कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोर्ब्सको प्रभावशाली सूचीमा कोइराला

काठमाडौँ — वित्तीय साक्षरताका अभियन्ता प्रकाश कोइराला फोर्ब्स  म्यागेजिनको प्रभावशाली युवाको सूचीमा परेका छन् । फोर्ब्स  म्यागेजिनले हरेक वर्ष छनोट गर्ने एसियाका ३० वर्षमुनिका ३० जना युवाको सूचीमा कोइराला छानिएका हुन् ।

फोर्ब्सको प्रभावशाली सूचीमा कोइराला

सन् २००९ देखि वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेका कोइरालाले सन् २०१७ यता फिनलिट नेपाल नामक संस्था स्थापना गरी साक्षरता अभियान चलाइरहेका छन् । सूचीमा परेसँगै वित्तीय साक्षरताका लागि थप काम गर्ने ऊर्जा प्राप्त भएको कोइरालाले प्रतिक्रिया दिए । फिनलिट नेपालले व्यक्तिगत वित्त व्यवस्थापनका लागि आधारभूत ज्ञान सिकाउँदै आएको छ । कोइरालाले विशेषगरी नेपालका कम आय भएका र जोखिममा रहेका समुदायमा गरिबी न्यूनीकरणका लागि वित्तीय साक्षरतामा काम गरिरहेका छन् ।

फिनलिट नेपालले सरकारी निकाय र विभिन्न कम्पनीसँग मिलेर वित्तीय साक्षरताको प्रवद्र्धन गर्न र वित्तीय प्रणालीमा समावेशिताका लागि काम गर्दै आएको छ । वित्तीय साक्षरतामा काम गरेबापत कोइरालाले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पनि जितेका छन् । उनले सन् २०१७ मा हार्भर्ड केनेडी स्कुलमा छात्रवृत्ति पनि पाएका थिए ।

वित्तीय साक्षरतामा काम गरेबापत उनले सन् २०१५ मा बेलायतको संसद् भवनमा ग्लोबल अवार्ड पाएका थिए । नेपाल सरकारले सन् २०१६ मा उनलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरेको थियो । कोइरालाले सन् २०१८ मा बेलायतको लन्डन इन्स्टिच्युट अफ बैंकिङ एन्ड फाइनान्सबाट बेस्ट आउटरिच इनिसिएटिभ अवार्ड पनि पाएका छन् ।

कोइरालाले वित्तीय साक्षरताका लागि विभिन्न पुस्तकसमेत प्रकाशन गरेका छन् । राष्ट्र बैंकका लागि वित्तीय साक्षरतासम्बन्धी पुस्तक र बालबालिकालाई वित्तीय साक्षरता सिकाउन ‘फिनलिको’ नामक कमिक पुस्तक पनि लेखेका छन् । ‘पैसाको खेती’ नामक वित्तीय साक्षरताको अर्को पुस्तकमा पनि उनको सहलेखन छ ।

प्रकाशित : वैशाख ७, २०७८ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?