यात्रुवाहक सवारी भाडा २८ प्रतिशत बढ्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यात्रुवाहक सवारी भाडा २८ प्रतिशत बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा २० र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण र सरोकारवाला पक्षसँग गरिएको परामर्शअनुसार भाडा वृद्धि गरिएको विभागको भनाइ छ ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च ह्रासकट्टी, सञ्चालन मुनाफालगायत मुख्य सूचकमा देखिएको मूल्यवृद्धिका आधारमा भाडा समायोजन गरिनुपर्ने सम्बन्धमा असार २७ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सहमति प्राप्त भएको विभागले जनाएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका भौतिकमन्त्री वसन्तकुमार नेम्वाङले अन्तिम समयमा यो निर्णय गरेका हुन् । विभागले पठाएको भाडा समायोजनसम्बन्धी फाइल लामो समयदेखि मन्त्रालयमै थियो ।

साविकको भाडामा २८ प्रतिशत वृद्धि गरिएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । ‘यो नियम लामा तथा मध्यम (अन्तर प्रदेश) रुटमा चल्ने सवारीमा लागू हुनेछ,’ उनले भने, ‘स्थानीय रुटमा चल्ने सवारीमा भने प्रदेश मन्त्रालयबाटै भाडा समायोजन गर्नुपर्नेछ ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय रुटको हकमा प्रदेश मन्त्रालयबाट भाडा समायोजन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको जनाएको छ ।

विभागले समायोजन गरेको भाडालाई आधार मानी स्थानीयस्तरमा भाडा समायोजनका लागि सम्बन्धित प्रदेश यातायात मन्त्रालयमा निवेदन दिन भनिएको छ । स्थानीयस्तरको भाडा समायोजनका लागि आवश्यक काम गर्न जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख छ । महासंघ र यातायात मजदुर संगठनले लामो समयदेखि पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै भाडा समायोजनको माग गर्दै आएका थिए ।

प्रकाशित : असार ३१, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

मेसी बार्सिलोनामै रहन सहमत

एजेन्सी

बार्सिलोना‍ — लियोनल मेसीले बार्सिलोनासँग थप अनुबन्ध गर्न सहमति दिइसकेका छन् । बार्सिलोनाले कुनै पनि बेला यो समाचारको औपचारिक रूपमा पुष्टि गर्नेछ । अनुबन्ध कस्तो हुनेछ, त्यसबारे औपचारिक रूपमा त्यो तय भइसकेको छ ।

फाइल तस्बिर : रोयटर्स

यसै महिनाको सुरुमा मेसी कुनै पनि अनुबन्धबाट स्वतन्त्र भएका थिए । बार्सिलोनासँग यसअघिको अनुबन्ध टुंगिएपछि अर्जेन्टिनी खेलाडी ‘फ्री ट्रान्सफर’ का लागि उपलब्ध भएका थिए । यसअघि उनी अन्यत्र जानसक्ने सम्भावना थियो ।

म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मेसीमा रुचि देखाएको थियो । बार्सिलोनाको आर्थिक स्थिति कमजोर रहेको हुनाले क्लबले मेसीसँग नयाँ अनुबन्ध गर्नेमा शंका थियो । क्याटलन क्लब खेलाडीको पारिश्रमिक मापदण्डको नियम उल्लंघनमा फस्नसक्ने डर थियो । बार्सिलोनाले यसअघि नै मेम्फिस डिपे, एरिक गार्सिया, सर्जियो अगुइरो र एमरसनलाई अनुबन्ध गरिसकेको छ । पारिश्रमिककै नियमका कारण बार्सिलोनाले मेसीसँगको अनुबन्धबारे अहिले नै आधिकारिक केही भनिरहेको छैन ।

कानुनी र सरकारी औपचारिकता पूरा भएपछि मात्र बार्सिलोनाले मेसीसँगको अनुबन्धबारे प्रस्ट पार्नेछ । मेसीले आफ्नो यसअघिको पारिश्रकिममा ५० प्रतिशत कम थाप्न तयार भएको हुनाले पनि यो बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाका लागि ठूलो जितका रूपमा हेरिएको छ । बार्सिलोना क्लब स्रोतका अनुसार ३४ वर्षीय मेसी आधा तलबमा ५ वर्षका लागि अनुबन्ध गर्न तयार भएका हुन् । मार्काले मेसी पाँचैवर्ष बार्सिलोनामा नरहने बताएको छ । मार्काका अनुसार सन् २०२३/०२४ को सिजनमा मेसीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा खेल्नेछन् । गत साता अर्जेन्टिनाले कोपा अमेरिका जितेपछि मेसीसँगको अनुबन्धबारे घोषणा गर्न ढिलाइ भएको हो । यसबीच लापोर्टाले भने आफ्ना समर्थकलाई यसै साता केही सुखद समाचार सुनाउने बताएका थिए । अहिले यो मेसीसँगको अपेक्षित अनुबन्धका रूपमा अगाडि आएको छ । लापोर्टाले भनेका थिए, ‘सबै बार्सिलोना र क्याटलनहरू मेसीले कोपा जितेकामा खुसी छन् ।’

उनले थपेका छन्, ‘हामीमात्र होइन, पूरा विश्व फुटबल अहिले मेसीका लागि खुसी छ । विश्व फुटबलका सबैभन्दा उत्कृष्ट खेलाडी स्वयं उपाधि जित्न सकेकामा उत्तिकै खुसी छन् । यो तथ्यले हामीलाई पनि प्रसन्न पार्ने गर्छ । अर्जेन्टिना कोपा उपाधिका लागि पूर्ण हकदार थियो । बार्सिलोना अगुइरोका लागि खुसी छ । हामी किन खुसी छौं भने बार्सिलोना मेसीसँगै जोडिएको छ र यो क्रम टुट्ने छैन । सम्बन्ध अटुट रहनेछ ।’

मेसीलाई क्लबमा फर्काउने वाचासहित उनी बार्सिलोनाको अध्यक्ष पदमा विजयी भएका थिए । उनले आर्थिक पक्ष नै मेसीलाई अनुबन्ध गर्नमा बाधक नरहेको दाबी गर्दै आएका थिए । कोपा अमेरिकाको समाप्तिमा अर्जेन्टिनाकै केही पूर्वखेलाडीले मेसीले बार्सिलोना छाडेर अन्यत्र जाने सम्भावना नै रहेको बताएका थिए । कोपा जितपछि मेसीका लागि बार्सिलोनामै रहनु उपयुक्त स्थिति तयार भएको थियो । यसले कतारमा हुने विश्वकपका लागि उपयुक्त वातावरण तयार हुन सक्थ्यो ।

बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् । यसक्रममा १० ला लिगा, ४ युरोपेली च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधि जितेका छन् । उनले कीर्तिमान छपल्ट बालोन डी’अर पनि जितिसकेका छन् । त्यसैले उनलाई बार्सिलोनाको इतिहासकै सर्वकालीन महान खेलाडी मानिन्छ । कोपामा अर्जेन्टिनाको जित र त्यसमा मेसीको उत्कृष्ट प्रदर्शनका कारण उनी फेरि एकपल्ट बालोन डी’अर उपाधिलाई बलियो प्रत्याशी भएका छन् ।

प्रकाशित : असार ३१, २०७८ ०७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×