कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेल चलाउने सुरसार

अवस्था सहज हुनासाथ रेल चलाउन मन्त्रीको निर्देशन
विमल खतिवडा

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अवस्था सहज हुनेबित्तिकै रेल सञ्चालन गर्न निर्देशन दिएका छन् । भर्चुअल माध्यममार्फत भएको मन्त्रालयको नियमित प्रगति समीक्षा गोष्ठीमा उनले नेपाल रेलवे कम्पनीलाई निषेधाज्ञा खुल्नसाथ रेल चलाउन भने । 

रेल चलाउने सुरसार

‘नीतिगत, व्यावहारिक र प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ,’ मन्त्री नेम्वाङको भनाइ उद्धृृत गर्दै उनका प्रेस संयोजक सन्दीप राईले भने, ‘रेल सञ्चालन गरेर जनतालाई सेवा दिनुपर्छ ।’ सम्बन्धित अधिकारीसहित आफैंले स्थलगत अनुगमन गरेर रेल सञ्चालन गर्ने अवस्थामा पुगेको देखेको मन्त्री नेम्वाङको भनाइ छ ।

जयनगर–जनकपुर खण्डमा रेल चलाउने तयारी गरिएको यो पहिलो घटना भने होइन । गत असोज २ मा ल्याइएका दुई रेल सेट चलाउन कैयौं मिति तय गरिए । तर ९ महिनादेखि रेलको पालसमेत निकालिएको छैन । गत वर्ष पनि सञ्चालनमा कोभिडको प्रभाव पारेको र यो वर्ष पनि त्यही समस्या दोहोरिएको मन्त्रालयको भनाइ छ । सबै तयारी पूरा भए पनि निषेधाज्ञा खुल्नासाथ रेल चल्ने अवस्था नरहेको मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ बताउँछन् । नेपाल रेलवे कम्पनीमा काम गर्ने कर्मचारीको तालिम पूरा नभएकाले तत्कालै रेल चलाउन नसकिने उनको भनाइ छ । ‘निषेधाज्ञाअघि भारतीय प्राविधिकको उपस्थितिमा तालिम सञ्चालन भइरहेको थियो, जुन तालिम एक महिनाको हो,’ सचिव श्रेष्ठले भने, ‘तर तालिम १० दिन मात्र चल्यो । अझै २० दिनको तालिम बाँकी छ ।’ निषेधाज्ञासँगै तालिम पनि बन्द गरिएको थियो । तालिम दिन पनि बोर्डर खुल्नुपर्ने श्रेष्ठले बताए । कर्मचारीदेखि कार्यालय व्यवस्थापनसम्मका सबै तयारी सकिएको छ । अवस्था सहज भएर कर्मचारीलाई तालिम दिनासाथ रेल सञ्चालनमा कुनै समस्या नभएको उनको भनाइ छ ।

अहिले अध्यादेशमार्फत रेल सञ्चालनसम्बधी कानुन ल्याइएको छ । ‘कानुन आइसकेको अवस्था छ,’ उनले भने, ‘तर अहिले निषेधाज्ञा छ, जसले गर्दा हामीले कर्मचारीलाई तालिम दिन सकेका छैनौं ।’ ५०/६० जना कर्मचारीलाई एकै ठाउँमा राखेर तालिम दिनुपर्छ । तयारी सकिएकाले रेल सञ्चालनमा समस्या नभएको उनले प्रस्ट्याए । ‘हामी पूर्ण तयारी गरेर मात्र रेल चलाउँछौं,’ उनले भने ।

निषेधाज्ञाअघि सुरु गरिएको तालिमलाई नियमित गर्ने तयारी भइरहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । ‘तालिमका लागि भारतीय प्राविधिक टोलीलाई आउन भनिसकेका छौं,’ उनले भने, ‘आवश्यक स्वास्थ्य सावधानी अपनाएर तालिम दिन्छौं ।’ तालिम सक्नेबित्तिकै रेल सञ्चालनमा ल्याइने उनको दाबी छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले पनि निषेधाज्ञा खुलेर अवस्था सहज हुनसाथ रेल सञ्चालनमा आउने बताए ।


प्रकाशित : असार १, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?