नेपाल सरकार र विश्व बैंकबीच वन आयोजना सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ — नेपाल सरकार र विश्व बैंकबीच समृद्धिका लागि वन आयोजनाका लागि २ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताको कुल रकममध्ये करिब ७१ करोड रुपैयाँ अनुदान र करिब २ अर्ब १० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको जनाइएको छ । यस आयोजनाले दिगो वन व्यवस्थापनलाई बढावा दिने बताइएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले वन जंगल संकटको समयमा स्थानिय समूहरुका लागि परम्परागत सुरक्षाको जाल रहेको बताए । यस अयोजनाले नेपालको वनमा आधारित क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुर्याउने उनको भनाइ छ । उनले भने, ‘संकटको समयमा वनजंगल भनेका स्थानिय समूहरुका लागि परम्परागत सुरक्षाको जाल हुन् । कोभिड–१९ को यस कठिन घडीमा स्थानीय समुदायहरुलाई लियो बनाउनु निकै महत्त्वपूर्ण छ । सोही भावना अनुरुप यस आयोजनाले नेपालको वनमा आधारित नीजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुर्याउने छ । यस आयोजनाले प्रदेश र स्थानीय स्तरमा प्राकृतिक स्रोत शासन सृदृढीकरणका लागि समय सान्दर्भिक स्थागत सहयोग पुर्याउनेछ ।’
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले ५० वटा गाउँपालिका र नगरपालिकाहरुलाई सहयोग पुर्याउने बताए । यस अयाजनले समावेशी जलवायु कार्य तथा नेपालको तुलनात्मक लाभमा आधारित हरित आर्थिक वृद्धिका लागि सुरुआतको बिन्दु हुने उनको भनाइ छ । अपेक्षित परिणाम हासिल भए आयोजनालाई अझ विस्तार गरिने पनि उनले बताए । उनले भने, ‘यस आयोजनाले ५० वटा गाउँपालिका र नगरपालिकाहरुलाई सहयोग पुर्याउँनेछ जुन समावेशी जलवायु कार्य तथा नेपालको तुलनात्मक लाभमा आधारित हरित आर्थिक बृद्धिका लागि सुरुआतको बिन्दु हुनेछ । हामी विश्वस्त छौं कि यस आयोजनाले अपेक्षित परिणामहरु प्राप्त गरेको खण्डमा यस अयोजनालाई धेरैभन्दा धेरै व्यक्तिहरु लाभान्वित हुनेगरी बृहत् रुपमा विस्तार गर्ने अवसरहरु जुर्नेछन् । यस आयोजनाको सहमतिसँगै नेपालको विश्वासिलो साझेदार हुन पाउँदा विश्व बैंक गौरवान्वित भएको छ ।’
समृद्धिका लागि वन आयोजनाले नेपालको दिगो वन व्यवस्थापनलाई सुधार गर्दै वनमा आधारित निजी क्षेत्रको विकास गरी वनक्षेत्रको रुपान्तरण गर्न योगदान पुर्याउने बताइएको छ । यो आयोजना विश्व बैंकद्वारा वित्त पोषित गरिएको विगत १५ वर्षकै पहिलो वन क्षेत्र सम्बन्धी लगानी आयोजना हो ।
प्रकाशित : चैत्र ६, २०७७ १४:२२