कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दिनमा ७३ अंक घट्यो नेप्से

काठमाडौँ — नेप्सेको घट्ने क्रम सोमबार पनि थामिएन । पाँच कारोबार दिनपछि आइतबार उच्च अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो । जसअनुसार सोमबार नेप्से ३७.५८ अंकले घटेर २ हजार ६ सउ ६१.९३ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.३९ प्रतिशतको गिरावट हो ।

दुई दिनमा ७३ अंक घट्यो नेप्से

आइतबार र सोमबार गरी दुई दिनमा नेप्से करिब ७३ अंकले घटिसकेको छ । आइतबार नेप्से ३५.८९ अंकले घटेको थियो । गत साता भर (गत साताका ४ कारोबार दिन) मा निरन्तर बढेको नेप्से आइतबार उच्च अंकले घटेको थियो । गत चैत २५ मा नेप्से २.६५ अंकले घटेको थियो ।

आइतबार कारोबारमा आएकामध्ये जलविद्युत र वित्त कम्पनीबाहेक सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

करिब साढे ७३ हजार कारोबारबाट सोमबार २ सय १३ कम्पनीका १ करोड ४२ लाख कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ६ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा नेप्सेको गिरावटसँगै कारोबार रकम, कारोबार संख्या र कारोबार सेयर संख्या सबै बढी हो ।

आइतबार दोस्रो बजारमा करिब साढे ९३ हजार कारोबारबाट २ सय ७ वटा कम्पनीका १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता सेयर कारोबार भएका थिए । ती कारोबारबाट ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँ परिचालन भएको थियो ।

निरन्तर बजार घटेपछि सोमबार कुल बजार पुँजीकरण पनि घटेर ३६ खर्ब ८५ अर्ब रुपैयाँमा सिमित छ । आइतबार कुल बजार पुँजीकरण ३७ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।

सोमबार पनि बजार खुले देखि नै नेप्से घट्न थालेको थियो । सोही कारण दिनभरको कारोबारमा लगानीकर्ताले ३७ अंकको गिरावट भोग्नु पऱ्यो ।

नेप्से घटेपछि सेन्सेटिभ परिसूचक पनि १.४५ र फ्लोट परिसूचक १.३४ प्रतिशतले घट्यो ।

अघिल्ला दुई साता निरन्तर जसो बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुक्षण गर्न थालेकाले बजार घटेको रुपमा विश्लेषण गरिएको छ ।

प्रकाशित : वैशाख ६, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?