कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिटपुट भइरहेका निर्माणका काम बर्खाले ठप्प

बाढीपहिरोले ठाउँठाउँमा सडक र पुल बगाएपछि थप क्षति हुन नदिन काम रोकेको सडक विभागको भनाइ
विमल खतिवडा

काठमाडौँ — निषेधाज्ञा भए पनि बर्खाअघि सक्नैपर्ने केही सडक र पुल निर्माणको काम फेरि रोकिएको छ । निषेधाज्ञाले विकास निर्माणका काम रोकिए पनि बर्खाअघि सक्नैपर्ने थोरै आयोजना मात्र चालु थिए । ती आयोजना पनि केही दिनदेखि जारी वर्षाले ठप्प बनेको सडक विभागले जनाएको छ ।

छिटपुट भइरहेका निर्माणका काम बर्खाले ठप्प

अब असोजयता विकास निर्माणका काम अघि नबढ्ने विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । वर्षासँगै आएको बाढीले ढलान गरेका पक्की पुलसमेत बगाएपछि थप क्षति हुन नदिन काम रोकिएको उनको भनाइ छ । ग्रामीण क्षेत्रमा निर्मित कतिपय पक्की एवं झोलुंगे पुल र कालोपत्र सडक बाढीपहिरोले बगाएको सडक विभागले जनाएको छ । ‘पानी पर्ने क्रम रोकिएको छैन,’ थापाले भने, ‘धेरैतिर क्षति भएको छ, सबै विवरण आइसकेको छैन ।’ पानी पर्ने क्रम नरोकिएकाले फिल्डमा जान सक्ने अवस्था छैन ।

‘अब यी काम पनि रोकिए, सबै काम जारी रहेको भए झन् ठूलो क्षति हुन्थ्यो,’ थापाले भने, ‘धन्न सबै आयोना सञ्चालनमा थिएनन् । अब बर्खा नसकिएसम्म निर्माणका काम रोक्नुको विकल्प छैन ।’ बाढीपहिरोका कारण देशका विभिन्न भागमा सडक बन्द छन् । कतै सडक खोल्ने प्रयास जारी छ, कतै बन्दको बन्द नै छ । पाल्पा, बाजुरा, मनाङ, सल्यान, दैलेख, बैतडी, बझाङ, कालीकोट, नवलपुर, सिन्धुपाल्चोक र पर्वतमा बाढीपहिरोले सडक अवरुद्ध छन् । कतै सञ्चालनमा ल्याए पनि केही ठाउँमा पहिरो पन्छाउन समय लाग्ने विभागले जनाएको छ । सबैभन्दा ठूलो क्षति सिन्धुपाल्चोकमा भएको छ । उक्त जिल्लाको ग्रामीण क्षेत्र जोड्ने पुल बगाएको छ ।

प्यूठानको झिमरुक खोलामा निर्माणाधीन पुल बगाएको थापाले जानकारी दिए । ‘निषेधाज्ञाका कारण लामो समय काम रोकिएर केही दिनअघि मात्र पुल ढलान गरिएको थियो,’ उनले भने, ‘बुधबार आएको बाढीले बगाइदियो ।’ मुख्य राजमार्गमा भने ठूलो क्षति भएको जानकारी अहिलेसम्म नआएको थापाको भनाइ छ । ग्रामीण क्षेत्रका सडक र पुलमा बढी क्षति छ । बेनी–जोमसोम सडक खण्डमा बेलिब्रिज बगाएको छ । पक्की पुल निर्माण भइरहेकाले बेलिब्रिजबाट सवारी वारपार गर्थे । नारायणगढ–बुटवल सडकखण्डमा पनि सवारी सञ्चालनमा समस्या भएको थापाले जानकारी दिए ।

निर्माणाधीन आयोजनामध्ये धेरै ठाउँमा बाढी र पहिरोले क्षति पुर्‍याएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘बर्खा लाग्यो, अब भदौबाट मात्र थोरैथोरै काम सुरु हुन्छ,’ उनले भने, ‘सहज रूपमा काम हुने भनेको मंसिरबाट मात्रै हो ।’ उनका अनुसार निषेधाज्ञाका बेला निर्माणका काममा खासै जोड दिइएको थिएन । ‘बर्खाअघि सक्नैपर्ने काम मात्र कतैकतै भइरहेका थिए । नत्र सबै काम ठप्प थियो,’ उनले भने । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिव बलराम खतिवडाले पनि बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको बताए । ‘नदीहरूमा अझै बाढी घटेको छैन,’ उनले भने, ‘त्यसैले केकति क्षति भयो भन्नेबारे मूल्यांकन भइसकेको छैन ।’ डिभिजन सडक कार्यालय काठमाडौंमार्फत भइरहेका आयोजना पनि ठप्प छन् । विशेषगरी कालोपत्र गर्ने काम रोकिएको डिभिजन प्रमुख कुवेर नेपालीले जानकारी दिए ।

ओभरलेको काम पनि रोकिएको उनको भनाइ छ । जडीबुटी–कोटेश्वर खण्डको दुवैतर्फ ग्राभेलस्तरमा सडक निर्माण गरिएको छ । चौडा गरिएको उक्त सडकमा कालोपत्र गर्ने तयारी थियो । साँखुबाट जहरसिंहपौवा हुँदै मेलम्ची जाने सडक कालोपत्रे गर्ने काम पनि रोकिएको छ ।

प्रकाशित : असार ४, २०७८ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?