कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरी–बबई डाइभर्सनले लिएन गति

कोभिड महामारीका कारण कामदार थोरै हुँदा आयोजना गतिहीन
चाँदनी कठायत

वीरेन्द्रनगर — कोरोना महामारीबीच राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम निरन्तर चले पनि तीव्र गतिमा हुन सकेको छैन । महामारीका कारण कामदारको संख्या घटेपछि कामले तीव्रता लिन नसकेको हो ।

भेरी–बबई डाइभर्सनले लिएन गति

महामारीका कारण धेरै कामदार घर फर्किएपछि अहिले स्थानीय मजदुरले मात्र काम गरिरहेका छन् । अहिले आयोजनाको दोस्रो चरणअन्तर्गत हेडवर्क्सको काम चलिरहेको छ । यसअघि २ सयभन्दा बढी कामदारले काम गरे पनि निषेधाज्ञाका कारण ४० जनामा सीमित हुनुपरेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर ईश्वरी तिवारीले बताए । ‘कोरोनाले गर्दा गत वर्ष पनि हाम्रो काममा बाधा पुगेको थियो,’ उनले भने, ‘अहिले पनि धेरैजसो कामदार घर गए, स्थानीय मजदुर पनि कोरोनाको डरले नियमित आउँदैनन् ।’

आयोजनामा केही दिनअघि रडको अभाव देखिएको उनको भनाइ छ । ‘अक्सिजन नभएका कारण रड काट्न पाइँदो रहेनछ,’ उनले भने, ‘तर अहिले सबै सामान छ, ढुवानीमा पनि कुनै समस्या छैन ।’ नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत पहिलो प्याकेजमा १२.२ किलोमिटर सुरुङ निर्माणको काम सकेको आयोजनाले भेरीगंगा नगरपालिकास्थित चिप्लेबाट दोस्रो प्याकेजको काम गरिरहेको छ । पहिलो चरणमा सुरुङ निर्माणको काम तोकिएको समयअघि नै सकिएपछि गत आर्थिक वर्षको साउनदेखि आयोजनाको दोस्रो चरणका काम थालिएका हुन् ।

अहिले दोस्रो चरणअन्तर्गत सिभिल संरचनातर्फका काम भइरहेका छन् । सिभिलअन्तर्गत पनि हेडवर्क्स, पावर हाउस (विद्युत् गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टका काम भइरहेको तिवारीले बताए । कामदार कम भएका कारण तीव्र गतिमा काम नभए पनि महामारीका कारण काम नरोकिएको उनले जानकारी दिए । आयोजनाका अनुसार हालसम्म पहिलो र दोस्रो चरण गरी समग्रमा ४३ प्रतिशत काम सकिएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?