कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समृद्धिका लागि उत्पादनमा वृद्धि गरौं : पूर्वअर्थमन्त्री महत

सम्झना रसाइली

तनहुँ — कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले मुलुकलाई समृद्धितर्फ लग्न राज्यले कृषिसँगै अन्य उत्पादनका क्षेत्रलाई वृद्धि गर्नुपर्ने बताएका छन् । जिल्लाको दमौलीमा शनिबार आयोजित नेपाल वितरक महासंघको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रसँगै उद्योग व्यवसायको उत्पादनलाई वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने बताएका हुन् । 

समृद्धिका लागि उत्पादनमा वृद्धि गरौं : पूर्वअर्थमन्त्री महत

‘उद्योगहरुको उत्पादन वृद्धि भएपछि देशमा व्यवसाय र वितरणको दायरा पनि बढ्ने हुँदा यस क्षेत्रमा पुँजीगत लगानी वृद्धि गर्नुपर्छ’, महतले भने, ‘सरकारले स्वदेशी तथा विदेशी पुँजीलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’‘उत्पादन बढेसँगै वितरण क्षेत्र बढ्दै जाने हुँदा आयश्रोत र रोजगारीको वातावरण पनि सिर्जना हुने गर्छ’, उनले भने, ‘प्रतिफल निस्कने गरी काम गर्नुपर्ने अहिलेको आवश्यकता हो, जनताको रोजगारी, आम्दानीको स्रोत बढाउँदै जीवनस्तर उकास्न सबैले इमान्दारिताका साथ काम गर्नु पर्ने र यसका लागि सरकारको मुख्य भूमिका हुन्छ ।’

अधिकृत विक्रेता संघ तनहुँको व्यवस्थापनमा आयोजित साधारणसभामा ४४ जिल्लाका करिब पाँच सय जना अधिकृत विक्रेताका प्रतिनिधि तथा परिवेक्षकहरुको सहभागिता रहेको कार्यक्रममा पूर्वअर्थमन्त्री महतले उद्योग, व्यवसाय क्षेत्रमा अत्याधिक राजनीतिककरण नगरी सम्बन्धित क्षेत्रका विज्ञ र यही क्षेत्रका व्यक्तिले नेतृत्व गर्नुपर्ने बताए । उद्योग व्यवसायीहरुको शोषण गर्न नहुने भन्दै उनले व्यवसायीहरुलाई सही ढंगले आयकर तिर्नसमेत आग्रह गरेका छन् । ‘उद्योग व्यवसाय क्षेत्रको प्रवर्द्धनका लागि उचित किसिमको कानुन निर्माण गरी सही ढंगले कार्यान्वयनमा ल्याउनु पर्छ’, उनले भने, ‘व्यवसायीहरुले वैधानिक रुपमा नाफा कमाउने र कमाएको नाफाबापत आयकर तिर्नुपर्छ ।’

कोरोना कहरका कारण व्यावसायिक गतिविधि ठप्प भएको चर्चा गर्दै पूर्व अर्थमन्त्री महतले उद्योग तथा व्यवसायीहरु अब प्रविधिमैत्री बन्नुपर्नेमा पनि जोड दिएका छन् । उनले भने ‘व्यवसाय बढाउन तथा, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अब हामी प्रविधिमैत्री बन्दै अगाडि बढ्नुपर्छ र यसका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

नेपाल वितरक महासंघका केन्द्रीय अध्यक्ष सुरेश अधिकारीलगायतका वक्ताहरुले वितरण महासंघलाई सरकारले अन्य व्यवसायीसरह हेर्न नहुने बताएका छन् । व्यवसायीहरुले अनुगमनका क्रममा हतोत्साही बनाउने काम भएको भन्दै अस्थिर राजनीतिका कारण व्यवसायी ढुक्का हुने स्थिति नरहेको समेत गुनासो गरेका छन् ।


प्रकाशित : फाल्गुन २९, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?