कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोनाका चुनौती सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कोरोना भाइरसले ल्याएका चुनौती सामना गर्ने गरी तयार भइरहेको बताएका छन् । 

कोरोनाका चुनौती सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

प्रतिनिधिसभा अर्थ समितिको मंगलबारको बैठकमा मन्त्री पौडेलले बजेट निर्माणका आधारभूत सिद्धान्तलाई आत्मसाथ गर्दै कोरोनाले मुलुकमा ल्याएका चुनौती सामना गर्ने गरी बजेट ल्याइने बताए ।

आगामी आर्थिक वर्षको बजेटको तयारीबारे समितिमा छलफल भएको थियो । जहाँ अर्थमन्त्री पौडेलले बजेट निर्माणको आधारभूत सिद्धान्तहरूलाई आत्मसाथ गरी बजेट कार्यान्वयनको सुनिश्चितता गरेर अनुशासित बजेट निर्माण गरिने बताएका हुन् ।

यस्तै, कोरोनाले सिर्जना गरेको चुनौती र त्यसको सामना गर्ने कुरालाई बजेटले सर्वोच्च प्राथमिकतामा राख्ने पनि मन्त्री पौडेलले जानकारी दिए । 'कोरोना संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने प्रयास हुनेछ,' उनले भने ।

अरु मन्त्रालयहरूसँग पनि समन्वय गरी बजेट निर्माण गर्ने अर्थमन्त्री पौडेलले बताएका छन् । बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरू नै सम्पूर्ण रूपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थमन्त्रालयले हस्तक्षेप नगर्ने पनि उनले प्रतिबद्धता जनाएका थिए ।

आर्थिक वर्षको अन्त्यसम्म पनि आयोजना कार्यान्वयन नहुने अवस्थाका आयोजनाका लागि बजेट विनियोजन गर्ने भन्दा पनि कार्यान्वयनमा गइसकेका र कार्यान्वयनमा जाने चरणमा रहेका आयोजनालाई आवश्यक बजेट विनियोजन गर्ने अर्थमन्त्री पौडेलको भनाइ थियो ।

आयोजना कार्यान्वयनको सन्दर्भमा विगतका समस्याहरूको पुनरावृत्ति नहोस् भन्ने सन्दर्भमा मन्त्रालय सजग रहेको पनि उनले बताए ।

प्रकाशित : चैत्र ३१, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?