कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्माण व्यवसायी विकासका साझेदार : मन्त्री नेम्वाङ

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आवश्यक परे कानुन परिमार्जन गरेर भए पनि निर्माणका काम सहज बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २२औं साधारणसभाका अवसरमा आइतबार उनले आपसी छलफलमा व्यवसायीका माग सम्बोधन गरिने प्रस्ट्याए ।

निर्माण व्यवसायी विकासका साझेदार : मन्त्री नेम्वाङ

देशभरका सबै निर्माण व्यवसायी सरकारको विकासका साझेदार रहेको मन्त्री नेम्वाङले बताए । कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राजनीतिक स्थिरताबिना निर्माण क्षेत्र फस्टाउन नसक्ने बताए । गुनासो मात्र गर्ने परिपाटीले कसैलाई फाइदा नहुने र सरोकारवाला सबैले आआफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

निर्माण व्यवसायीमैत्री ऐनकानुन नबन्दासम्म व्यवसायीले सहज काम गर्न नसक्ने र उनीहरूको भुक्तानी रोक्न नहुने पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरको भनाइ छ । व्यवसायीको सहनशीलतालाई राज्यले कमजोरी ठानेको र जायज माग पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले चेतावनी दिए । ‘निर्माण व्यवसायीसँग गरेका सम्झौता पालनामा राज्य इमानदार भएन,’ उनले भने ।

अव्यावहारिक नीति नियम, निर्माण सामग्री र सरकारी निकायबीच समन्वय अभाव, महँगी, असुरक्षालगायतका कारणले निर्माण व्यवसायी पेसाबाट पलायन हुने खतरा बढेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २९, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?