कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

फाइभजी परीक्षण गर्न फ्रिक्वेन्सी पर्खिंदै टेलिकम

दूरसञ्चार प्राधिकरणले आवश्यक फ्रिक्वेन्सीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सिफारिस गरिसकेको छ
विजय तिमल्सिना

काठमाडौँ — मोबाइल प्रविधिको पछिल्लो पुस्ता फाइभजी परीक्षणका लागि नेपाल टेलिकमले गृहकार्य थालेको छ । सरकारबाट फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी निक्र्योल हुनासाथ परीक्षणमा जाने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए ।

फाइभजी परीक्षण गर्न फ्रिक्वेन्सी पर्खिंदै टेलिकम

फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री अध्यक्ष रहने राष्ट्रिय रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले निर्णय गरेपछि मात्रै प्राधिकरणले सेवा प्रदायकलाई फाइभजीका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउनेछ । सरकारबाट फाइभजी सेवाका लागि प्रिक्वेन्सी निर्धारण भएपछि मुख्य–मुख्य सहरमा सम्भाव्यता अध्ययन गरी फाइजीको परीक्षण गर्ने लोहियाले बताए ।

‘फाइभजी सेवाको सम्भाव्यता अध्ययन गर्न आन्तरिक तयारी भइरहेको छ,’ उनले भने, ‘सरकारबाट फ्रिक्वेन्सी निर्धारण भएर प्राधिकरणबाट निर्देशन आएपछि हामी सम्भाव्यता अध्ययन र फाइभजीको परीक्षण सुरु गर्छौंै ।’ कुन–कुन सहरमा सम्भाव्यता अध्ययन र फाइभजीको परीक्षण गर्ने भन्ने विषय तय गर्न बाँकी रहेको लोहियाले बताए । ‘देशका मुख्य–मुख्य सहरमा फाइभजी सेवाको सम्भाव्यता अध्ययन सुरु गर्ने योजना छ,’ उनले भने, ‘कुन–कुन सहरमा अध्ययन हुन्छ, अहिले भन्न सकिन्नँ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले भने काठमाडौं, पोखरा, विराटनगर र वीरगन्जमा फाइभजी परीक्षणका लागि टेलिकमले काम अघि बढाइसकेको जानकारी दिए । उनका अनुसार फाइभजी परीक्षण गर्नुअघि अहिले सञ्चालित सेवा र फाइभजी सेवाका लागि प्रयोग हुने एन्टेनाको प्रभावकारिताबारे अध्ययनको काम हुनेछ । ‘फाइभजी सेवाका लागि अहिले सञ्चालित सेवाले अवरोध (एन्टरफेरेन्स) हुन्छ कि हुन्न भन्ने विषयमा टेलिकमले अध्ययन अघि बढाउँदै छ,’ उनले भने ।

प्राधिकरणअन्तर्गतको राष्ट्रिय फ्रिक्वेन्सी फोरमले गरेको सिफारिसलाई प्राधिकरण सञ्चालक समितिले मन्त्रालय पठाएको हो । प्राधिकरणले फाइभजीका लागि ७ सय, ९ सय, २६ सय, ३३ सय, ३६ सय र २६ गिगाहर्ज ब्यान्डमा फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउन मन्त्रालयसमक्ष सिफारिस गरेको हो । प्राधिकरणले फाइभजी सेवाको परीक्षणका लागि सेवा प्रदायकलाई नि:शुल्क फ्रिक्वेन्सी उपलब्ध गराउन सिफारिस गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ । फाइभजीका लागि फ्रिक्वेन्सी नि:शुल्क वा लिलाम बढाबढमार्फत दिने निर्णय राष्ट्रिय रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले गर्नेछ ।

टेलिकमले हाल देशभर विस्तार गरिरहेको फोरजी सेवा विस्तारको काम सकिएलगत्तै केही सहरमा फाइभजी सेवाको परीक्षण गर्ने सर्त थियो । फोरजी सेवा विस्तारको काम पाएको कम्पनीलाई नै ५ वटा फाइभजी सेवाको परीक्षण सेवा सुरु गर्नुपर्ने सर्त छ । देशभर टेलिकमको फोरजी विस्तारको ठेक्का दुई चिनियाँ कम्पनीले पाएका छन् । फोरजी विस्तारअन्तर्गत कोर नेटवर्क बिछ्याउने ठेक्का चिनियाँ कम्पनी जेडटीई र रेडियो एक्सेस नेटवर्क (र्‍यान) विस्तारको ठेक्का हङकङस्थित सीसीएसआई कम्पनीले पाएको छ ।

फोरजी विस्तारको काम ७५ प्रतिशत हाराहारीमा सकिएको लोहियाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्र देशभर फोरजी विस्तारको काम सक्ने लक्ष्य छ । हाल ७ सय ५३ मध्ये ६ सय ३८ स्थानीय तहमा फोरजी विस्तारको काम सकिएको उनले बताए । टेलिकमले एक वर्षभित्र फोरजी विस्तारको काम सक्ने भनी दुई वर्षअघि काम अघि बढाएको थियो ।

प्रकाशित : फाल्गुन ११, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?