राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण (कर्णाली कोरिडोर) लोकमार्ग निर्माण सुरु भएको १३ वर्ष भयो । अहिलेसम्म ट्र्याक खुलिसकेको छैन । २०७० सालभित्र निर्माण सक्ने लक्ष्य लिइए पनि भौतिक प्रगति ३० प्रतिशत मात्र छ । निर्माण समय आर्थिक वर्ष २०७९/८० पुर्याइएको छ । तर उक्त अवधिमा पनि काम नसकिने आयोजनाले जनाएको छ । तोकिएको समयभित्र ट्र्याक मात्र खुल्ने आयोजना प्रमुख वीरेन्द्रकुमार यादवले बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा गरिएको ‘सेटिङ’ को ठेक्का रद्द भएको छ । सीमित निर्माण व्यवसायीले मात्र पाउने किसिमले ठेक्काको बोलपत्र आह्वान गरिएपछि मिलेमतो भएको आशंकामा आलोचना भएको थियो । चौतर्फी दवाव बढेपछि ठेक्का प्रक्रिया रद्द गरिएको लुम्बिनी अन्तर्गत प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
२०५३ सालमा उद्योग विभागमा एसेम्बल उद्योग दर्ता भयो– नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्री । अहिले २०७८ साल चल्दै छ । २५ वर्षको अवधिमा भने यस्ता उद्योग दर्ताको संख्या भने १८ मात्र पुगेको छ । विभिन्न स्वदेशी एवं विदेशी कम्पनीले समयसमयमा गाडी एसेम्बल प्लान्ट स्थापना गर्न चासो दिए पनि त्यहीअनुसार हुन नसकेको व्यवसायी बताउँछन् ।
करिब तीन महिनापछि लामा तथा मध्यम दूरीका सवारी शनिबारबाट सञ्चालनमा आएका छन् । कोभिडका कारण वैशाख १६ देखि गरिएको निषेधाज्ञासँगै ठप्प लामा तथा मध्यम दूरीका सवारीलाई साउन ४ मा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालन अनुमति दिएको थियो ।
देशभर निर्माणाधीन दुई हजार आयोजनाको ठेक्का सम्झौताको समय सकिएको छ । त्यसमध्ये एक हजार आयोजनाले भने बनेर पनि म्याद सकिएका कारण भुक्तानी नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माणाधीन र निर्माण सकिएका ३ हजार आयोजनाको ५० अर्ब रुपैयाँ भुक्तानी रोकिएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अवस्था सहज हुनेबित्तिकै रेल सञ्चालन गर्न निर्देशन दिएका छन् । भर्चुअल माध्यममार्फत भएको मन्त्रालयको नियमित प्रगति समीक्षा गोष्ठीमा उनले नेपाल रेलवे कम्पनीलाई निषेधाज्ञा खुल्नसाथ रेल चलाउन भने ।
काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) मा सुरुङ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्भेको काम थालेका छन् । कम्पनीका प्राविधिक टोली सर्वेक्षणका लागि एक सातादेखि सुरुङ निर्माणस्थलमा खटिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन अटेर गर्दै नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्य्राक) को सुरुङ निर्माणको ठेक्का प्रक्रिया अघि बढाएको छ । आयोजनाले प्रि–क्वालिफिकेसन (पीक्यू) मा छनोट भएका दुवै प्याकेजका निर्माण व्यवसायीलाई आइतबार आशय पत्रको सूचना निकाल्दै ठेक्का दिन लागिएको जनाएको छ ।
मुलुकभरका ७ सय ५३ पालिकामध्ये २ सय ८३ वटामा अहिलेसम्म कालोपत्रे सडक नभएको पाइएको छ । कतिपय पालिकाको केन्द्रसम्म जोड्ने सडकसमेत नभएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जसले गर्दा आवतजावतमा स्थानीयले कष्ट भोग्नुपरेको छ ।