कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिक्विड अक्सिजन आयातमा आयल निगमको चासो

उद्योगहरुको आवश्यकता कति हो, जानकारी पाए आईओसीसँग सहकार्य गरेर ल्याउन सक्छौं । – सुरेन्द्रकुमार पौडेल कार्यकारी निर्देशक, नेपाल आयल निगम
राजु चौधरी

काठमाडौँ — कोभिडको दोस्रो लहर तीव्र बनेसँगै मुलुकभर अक्सिजनको माग अत्यधिक बढेको छ । अक्सिजन उत्पादक कम्पनीहरूले पनि माग थेग्न नसक्ने अवस्थामा पुगिरहेको बताएका छन् । यही अवस्थालाई दृष्टिगत गरी नेपाल आयल निगमले लिक्विड अक्सिजन आयातमा चासो देखाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) सँग पेट्रोलियम पदार्थ आयात गरिरेहको निगमले लिक्विड अक्सिजन पनि ल्याउन सक्ने जनाएको छ ।

लिक्विड अक्सिजन आयातमा आयल निगमको चासो

‘पछिल्लो समय आईओसीले लिक्विड अक्सिजन उत्पादन गरिरहेको छ । सरकारबाट निर्देशन भए आईओसीसँग कुरा गरेर अक्सिजन भित्र्याउन सकिन्छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘अन्य निकायको तुलनमा छिट्टै ल्याउन पनि सकिन्छ ।’ निगमले आईओसीका विभिन्न रिफाइनरीबाट खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थ आयात गरिरहेको छ ।

ग्यास बुलेटमार्फत आयात भइरहेको छ । सरकारबाट निर्देशन आए लिक्विड अक्सिजन पनि बुलेटमार्फत ल्याउन सम्भव रहेको पौडैलले जानकारी दिए । ‘लिक्विड अक्सिजन बुलेटमार्फत ल्याउन सकिन्छ । तर खरिदको ग्यारेन्टी हुनुपर्‍यो,’ उनले भने, ‘कुनकुन उद्योगलाई कति आवश्यक छ । व्यवसायीले कति खरिद गर्छन्, जानकारी पाए आयात गर्न गाह्रो छैन ।’

केही दिनअघि अक्सिजन उत्पादन गर्ने व्यवसायीसँगको छलफलमा व्यवसायीहरूले उत्पादनमा समस्या नभएको बताएका थिए । सिलिन्डरको मात्रै समस्या देखाएका थिए । व्यवसायीहरूले लिक्विडको माग नगरेकाले आयात नभएको पौडेलको भनाइ छ । लिक्विड अक्सिजन आयातका विषयमा निगमले आन्तिरक छलफल गरिरहेको पनि उनले बताए । ‘सरकारबाट निर्देशन भए आयात प्रक्रिया थाल्छौं,’ उनले भने । माग अधिक रूपमा बढेपछि अक्सिजन उत्पादक उद्योग चौबीसै घण्टा चलेका छन् । तर पछिल्लो समय माग धान्न गाह्रो परेकाले सरकारले तत्काल वैकल्पिक उपाय अवलम्बन गर्नुपर्ने नेपाल अक्सिजन ग्यास उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

‘निजी क्षेत्रले तत्काल आयात गरेर मोज्दात गर्न सक्दैन,’ उनले भने, ‘माग पूरा गर्न सरकारले नै तत्काल ल्याएर सहजीकरण गर्नुपर्छ ।’ हाल उपत्यकामा ९ र बाहिर १७ अक्सिजन उद्योग छन् । ती उद्योगमा १ लाख ८ हजार १ सय ६४ सिलिन्डर छन् । उद्योगको दैनिक क्षमता ५ हजार ६० मिटर क्युब रहेको उद्योग विभागको तथ्यांक छ । यसमा नागढुङ्गामा रहेको अक्सिटेक अक्सिजन प्रालिबाहेक अरू सबै सञ्चालनमा रहेको विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीले जानकारी दिए । ‘दाङमा रहेको दाङ अक्सिजन पनि बन्द थियो, पछिल्लो समय त्यसमा उत्पादन थालिसकेको रहेछ,’ उनले भने । यता संघले भने २० उद्योगले मात्रै अक्सिजन उत्पादन गरिरहेको दाबी गरेको छ ।

दुई दिनमा २९६९ अक्सिजन सिलिन्डर फिर्ता

दुई दिनमा अन्य उद्योगबाट २ हजार ९ सय ६९ थान अक्सिजन सिलिन्डर फिर्ता आएको उद्योग विभागले बताएको छ । ‘अभाव नहुँदा यी सिलिन्डर अन्य औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका थिए । बिहीबार र शुक्रबार दुई दिनमा उक्त परिमाणमा सिलिन्डर फिर्ता भइसकेका छन्,’ विभागका निर्देशक पराजुलीले भने, ‘फिर्ता हुने क्रम जारी छ ।’

विभागका अनुसार बिहीबार ११ सय ३४ र शुक्रबार १८ सय ३५ सिलिन्डर फिर्ता आइसकेका छन् । यी सिलिन्डर अस्पतालहरूमा पठाइने विभागले जनाएको छ । बजारमा सिलिन्डर अभाव हुन थालेपछि विभागले उद्योगहरूलाई पत्र काटेर सिलिन्डर फिर्ता मागेको थियो । औद्योगिक क्षेत्रबाहेक व्यक्तिगत रूपमा होल्ड गरिएको अक्सिजन सिलिन्डर पनि फिर्ताका लागि आह्वान गरिएको छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?