कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले सडक र पुलमा अर्ब बढीको क्षति

राष्ट्रिय राजमार्गअन्तर्गत ६० स्थानमा सडक अवरुद्ध भएकोमा २९ स्थानमा एकतर्फी र १९ स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । १२ स्थानमा अझै खुलेको छैन ।
विमल खतिवडा

काठमाडौँ — असार पहिलो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मनाङ अहिले सडक सम्पर्कविहीन छ । डुम्रे–बेंसीसहर–चामे सडक खण्डको दर्जन बढी स्थानमा पहिरो खसेको र सडक बगेको छ । जसले गर्दा यातायात ठप्प छ ।

बाढीपहिरोले सडक र पुलमा अर्ब बढीको क्षति

दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामग्रीलगायत ढुवानी हुन सकेको छैन । डुम्रे–बेंसीसहर–चामे सडक योजनाका इन्जिनियर सुरज मर्हजनले यसपटक बाढीपहिरोले सडक पूर्वाधारमा सबैभन्दा बढी क्षति मनाङमा भएको दाबी गरे ।

‘सुरुमा काठेपुल बगाउँदा मनाङ सडक सम्पर्कविहीन भएको थियो,’ उनले भने, ‘फेरि पछि जेठ २९ देखि असार ३ सम्म परेको वर्षासँगै आएको बाढीले ठूलो क्षति गरेको हो । बाढीले सडकको ट्र्याक नै बगाएको छ ।’ अहिलेसम्म पनि सडक पुनः सञ्चालनमा आउन नसकेको उनले जनाए । बेंसीसहरदेखि चामेसम्मको दूरी ६५ किलोमिटर छ । जसमध्ये ३५ किमि लमजुङमा र ३० किमि मनाङमा पर्छ । अहिलेसम्म लमजुङबाट मनाङतर्फ २२ किमि क्षेत्र अर्थात् रामबजारसम्म मात्रै सडक खोल्ने काम भइरहेको उनले बताए । ‘रामबजारसम्म सडक खोल्न अझै ४/५ दिन लाग्छ,’ उनले भने ।

मनाङबाट अहिले स्थानीय पैदलै बेंसीसहरसम्म आउन बाध्य छन् । ‘यसरी आउने र मनाङमै रहेकाहरूसँग फोन सम्पर्क गर्दा दर्जनौं स्थानमा पहिरो गएको जानकारी पाएका छौं,’ उनले भने, ‘सबै ठाउँमा आफैं गएर हेर्न पनि सकिएको छैन ।’ सडक पूर्वाधारमा के–कति क्षति भयो भन्नेबारे पैदलै भए पनि सर्भे गर्ने तयारीमा रहेको उनले बताए । ‘त्यसपछि मात्रै क्षतिबारे यकिन हुनेछ,’ उनले भने । सडक नभएपछि बाढीपहिरोपीडितलाई हेलिकप्टरमा राहत सामग्री लग्ने गरिएको छ । त्यस क्षेत्रमा बाढीपहिरोले पहिलोपटक यति ठूलो क्षति निम्त्याएको उनको दाबी छ ।

यस पल्ट बाढीपहिरोको समस्या मनाङमा मात्र रहेको होइन । सडक विभागका अनुसार देशभर राष्ट्रिय राजमार्गअन्तर्गत ६० स्थानमा बाढीपहिरोले सडक अवरुद्ध भएको थियो । जसमध्ये २९ स्थानमा एकफर्ती र १९ स्थानमा दुईतर्फी सडक सञ्चालनमा आइसकेको छ । १२ स्थानमा अझै अवरुद्ध छ । यी खण्डमा सडक नै बगेको र पहिरो आउने क्रम नरोकिएकाले सडकलाई पुरानै अवस्थामा ल्याउन समय लाग्ने जनाइएको छ । बाढीपहिरोले कतै बन्दै गरेका पुल बगाएको छ भने कतै सडक नै बगाएर त्यसको विकल्प खोज्नुपर्ने अवस्था आएको विभागको भनाइ छ ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडक पूर्वाधारमा सबैभन्दा बढी क्षति मनाङमा भएको छ । ‘मनाङमा सडक पूर्वाधारमा अहिलेसम्म ३० करोड बढी क्षति भएको प्रारम्भिक अनुमान हो,’ उनले भने, ‘अझै सबै क्षतिको विवरण आइसकेको छैन ।’

यता, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित चीन जोड्ने तातोपानी नाकाको स्थलमार्गसहित लिपिङ पुल (घट्टेखोला पुल) को पहुँचमार्ग बगाएपछि समस्या भएको छ । पुलमा आउजाउ बन्द भएपछि कोदारी बजार जोड्ने सडकछेउमा तुइन राखेर चीनबाट ल्याइएका सामग्री भित्र्याउन थालिएको छ । नेपाल–चीन सीमाको मितेरी पुलबाट चार सय मिटर दूरीमा रहेको लिपिङ पुल अघिल्लो बर्खामा पनि क्षतिग्रस्त बनेको थियो । त्यतिबेला चिनियाँ पक्षले मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएका थिए । बर्खालगत्तै जीर्ण पुलमा थप क्षति नहोस् व्यापारीहरूले त्रिपालले छोपिदिएका छन् ।

कर्णालीमा पुल र अरनिको राजमार्गमा पनि बढी क्षति भएको छ । बाजुराको साँफेबगर–मार्तडी–कोल्टी खण्डमा पहिरोले अवरुद्ध सडक अहिले एकतर्फी सञ्चालनमा छ । ‘यो सडकमा नयाँ तरिकाले काम गर्नुपर्ने भएकाले बजेट राम्रै लाग्ने अनुमान गरेका छौं,’ थापाले भने, ‘सधैं समस्या आउने गरेकाले सडक राम्रोसँग चलाउन त्यहीअनुसारको काम गर्नुपर्ने हुँदा एक अर्ब लाग्ने अनुमान छ ।’ अन्यत्र भने मर्मत गर्दै सडक सञ्चालनमा ल्याउने क्रम जारी छ । ती स्थानमा बजेटअनुसार सडक मर्मत गरिएको उनले बताए ।

‘सडक मर्मत खर्च भनेर चालु आर्थिक वर्षमा करिब २ करोड रुपैयाँ छुट्याएका थियौं,’ उनले भने, ‘त्यहीअनुसार मर्मत गरी सडक सञ्चालन गर्दै आएका छौं ।’ बल्ल बर्खा सुरु भएकाले अझै खतरा टरिनसकेको उनले बताए । ‘अझै देशभरबाट सडक, पुलको क्षतिबारे विवरण आइसकेको छैन,’ उनले भने, ‘तर स्थानीय सडक, पुलमा पनि ठूलै क्षति भएको छ ।’ स्थानीय सडक र पुलतर्फ सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको उनले बताए । ‘सिन्धुपाल्चोकमा मात्र ५५ करोड रुपैयाँभन्दा बढीको क्षति पुलमा मात्रै भएको प्रारम्भिक अनुमान छ,’ उनले भने, ‘राजमार्ग, पुल र स्थानीय सडक सबै गरेर अर्ब बढीको क्षति भएको छ ।’ सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठका अनुसार राजमार्गमा पर्ने पुलको अप्रोच सडक भत्किँदा समस्या भएको छ । ‘अझै सबै क्षतिको विवरण आइसकेको छैन,’ उनले भने, ‘मनसुन अझै सक्रिए भएकाले क्षतिको विवरण आउन समय लाग्नेछ ।’

प्रकाशित : असार १६, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?