कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध दोहनले कुरूप दरौंदी

खोलामा ढुंगा पाइन्न, क्रसर उद्योगमा भने डाँडो बनिसक्यो
हरिराम उप्रेती

गोरखा — बर्सेनि हुने अनियन्त्रित दोहनले दरौंदी नदी कुरूप बन्न थालेको छ । ठेक्का लागेका घाटमा जेसीभी प्रयोग गरी अनियन्त्रित रूपमा नदीजन्य पदार्थ उत्खनन गरिँदा यसको प्रत्यक्ष मारमा किसान परेका छन् । नियामक निकायकै संरक्षणमा अवैध उत्खनन बढेपछि नदीको स्वरूप बिग्रिएको स्थानीयको आरोप छ ।

अवैध दोहनले कुरूप दरौंदी

नदी धसिँदा किसानका खेतमा पानी नलाग्ने समस्या देखिन थालेको छ । ‘खोलाभन्दा खेत माथि भयो, १० वर्षअघिसम्म ढुंगा थुपारेर बाँध बनाए पानी चढ्थ्यो,’ गोरखा नगरपालिका–१० का मानबहादुर थापाले भने, ‘अहिले बाँध बाँध्ने ढुंगा खोज्दा खोलामा पाउन मुस्किल छ ।’ कुलोको बाँधका ढुंगासमेत उत्खनन गर्नेले नछाडेको उनको भनाइ छ ।

दरौंदी नदीको बेनिखोला, बोहोराबेसी, खत्रीबेसी, १० किलोको फाँट तथा मसानेपाटी क्षेत्रमा बर्सेनि अनियन्त्रित नदी दोहन हुने गरेको छ । मापदण्डविपरीत जेसीभीको प्रयोगबाट झन्डै २ मिटरसम्म खोला खोतलेर नदीजन्य पदार्थ उत्खनन हुँदासम्म पनि नियामक निकाय मौन छन् । नदीमा भइरहेको मनोमानी उत्खनन टुलुटुलु हेर्नुको विकल्प नरहेको स्थानीयको गुनासो छ । क्रसर व्यवसायीको कमाउ धन्दाले आफूहरू समस्यामा परेको पालुङटार नगरपालिका–१ का मंगल लामाले बताए । ‘एक–एक किलोमिटरको फरकमा तीन क्रसर छन्, यहाँ उठाएको समान क्रसरमा लगेर जम्मा हुन्छ,’ उनले भने, ‘खोलामा ढुंगा छैन, क्रसर उद्योगमा भने डाँडो बनिसक्यो ।’

चोरकाटेदेखि मसानेपाटीसम्मको दरौंदी आसपास तीनवटा क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा छन् । पालुङटार–१ सुन्दुरखोलामा सिम्रन क्रसर उद्योग, मसानेपाटीमा माई मनकामना र गोरखा नगरपालिका–१३ मा दर्ता भई गोरखा–१० मा सञ्चालित गोरखकाली क्रसर उद्योगमा नदीजन्य सामग्रीको थुप्रो देख्न सकिन्छ । रातिमा नदीजन्य सामग्री उत्खनन गर्न पाइँदैन । तर बेनीखोला क्षेत्रमा रातिकै समयमा नदीजन्य सामग्री ओसारपसार हुने गरेको घुम्नेटारका मदनबहादुर कोइरालाले बताए । राति र बिहानीपख नदीमा जेसीभी, ट्र्याक्टर र टिपरको आवाज चर्कै सुनिने स्थानीयको भनाइ छ । अनियन्त्रित दोहनले बर्खाको भेल साविकको ठाउँबाट नबग्ने समस्या थपिएको स्थानीय जितबहादुर कुमालको गुनासो छ । ‘जहाँ मन लाग्यो त्यहाँ ढुंगागिट्टी झिकिएको छ,’ उनले भने ।

ठेक्का लागेको घाटमा मापदण्डअनुसार काम भए/नभएको विषयमा छिट्टै अनुगमन गरिने जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले जानकारी दिए । ‘बर्सेनि हुने नदी दोहनले खोला गहिरिएको छ, यो वर्ष त ठेक्का लागिहाल्यो, अब दुई/दुई वर्षमा आईई गर्दा यसमा ध्यान पुर्‍याउनुपर्छ,’ उनले भने ।

प्रकाशित : चैत्र २८, २०७७ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?