१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

कारोबारमा फेरि नयाँ रकर्ड, एकै दिन १७ अर्बको सेयर किनबेच

काठमाडौँ — दोस्रो बजारमा आइतबार १७ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । एकै दिन यति धेरै रकमको कारोबार भएको यो हालसम्मकै उच्च हो ।

कारोबारमा फेरि नयाँ रकर्ड, एकै दिन १७ अर्बको सेयर किनबेच

करिब १ लाख ७३ हजार ५ सय ३७ वटा कारोबारबाट २ सय १९ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट १७ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । गत बिहीबार नेप्सेमा यसअघिकै उच्च १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा करिब साढे १२ अंकको मात्र वृद्धि देखिएपनि कारोबार रकममा नयाँ रेकर्ड बनेको हो । बजेटमा सेयरलाई प्रभावित गर्ने कुनै कार्यक्रम आएका छैनन । बरु दीर्घकालीन लगानीकर्ताका लागि पुँजीगत लाभकर घटाइएकाले छ । यसले बजारमा सकारात्मक प्रभाव पारेको जानकारहरु बताउँछन् । बजेट सकारात्मक रहेकाले लगानीकर्ताको उत्साह बढेकाले कारोबारमा उत्साह देखिएको उनीहरुको तर्क छ ।

नयाँ व्यवस्था अनुसार अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र दिर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ । यसअघि संस्थापक लगानीकर्ताले १० प्रतिशत र सर्वसाधारणले (व्यक्तिगत) ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए ।

अघिल्लो कारोबार दिनको तुलनामा १२.५४ अंकले बढेपछि समग्र नेप्से २ हजार ८ सय २७.९३ विन्दुमा पुगेको छ । सो दिन सेन्सेटिभ परिसूचक ०.६७ प्रतिशत र फ्लोट परिसूचक ०.८२ प्रतिशतले बढे । परिसूचक बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ३९ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च हो ।

आइतबार कारोबारमा आएकामध्ये सबै व्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक ऋणात्मक रहे । तर, बाँकी उपसमूहको परिसूचक बढे । जसमध्ये वित्त उपसमूहको परिसूचक ५.०८ प्रतिशत, होटल्स तथा पर्यटनको ४ प्रतिशत, सामूहिक लगानी समूहको ३.८७ प्रतिशत, बैंकिङको १.०७ प्रतिशत, निर्जिवन बीमाको ०.४३ प्रतिशत र जीवन बीमाको ०.५२ प्रतिशतले बढे ।

तर, सो दिन ‘अन्य’ उपसमूहको परिसूचक सबैभन्दा धेरै २.४९ प्रतिशत, लघुवित्तको १.३७ प्रतिशत, व्यापारको ०.७३ प्रतिशत, जलविद्युतको ०.०२ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.०९ प्रतिशत र लगानी समूहको ०.२७ प्रतिशतले घटे ।

प्रकाशित : जेष्ठ १६, २०७८ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?