कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब मोबाइल ब्यालेन्सबाटै भुक्तानी

प्रयोगकर्ताको बैंक खाता नचाहिने, रिचार्ज कार्ड वा कुनै माध्यमबाट मोबाइलमा ब्यालेन्स हाले पुग्ने
विजय तिमल्सिना

काठमाडौँ — मोबाइलको ब्यालेन्सबाटै सामान तथा सेवा खरिदको भुक्तानी गर्न मिल्ने गरी सञ्चालन गर्न लागिएको मोबाइल मनी सेवालाई नेपाल टेलिकमले अनुमति पाएको छ ।

अब मोबाइल ब्यालेन्सबाटै भुक्तानी

यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर स्थापना गरेको कम्पनीलाई राष्ट्र बैंकले मंगलबार अनुमति दिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । अनुमतिपत्र पाएको एक महिनाभित्र सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

मोबाइल मनीका लागि पूर्वाधार तयार भए पनि सञ्चालन रणनीति बनाउन बाँकी रहेको अधिकारीले बताए । ‘मोबाइल ब्यालेन्समा विभिन्न शीर्षकमा करकट्टी हुने भएकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल भइरहेको छ,’ उनले भने । मोबाइल ब्यालेन्समा दूरसञ्चार सेवा शुल्क, भ्याट, मोबाइल स्वामित्व शुल्कजस्ता कर लाग्ने भएकाले मेन ब्यालेन्स र भुक्तानी गर्न सकिने ब्यालेन्सलाई फरक–फरक किसिमले राख्ने विषयमा छलफल भइरहेको अधिकारीको भनाइ छ । मोबाइलमा कल गर्न मिल्ने ब्यालेन्समा बढी कर लाग्ने हुनाले भुक्तानीका लागि प्रयोग हुने र फोन गर्न प्रयोग हुने ब्यालेन्सलाई फरक फरक गरी राख्ने तयारी रहेको जानकारी उनले दिए । ‘यसको प्राविधिक व्यवस्थापन हुन्छ,’ उनले भने ।

अहिले डिजिटल भुक्तानी सेवा दिइरहेका चल्तीका आधा दर्जनभन्दा बढी सेवा प्रदायक भए पनि टेलिकमले ल्याउने मोबाइल मनीको सेवा भने केही फरक हुनेछ । यो सेवा प्रयोगका लागि प्रयोगकर्ताको बैंक खातासमेत आवश्यक पर्नेछैन । सेवाग्राहीले रिचार्ज कार्ड वा कुनै माध्यमबाट आफ्नो मोबाइलमा ब्यालेन्स हाले पुग्छ । यही ब्यालेन्सले मोबाइलमा कुराकानी गर्न, डेटा चलाउन र कुनै सामान तथा सेवा खरिद गर्दा भुक्तानी गर्नसमेत मिल्छ । यो सेवालाई ग्रामीण क्षेत्रमा पनि विस्तार गर्ने टेलिकमको योजना छ ।

टेलिकमले ल्याउन लागेको मोबाइल मनीजस्ता सेवालाई नियमन गर्न दूरसञ्चार प्राधिकरण र राष्ट्र बैंकले समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकेका छन् । अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डेटा प्याकेज मात्रै किन्न मिल्छ । यो सेवा सुरु भएपछि मोबाइल प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलको सामानको बिल भुक्तानीदेखि विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् ।

मोबाइल मनी सेवा सञ्चालनका लागि कानुनी र प्राविधिक पूर्वाधार तयार गरी टेलिकमले पुस २६ मा राष्ट्र बैंकमा निवेदन दिएको थियो । मोबाइल मनी सञ्चालनका लागि टेलिकमले भविष्यमा उत्पादन गर्ने सिम मोड्युलमै यसलाई सपोर्ट गर्ने प्रविधि जडान गरिने उनले बताए । ‘पुराना सिम चलाउनेले भने एपमार्फत सेवा लिन सक्नेछन्,’ उनले भने, ‘टेलिकमका यस्ता सेवा सञ्चालन गर्दा बैंकिङ पहुँच नभएका ठाउँमा पनि सेवा पुग्छ ।’

टेलिकमले सञ्चालन गर्न लागेको मोबाइल मनी अफलाइन र अनलाइन दुवै अवस्थामा प्रयोग गर्न सकिनेछ । यसमा क्यूआर कोडसहित भुक्तानी सेवाका लागि अहिले प्रयोगमा रहेका सबैखाले सुविधा हुने कम्पनीले जानकारी दिएको छ । टेलिकमले सुरु गर्ने मोबाइल मनीमा राष्ट्रिय वाणिज्य बैंकको खाता, अन्य बैंकको खाता, रिचार्ज कार्ड वा अन्य माध्यमबाट पनि रकम जम्मा गर्न र तिनलाई खर्च गर्न सकिने अधिकारीले जानकारी दिए ।

टेलिकमका मोबाइल ग्राहकले सजिलै आफ्नो नम्बरमार्फत यस्तो सेवा प्रयोग गर्न सक्ने भएकाले यो बढी प्रभावकारी हुने अनुमान छ । टेलिकमले यस्तो सेवा सुरु गरेपछि अहिले चल्तीमा रहेका डिजिटल वालेट र डिजिटल भुक्तानी सेवा प्रदायकका लागि पनि प्रतिस्पर्धा बढ्नेछ । राष्ट्र बैंकले ६ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने सर्तसहित साउनमा टेलिकमलाई मोबाइल मनी सेवाको अनुमतिपत्रका लागि आशयपत्र दिएको थियो ।

प्रकाशित : चैत्र ६, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?