजल लोकोमोटिभले आइतबार दिउँसो १२० किमि प्रतिघण्टाको गतिमा कुदाएर रेलवे ट्र्याकको गति परीक्षण गरेको छ ।

रेलको ट्र्याक निर्माण सकिएको दुई वर्षपछि गति परीक्षण गरिएको हो । सीमावर्ती रेलवे स्टेसन जयनगरबाट भारतीय रेलको वातानुकूलित निरीक्षण यानले धनुषाको कुर्थासम्म ३५ किलोमिटर रेलवे ट्र्याकको गति जाँचेको हो । भारतको यो रेल ट्र्याकको गति जाँच्न प्रयोग गरिन्छ । इन्जिनसँगै रहेको रेलको एउटा कोचमा नेपाल र भारत रेलवेका अधिकारी, प्राविधिक र सुरक्षाकर्मी चढेका थिए ।

जगनगरबाट जनकपुर हुँदै कुर्थासम्म प्रतिघण्टा ४०–५० किमिको गतिमा कुदेको रेल भने कुर्थाबाट जयनगर फर्किंदा प्रतिघण्टा करिब १२० किमिकै गतिमा रहेको जनकपुर रेलवेका प्रमुख इन्जिनियर विनोद ओझाले जानकारी दिए । ‘सामान्य गतिमा ट्र्याकको परीक्षण गरिएपछि फर्किंदा रफ्तार प्रतिघण्टा १२० किमिकै गतिमा थियो,’ इन्जिनियर ओझाले कान्तिपुरसँग भने, ‘ट्र्याक जाँचसँगै अब रेल सेवा सञ्चालनमा ल्याउने सबै तयारी सकिएको छ ।’

गति परीक्षण गर्दा रेलवे ट्र्याकमा समस्या नदेखिएको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए । ‘रेलवे क्रसिङका दुई ठाउँमा जंक (लच्किने) महसुस गरियो,’ उनले भने, ‘त्यसलाई मर्मतसम्भार गरिनेछ ।’ रेलवे ट्र्याकको गति परीक्षण गर्नुका दुई कारण छन् । पहिलो, ट्र्याकमा रेल कुदाउन सुरक्षित छ कि छैन जाँच्न र दोस्रो, ट्र्याक निर्माण गरेका भारतीय कम्पनीलाई ‘सबै ठीक छ’ भनेर सर्टिफिकेट दिन । आइतबारको परीक्षणबाट ट्र्याक रेल कुदाउन सुरक्षित देखिएको महाप्रबन्धक भट्टराईले जानकारी दिए ।

‘नेपालको रेलवे संरचना नयाँ भएकाले सुरक्षित छ कि छैन, ट्र्याकको अवस्था के छ भनेर जाँचिएको हो,’ भट्टराईले भने, ‘क्रसिङमा समस्या छ कि छैन ? जंक हुन्छ कि हुन्न भनेर पनि हेरियो । क्रसिङमा एक–दुई ठाउँ सामान्य समस्याबाहेक सबै ठीक देखियो ।’ जगनगरदेखि कुर्थासम्मको रेलवे लिकका दुई ठाउँको क्रसिङमा रेल तलमाथि कुदेको थियो । समस्या देखिएका ठाउँमा तत्काल ‘रिपेयरिङ’ गरिने भट्टराईले बताए । ‘रेल सेवा सञ्चालन हुने गतिभन्दा दुई गुणा बढी गतिमा रेल कुदाएर ट्र्याक जाँचिएको छ । अब यात्रुवाहक रेल कुदाउन समस्या छैन ।’

नेपाल रेलवेको ट्र्याक परीक्षण गर्नुअघि शनिबार दिनभर त्यसको मर्मतसम्भार गरिएको थियो । भारतीय प्राविधिकले फलामको ट्र्याकमा खिया नलागोस् भनेर डोजरको अगाडिको भाग ट्र्याकमा थिचेर घसारेका थिए । रेलवे क्रसिङमा सवारीसाधन आवतजावत गर्न ट्र्याकको बीचमा हालिएको माटो र पार्किङ टायल्ससमेत मिलाइएको थियो ।

