कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारको बेवास्ताले २ दर्जन उद्योग डुबानमा

माघव ढुंगाना

भैरहवा — ठेकेदार कम्पनीको बेवास्ताले यहाँका दुई दर्जनभन्दा बढी उद्योग सामान्य वर्षाको बेलामा पनि डुबानमा पर्ने गरेका छन् । भैरहवा–बुटवल सडक खण्डअन्तर्गत ओमसतिया गाउँपालिका–२ पड्सरीस्थित सडक किनारमा रहेका ती उद्योग सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले नाली सफा नगर्दा डुबानमा पर्ने गरेका हुन् ।

ठेकेदारको बेवास्ताले २ दर्जन उद्योग डुबानमा

उद्योग परिसरमा जम्मा भएको पानीले निकास पाउन धेरै दिन लाग्ने गरेकाले सामान्य वर्षाका बेलामा पनि उद्योग बन्द गर्नुपर्ने बाध्यता व्यवसायीलाई छ । एभरेस्ट रोलिङ इन्डस्ट्रिजका सञ्चालक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अरुण गोयन्काले सडक स्तरोन्नतिसँगै सडक किनारका नाली चौडा नहुनु र भएको नाली पनि सफा नगरिनुले डुबानको समस्या आएको बताए । ‘पहिला सडक होचो भएकाले वर्षाको पानी सहजै बगेर जाँदा डुबानको समस्या थिएन,’ उनले भने, ‘अहिले सडक ६ लेनको बनेपछि त्यहीअनुरूप नाली चौडा पारिएन । साँघुरो नालीमा धेरै पानी बग्न सकेन ।’

भूबनोटअनुसार बुटवल योगीकुटीदेखि वर्षाका बेला जम्मा भएको पानी बग्दै भैरहवातर्फ आउने गर्छ । धेरै ठाउँको पानी जम्मा भएर आए पनि निकास दिने नाली चौडा छैनन् । साविकका कैयन् सार्वजनिक नाला र घोल सँधियार जग्गाधनी र भूमाफियाले आफ्नो स्वामित्वमा ल्याएर पुरेका छन् । जग्गा प्लटिङवालाले सार्वजनिक कुलोमा सडक निर्माण गरेका छन् । जसले गर्दा ओमसतिया क्षेत्र बढी डुबानमा पर्ने गरेको हो ।

सडक निर्माण गर्दा पानीको निकासका लागि बनाइएका दुवै किनारका नाली जाम भएकाले अहिले नालीबाट पानी बग्दैन । ठेकेदार कम्पनीले नाली सफा नगरी माथिबाट ढकनीमात्र लगाइदिएको छ । नाली ढुंगा, माटो, गिट्टी र बालुवाले भरिएको छ । तर नाली सफा गराउनेतर्फ आयोजनाले पहल गरेको छैन, न त नाली सफा नगरी ढकनी लगाउँदा नै अनुगमन गरेको थियो । ठेकेदार र आयोजनाको लापरबाहीबाट सिर्जित समस्या अहिले उद्योगी र स्थानीयले खेप्नुपरेको छ ।

ओमसतिया–२ का वडाध्यक्ष ज्ञानेश श्रेष्ठले सडक निर्माणको ठेक्का लिएको बिरुवा कन्स्ट्रक्सनले आयोजना हस्तान्तरण नगरेकाले नाला सफाइ गर्न नपाइँदा डुबानको समस्या जटिल भएको बताए । ‘हस्तान्तरण नहुँदासम्म न हामीले सफा गर्न पाएका छौं, न त ठेकेदार कम्पनीले नै सफा गरिदिएको छ,’ श्रेष्ठले भने, ‘सम्पर्क गर्दा ठेकेदारका कर्मचारी भेटिँदैनन्, न त ठेकेदारले फोन उठाउँछन् ।’ सडक निर्माणका क्रममा समेत प्राविधिक कमजोरी भएको उनको दाबी छ । ‘असार पहिलो साता दुई दिन आएको पानीले एक सातासम्म निकास पाएन,’ उनले भने, ‘सडक विस्तार गर्दा पनि अध्ययन गरेर धेरै पानी जम्ने स्थानमा बहावका लागि वैकल्पिक उपाय नखोजिनु प्राविधिक कमजोरी हो ।’

त्यस क्षेत्रमा अरुण एग्रो इन्डस्ट्रिज, एभरेस्ट रोलिङ, श्याम मोडर्न दाल मिल, श्याम पोलिमर्स उद्योग, लुम्बिनी पोलिमर्स उद्योग, रत्न आइरन इन्डस्ट्रिज, फेरो स्टिल इन्डस्ट्रिज, अपित दाल मिललगायत दुई दर्जनभन्दा धेरै उद्योग छन् । सामान्य वर्षाले पनि डुबान भएपछि उद्योगको मेसिन पानीले डुब्ने र करेन्टसमेत लाग्ने भएकाले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको व्यवसायीले बताए ।

प्रकाशित : असार १७, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?