कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब ६ अक्षरको ठेगाना

अक्षांश र देशान्तरमा आधारित कोड अक्षर र अंक मिलेर बनेको छ
विजय तिमल्सिना

काठमाडौँ — सरकारले गुगल प्लस कोडलाई आधिकारिक ठेगानाको मान्यता दिएको छ । यो व्यवस्थासँगै जुनसुकै व्यक्तिले पनि आफ्नो घर वा कार्यालयको ठेगाना (प्लस कोड) निर्माण गरी चिठीपत्र आदानप्रदानका लागि प्रयोग गर्न सक्ने भएका छन् । हुलाकमार्फत चिठीपत्र पाउन वा पठाउन ठेगानाका लागि लामो विवरण लेख्नुपर्ने झन्झट पनि यसले हटाउने भएको छ ।

अब ६ अक्षरको ठेगाना

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसै साता पारित गरेको हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोगसम्बन्धी कार्य सञ्चालन प्रक्रियाअनुसार हुलाक कार्यालयले गुगल प्लस कोडमा आधारित ठेगानामा चिठीपत्र आदानप्रदान गर्न सुरु गरिसकेको गोस्वारा हुलाक कार्यालयका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ‘सरकारले कार्यविधि पारित गरेलगत्तै गुगल प्लस कोडका आधारमा हामीले चिठी पठाउन सुरु गरिसकेका छौं,’ उनले भने, ‘देशभरका हुलाक कार्यालयले यस्तो सेवा दिनेछन् ।’ गुगल प्लस कोडले जेनेरेट गर्ने ठेगाना ठ्याक्कै मिल्ने भएकाले अव्यवस्थित सहरीकरण भएको काठमाडौंलगायतका सहरी क्षेत्रमा यो प्रभावकारी हुने उनको भनाइ छ ।

सरकारले पारित गरेको कार्यविधिमा गुगल प्लस कोड जेनेरेट गर्दा आफ्नो भौतिक संरचनाको प्रवेशद्वारलाई आधार मानेर गर्नुपर्ने व्यवस्था राखिएको छ । एकै घरमा धेरै जना भाडामा बस्नेहरू रहेको अवस्थामा घरबेटीको घरको प्रवेशद्वारलाई आफ्नो ठेगानाको आधार बनाउन सकिने कार्यविधिमा उल्लेख छ । ‘उक्त घरमा पुगिसकेपछि हुलाक वस्तु वाहकले नाम सोधेर वस्तु सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछ,’ कार्यविधिमा भनिएको छ ।

यो सेवामा आबद्ध हुने सबै सार्वजनिक कार्यालयले आफ्नो प्लस कोड जेनेरेट गरी कार्यालयको नाम अंकित बोर्डमा स्पष्ट बुझिने गरी लेख्नुपर्नेछ । ‘निजी संस्थाहरूका हकमा आफ्नो ठेगानाअन्तर्गत प्लस कोड अंकित बोर्ड सर्वसाधारण तथा सेवाग्राहीले देख्ने गरी राक्न सक्नेछन्,’ कार्यविधिमा भनिएको छ, ‘निजी व्यक्तिहरूले पनि आफ्नो कोड जेनेरेट गरी स्वयं वा स्थानीय टोल सुधार समिति वा स्थानीय निकायको सहजीकरणमा आफ्नो घर वा संरचनाबाहिर अरूले देख्ने गरी सानो प्लेट टाँस्न सकिनेछ ।’

कोड राखिने प्लेटलाई सबैतिर एकरूपता कायम गर्न नीलो रङमा सेतो अक्षरले केही टाढाबाट पनि सहजै पढ्न सकिने गरी लेखेर राख्न सकिने व्यवस्था कार्यविधिमा छ । हुलाक वस्तुमा प्रेषकले अंकित गरेको प्लस कोड सम्बन्धित कर्मचारीले मोबाइल फोनमा रहेको गुगल म्याप वा जीपीएस ट्र्याक गर्ने डिभाइसमार्फत सही स्थान पहिचान गरी प्लस कोड अंकित घर ठेगानामा वितरण गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।

कार्यविधि पारित भएसँगै प्लस कोडबारे जानकारी दिन हुलाक कार्यालयले प्रचार सामग्री तयारी गरिरहेको उपाध्यायले बताए । उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरुवाती चरणमा काठमाडौं उपत्यकामा परीक्षणका रूपमा सेवा सुरु गर्न हुलाक कार्यालयलाई निर्देशन दिएको छ । प्लस कोड अमेरिकी कम्पनी गुगलले सञ्चालनमा ल्याएको जीपीएस प्रणालीको लोकेसन कोड हो । सडक वा कुनै क्षेत्रको नामका आधारमा तय गरिने परम्परागत ठेगानाको तुलनामा प्लस कोड बढी प्रभावकारी मान्ने गरिन्छ । अक्षांश र देशान्तरमा आधारित यो कोड अक्षर र अंक मिलेर बनेको हुन्छ ।

प्लस कोड निःशुल्क लिन पाइने सेवा हो । मोबाइल प्रयागकर्ताले गुगल म्यापमा गएर सहजै कुनै पनि स्थानको प्लस कोड थाहा पाउन सक्नेछन् । गुगल म्यापमा प्लस कोड थाहा पाउन वा पत्ता लगाउन इन्टरनेट आवश्यक पनि पर्दैन ।

प्रकाशित : फाल्गुन १४, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?