भारत सरकारले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा निर्माण गरिएको ब्रोडगेज लिक तयार भएको दुई वर्ष भइसक्यो । भारत सरकारकै सहयोगमा कुर्थादेखि बर्दिवाससम्म ब्रोडगेज लिंक निर्माण जारी छ । रेल सञ्चालनअघिको तयारीका क्रममा रेलवे ट्यांकको स्पिड टेस्ट र सर्टिफिकेसनको काम गरिएको भट्टराईले बताए । रेलवे कम्पनीले आइतबार नागरिकलाई रेलवे ट्र्याक वरपर नजान, गाईभैंसी चौपाया, साइकल, मोटरसाइकल, बालबालिका नछाड्न र ट्र्याकबाट दूरी कायम गरिदिन अनुरोध गरेको थियो । भारत सरकारको लगानीमा जयनगरदेखि बर्दिवाससम्म ७२ किमि रेलवेको ब्रोडगेज ट्र्याक निर्माण भइरहेको छ । त्यसमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किमि तयारी अवस्थामा छ । कुर्थादेखि बिजलपुरासम्म ट्र्याक ओछ्याउने काम जारी छ । बिजलपुरादेखि बर्दिवाससम्म भने जग्गा अधिग्रहण विवादले निर्माणमा ढिलाइ छ ।

१९९४ मा बेलायत सरकारले जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म ५२ किमि न्यारोग्रेज रेलवे ट्र्याक बनाइदिएको थियो । यो रुटमा कोइला र डिजल इन्जिनबाट चल्ने रेल सेवा २०७१ माघदेखि बन्द छ । बेलायतले न्यारोग्रेज ट्र्याक बनाइदिएकै रुटमा भारतले ब्रोडगेज लिंक निर्माण गरेको हो ।

रेल छोपेको छोप्यै

ट्र्याकको गति परीक्षण गर्दा नेपाली रेल नै कुदाइएला कि भन्ने धेरैको अपेक्षा थियो । तर प्राविधिक विषय भएकाले ट्र्याकको गति परीक्षण गर्न भारतीय विशेष रेल नै गुडाइयो । रेलवे ट्र्याकको गति परीक्षण गर्नु करिब अन्तिम काम हो । यसपछि रेल कुदाउन ट्र्याक तयार रहेको प्राविधिकको दाबी छ । तर जयनगर–जनकपुर–कुर्था खण्डमा नेपाली रेल कहिले गुड्छ, टुंगो छैन ।

‘रेल सेवा सञ्चालन गर्न प्राविधिक रूपमा हामी तयार छौं,’ नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले भने, ‘जनशक्ति तयार छ । ट्र्याक परीक्षण पनि गरिसक्यौं । अब सञ्चालन मिति सरकारले तोक्नुपर्छ ।’ उनका अनुसार भारत सरकारले रेलवे निर्माण गरिदिएको संरचना औपचारिक रूपमा हस्तान्तरण गर्न बाँकी छ । ‘संरचना टेक–ओभर गर्न हामी प्रतीक्षारत छौं,’ उनले भने, ‘हस्तान्तरण हुनेबित्तिकै रेल सेवा उद्घाटन गर्छौं । रेल सञ्चालनको मिति पनि तोक्छौं ।’

रेलवेका संरचना निर्माणमा भारतीय सरकार जोडिएकाले हस्तान्तरण र उद्घाटनका लागि दुवै देशका उच्च तहमा सहमति हुन बाँकी छ । त्यसले पनि नेपालमा रेल सञ्चालनमा ढिलाइ भइरहेको छ । भारत सरकारले रेलवे ट्र्याक निर्माण गरिदिए पनि नेपाल सरकारले आफ्नै रेल गुडाउन गत असोजमै दुई सेट नयाँ रेल खरिद गरिसकेको छ । भारतीय रेल निर्माण कम्पनीसँग ८४ करोड ६५ लाख रुपैयाँमा किनिएका दुई सेट रेल गत असोज २ मा जनकपुर ल्याइएको छ ।

कानुन, जनशक्ति र प्राविधिकको अभावमा नेपालले किनेका ती रेल धनुषाको इनर्वा स्टेसनमा त्रिपालले छोपेर राखिएको छ । रेलको रेखदेखमा सशस्त्र प्रहरी खटाइएको छ । बेला–बेलामा प्राविधिकले नेपाली रेल अलि परसम्म गुडाएर दुरुस्त पारेर फेरि त्रिपालले छोपेर राख्ने गरेका छन् ।

प्रकाशित : श्रावण ४, २०७८ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?