संकटमा आउन थाल्यो उद्योगी व्यवसायीको सहयोग

काठमाडौँ — कोभिड–१९ को संक्रमण रोकथाम, उपचार तथा सेवाका लागि उद्योगी व्यवसायीले सहयोगी कार्यक्रम अघि बढाउन थालेका छन् । दुई दिनयता करिब आधा दर्जन व्यावसायिक संस्था तथा व्यक्तिबाट सहयोगको घोषणा तथा कार्यक्रम सञ्चालन भएका छन् ।

संकटमा आउन थाल्यो उद्योगी व्यवसायीको सहयोग

गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड–१९ संक्रमणको उपचारमा सहयोग पुर्‍याउन एक करोड रुपैयाँ दिएको छ । ग्रुपका अध्यक्ष शेखर गोल्छाले प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई उक्त सहयोग हस्तान्तरण गरे । कोभिड महामारीमा अस्पतालले गरेको कार्यको उच्च मूल्यांकन गर्दै गोल्छा ग्रुपले उक्त सहयोग गरेको जानकारी दिएको छ । कोभिडको पहिलो चरणसँग जुध्न प्रतिष्ठानले अस्पतालमार्फत संक्रमितको उपचारका लागि महत्त्वपूर्ण भूमिका खेलेको ग्रुपले बताएको छ । त्यसैले ग्रुपले कोभिडको दोस्रो लहरमा प्रतिष्ठानलाई महामारीसँग जुध्न सहज होस् भनी उक्त सहयोग गरेको हो ।

‘यो महामारीको समयमा अस्पताललाई सहयोग गर्न पाउँदा निकै खुसी भएका छौं,’ ग्रुपका अध्यक्ष गोल्छाले भने, ‘हामीले कोरोनासँग लड्न प्रतिष्ठानसँग सहकार्यको सुरुवात गरेका छौं । भविष्यमा पनि यसलाई निरन्तरता दिनेछौं ।’ यो सहयोग संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत थालिएको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नयाँ साझेदारी भएकोसमेत गोल्छाले उल्लेख गरे ।

गोल्छा ग्रुपले गरेको यो सहयोगले फ्रन्टलाइन स्वास्थ्यकर्मीहरूको मनोबल बढाउने प्रतिष्ठान उपकुलपति गोंगलले बताए । ‘यो विषम परिस्थितिमा ग्रुपले गरेको सहयोग समयसापेक्ष भएको छ,’ उनले भने, ‘निजी क्षेत्रकै नेतृत्व गरिरहनुभएका उहाँलाई प्रतिष्ठानका तर्फबाट धेरै धन्यवाद छ ।’ यो रकमलाई प्रतिष्ठानले अस्पतालको अक्सिजन व्यवस्थापन, उपकरणहरूको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरूलाई दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरूको संख्या बढाउनेलगायत कोभिडसँग जुध्न प्रयोग गर्ने जानकारी दिएको छ ।

यसअघि गोल्छा ग्रुपले लकडाउनका बेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेसनबाट अनुदान प्राप्त १० हजार पीसीआर फर्टिच्युड किट प्लेन चार्टर्ड गरी सरकारलाई हस्तान्तरण गरेको थियो । यसअघि कोभिड–१९ का बिरामीहरूको उपचारार्थ स्वास्थ्य सामग्रीमा खर्च गर्ने गरी जावलाखेल ग्रुप अफ इन्डन्ट्रिजका अध्यक्ष विजयकुमार शाहले धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) ले करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तसहित बसेको बैठकले शुक्रबार उक्त निर्णय गरेको हो । नेपालमा कोभिड–१९ को दोस्रो लहर तीव्र बनेसँगै संघले संक्रमितहरूको उपचारका लागि १०० अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो ।

कोभिडविरुद्धको अभियानमा नेपाललाई सहयोग गर्न सक्रिय रहन राष्ट्रिय समितिलाई संघका कोषाध्यक्ष महेश श्रेष्ठले आह्वान गरे । एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको संघका महासचिव पशुपति पाण्डेले जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्सले पनि एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । कोभिड–१९ का कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेको हो ।

आपत्कालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ देखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जानकारी दिएको छ । हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीले एम्बुलेन्स सेवा लिन सक्छन् । एम्बुलेन्स सेवा प्रयोगका लागि चेम्बर तथा छत्रपाटी चिकित्सालयमा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ ।

गत शनिबारबाट नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरु गरिसकेको छ । पाँच जना डाक्टरले कोभिड–१९ का संक्रमितलाई अनलाइन प्रणालीमार्फत परामर्श सेवा दिइरहेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पनि सशस्त्र प्रहरीको अस्पताललाई कोभिड–१९ नियन्त्रणका लागि पाँचथरी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नाडाले अस्पताललाई कोभिड महामारी संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लिपर ५० सेट, थर्मोसल ब्वाइलेट ५० सेट, बेड सिट ५० थान, टावेल ५० थान र मास्क ५ हजार थान सहयोग गरेको हो ।

महामारीको नियन्त्रण र त्यसको सहजताका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नाडाले उक्त सहयोग गरेको जानकारी दिएको छ । नेपाल एपीएफ अस्पतालअन्तर्गतको कोभिड–१९ युनिफाइड अस्पतालकी उपनिरीक्षक मीना कुँवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले उक्त सहयोग हस्तान्तरण गरे । नाडाबाट प्राप्त यी मेडिकेटेड सामान अस्पतालमा आउने विपन्न परिवारका सदस्यलाई वितरण गरिने कुँवरले जानकारी दिइन् ।

प्रकाशित : वैशाख २८, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?