कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अर्थतन्त्रमा कोभिडको प्रभाव पर्न दिन्नौं : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली अर्थतन्त्रमा दोस्रो चरणको कोभिड प्रभाव पर्न नदिन सरकार क्रियाशील रहेको बताएका छन् ।

अर्थतन्त्रमा कोभिडको प्रभाव पर्न दिन्नौं : अर्थमन्त्री

पछिल्ला केही वर्षमा निरन्तर उकालो लागिरहेको नेपालको अर्थतन्त्रलाई कोभिड महामारीको संक्रमणले नराम्ररी धक्का दिएको उनको भनाइ छ ।

‘सीमित साधन, स्रोत तथा बढ्दो अनिश्चितताका बाबजुद आइलागेको समस्यालाई सबैको सहयोगबाट सरकारले राम्रोसँग व्यवस्थापन गर्न सक्दा अर्थतन्त्र पुनः विस्तारै आफ्नो लयमा फर्कंदै गएको आभास भएको छ,’ विश्व बैंकले प्रकाशन गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिकीकरण कार्यक्रममा उनले भने । विश्वव्यापी रूपमा फैलिएको कोभिडको प्रभावले थलिएको अर्थतन्त्र उकास्ने र कोभिडको असर सम्बोधन गर्ने विषय प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइने उनको भनाइ छ ।

कार्यक्रममा कोभिड आपत्कालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी गर्न विश्व बैंकले उपलब्ध गराएको सहुलियतपूर्ण वित्तीय सहयोगका लागि अर्थमन्त्री पौडेलले धन्यवाद दिए ।

२.७ प्रतिशतले अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण

भौतिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य सुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकले आवधिक रूपमा प्रकाशन गर्दै आएको ‘नेपाल डेभलपमेन्ट अपडेट’ मा पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताले कृषि उत्पादन पनि राम्रो हुने अनुमान गरेको छ । कोभिड–१९ पछिको पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुन सक्ने विश्व बैंकको भनाइ छ ।

प्रतिवेदनअनुसार कोभिडपछिको पर्यटन बजारसँग सामञ्जस्य हुने गरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनरुत्थान पूर्ण रूपमा नहुन सक्छ । आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८/७९ मा चालु खाता घाटा घट्न गई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.२ प्रतिशत पुग्ने अनुमान छ । राजस्व संकलन लक्ष्यअनुसार हुन सक्ने सम्भावना न्यून रहेको र आर्थिक राहतका उपाय, खोप कार्यक्रम र आयोजना पुनः सञ्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चले आर्थिक वर्ष २०७८/७९ को वित्तीय घाटा बढाएर उक्त आर्थिक वर्षको जीडीपीको ७ प्रतिशत नजिक पुर्‍याउने प्रतिवेदनमा उल्लेख छ ।

‘नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात् करिब ११ खर्ब नेपाली रुपैयाँ बराबर अनुमान गरिएको छ । यो हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा बढी हो,’ विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा अपडेटका प्रमुख लेखक केने इजेमेनारीले भने । यो निर्यात क्षमताले उत्पादकत्व वृद्धिका लागि महत्त्वपूर्ण प्रभावसहित अनुमानित २ लाख २० हजार नयाँ रोजगारी सिर्जना गर्ने अवसर प्रतिनिधित्व गर्छ । प्रतिवेदनमा नेपालको निर्यात क्षमता हासिल गर्न जोड दिनुपर्ने ६ वटा प्रमुख प्राथमिकता उल्लेख गरिएको छ ।

प्रकाशित : चैत्र ३१, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×