२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१०

बजेट कार्यान्वयन हुनेमा शंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय-व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पारेका हुन् ।

बजेट कार्यान्वयन हुनेमा शंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह

'यो बजेट केबल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वस्त दिलाउन चाहन्छु,' उनले भने, 'कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्यो र त्यसैअनुरुप बजेट केन्द्रित गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं । ”

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए । उनले सोमबारदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए । उनले भने, 'यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन ।'

उनले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने बताए ।

कतिपयले वर्तमन सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उनले संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको दाबी गरे । उनले भने, 'संवैधानिक प्रबन्ध भयो भएन भनेर दुविधा राख्नुपर्ने अवस्था छैन । यो संवैधानिक प्रबन्धअनुरुप नै आएको छ । मुलुकको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुँदैनथ्यो । त्यसैले पनि सरकारले बजेट ल्याउनुपर्थ्यो । अर्को विकल्प थिएन । यस्तो अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त हुन सक्तैन ।'

बजेटमा नागरिकको जीवनरक्षाका लागि सम्पूर्ण स्रोत साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिबद्धताका साथ सरकार प्रस्तुत भएको उनले उल्लेख गरे । उनले कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोपसेवा उपलब्ध गराउनेमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता पनि जनाए ।

उनले कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि सार्वजनिक गरिएको योजना तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै नागरिकको जीवनरक्षामा केन्द्रित हुने विश्वास दिलाए ।

प्रकाशित : जेष्ठ १६, २०७८ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?