कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

सार्वजनिक खरिदमा संलग्न कर्मचारीको योग्यता निर्धारण

विमल खतिवडा

काठमाडौँ — सार्वजनिक निकायमा खरिदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारणसम्बन्धी मापदण्ड बिहीबार स्वीकृत भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सचिवस्तरीय निर्णयबाट सार्वजनिक निकायमा खरिदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारणसम्बन्धी मापदण्ड, २०७८ स्वीकृत भएको हो ।

सार्वजनिक खरिदमा संलग्न कर्मचारीको योग्यता निर्धारण

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ को उपदफा (२) मा सार्वजनिक निकायले खरिदसम्बन्धी कार्य सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता र खरिद कार्यसम्बन्धी ज्ञान भएको तथा तालिमप्राप्त कर्मचारीबाट गराउनुपर्ने व्यवस्था छ । सार्वजनिक निकायको खरिद कार्यमा काम गर्ने कर्मचारीको न्यूनतम योग्यता निर्धारण गरी एकरूपता ल्याउने ध्येयले खरिद ऐनबमोजिम कार्यालयले यो मापदण्ड जारी गरेको जनाएको छ । कार्यालयकी सचिव देवकुमारी गुरागाईंले सार्वजनिक निकायलाई स्वच्छ, प्रतिस्पर्धी, विश्वसनीय र पारदर्शी बनाउन मापदण्ड ल्याइएको बताइन् । ‘सार्वजनिक खरिद ऐनमा व्यवस्था भएको तर अहिलेसम्म तयारी भइरहेकाले स्वीकृत गरी कार्यान्वयनमा लान नसकेको अवस्था थियो,’ उनले भनिन्, ‘अहिले मापदण्ड स्वीकृत भएको छ, सबै निकायलाई मापदण्डबमोजिम कार्य गर्न/गराउन अनुरोध गरिसकेका छौं ।’ उनले सार्वजनिक निकायमा सार्वजनिक खरिद ऐनको प्रस्तावनाको भावनाअनुसार अगाडि बढ्न र सुशासनको प्रत्याभूत गराउन मापदण्ड आवश्यक रहेको बताइन् ।

मापदण्डअनुसार सार्वजनिक निकायले आफूअन्तर्गतको सार्वजनिक खरिद प्रयोजनका लागि प्रमुखसहित ३–५ जना रहने गरी खरिद एकाइ गठन गर्नुपर्नेछ । एकाइ गठन गर्दा सार्वजनिक निकायको कार्य प्रकृतिका आधारमा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरिदबारे ज्ञान भएका वा तालिम लिएकालाई समावेश गर्नुपर्नेछ । उक्त निकायको संगठन संरचनामा स्थायी रूपमा खरिद महाशाखा, शाखा वा एकाइ भए सो महाशाखा, शाखा वा एकाइ प्रमुखको संयोजकत्वमा खरिद एकाइ गठन गर्नुपर्नेछ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४७ बमोजिम मूल्यांकन समितिको निर्धारित पदाधिकारीबाहेकका कर्मचारी कुनै कारणवश सार्वजनिक निकायमा नरहेको वा न्यून संख्यामा कार्यरत पदस्थापना भएको परिस्थितिमा सार्वजनिक निकायका प्रमुखबाहेक अन्य कर्मचारीबाट खरिद एकाइ गठन गर्न सकिनेछ ।

मापदण्डमा खरिद एकाइ प्रमुख र सदस्य, बोलपत्र मूल्यांकन समितिमा काम गर्ने कर्मचारी, खरिद सम्झौता व्यवस्थापन कार्यान्वयनमा काम गर्ने कर्मचारीको पनि योग्यता निर्धारण गरिएको छ । खरिद एकाइ प्रमुखमा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४७ बमोजिम मूल्यांकन समितिका निर्धारित पदाधिकारीबाहेकका कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई प्रमुखको जिम्मेवारी तोक्नुपर्नेछ । तर उक्त निकायको संगठन संरचनामा स्थायी रूपमा खरिद महाशाखा, शाखा वा एकाइ भए सो महाशाखा, शाखा वा प्रमुखलाई खरिद एकाइ प्रमुखको जिम्मेवारी दिनुपर्नेछ । सार्वजनिक निकायको प्रमुखको पद जुन श्रेणी वा तहको छ, सोभन्दा एक श्रेणी वा तहमुनिको कर्मचारीलाई खरिद एकाइ प्रमुखको जिम्मेवारी प्रदान गर्न सकिने मापदण्ड उल्लेख छ । यसरी तोक्न सम्भव नभएमा बढीमा दुई श्रेणी वा तहमुनिको कर्मचारीलाई खरिद एकाइ प्रमुखको जिम्मेवारी प्रदान गर्न सकिनेछ ।

प्रकाशित : असार १८, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×