कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन खुलाएर बजेट निर्माण गर्ने अवस्था छैन : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् ।

मन खुलाएर बजेट निर्माण गर्ने अवस्था छैन : अर्थमन्त्री

सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको बुधबार ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको उनले बताए ।

उनले बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्वपूर्ण भए पनि बजेटको स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको बताए । कोभिडका कारण खुम्चिएको राजस्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधिभित्रै रहेर बजेटको स्रोत निर्माण गरिने पनि प्रस्ट पारे । त्यसैले यसपटक मन खुलाएर, हात फैलाएर बजेट निर्माण गर्ने नभई खुम्चिएर निर्माण गर्नुपर्ने परिस्थिति रहेको अर्थमन्त्री पौडेलले बताए ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका विद्यार्थी नेताहरुले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यावसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् ।

यस्तै सरकारी सेवा सुविधा र जागिरमा रहनेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुले माग गरेको छ ।


प्रकाशित : चैत्र २५, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?