कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भटमास तेल निकासी तेब्बर

कान्तिपुर संवाददाता

विराटनगर — भारतले पाम आयल निकासीमा रोक लगाएपछि जोगबनी नाकाबाट भटमासको तेल निर्यात तेब्बर पुगेको पााइएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म जोगबनीबाट ४ अर्ब ८५ करोड ४० लाख मूल्य बराबरको ३३ हजार २ सय ५३ टन भटमास तेल निकासी भएको छ ।

भटमास तेल निकासी तेब्बर

गत वर्ष सोही अवधिमा जोगबनी नाकाबाट १ अर्ब ५२ करोड ७० लाख मूल्यको ११ हजार ९ सय ४८ टन भटमास तेल निकासी भएको विराटनगर भन्सारको तथ्यांक छ ।

यो नाकाबाट वाग्मती आयल, श्रीराम रिफाइनरी, एभरेस्ट सोलभेन्ट, पशुपति सल्भेन्ट, स्वस्तिक आयल, बाबा भेजिटेबल, क्वालिटी आयललगायत उद्योगले झटमासको तेल निकासी गर्दै आएका छन् । तेस्रो मुलुकबाट त्रुड आयल आयात गरेर रिफाइन गरी तयार हुने पाम आयल निकासीमा भारतले रोक लगाएपछि यहाँका उद्योगले भटमास तेल निकासीमा लगानी बढाएका थिए ।

चालु आर्थिक वर्षमा करिब १० अर्ब मूल्य बराबरको भटमास तेल निकासी गर्ने उद्योगीहरूको लक्ष्य छ । दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) का अनुसार भटमासको तेल शून्य भन्सार महसुलमा भारत निकासी हुँदै आएको छ । पाम आयल निकासीमा प्रतिबन्ध लगाएपछि भारतमा भटमासको तेलको माग बढ्यो । यहाँका उद्योगले अझै पनि भारतीय मागअनुसारको तेल निकासी गर्न नसकेको वाग्मती आयलका सञ्चालक देवकीनन्दन अग्रवालले बताए ।

गत आर्थिक वर्षमा जोगबनी नाकाबाट ४ अर्ब २९ करोड ४९ लाख मूल्यको भटमासको तेल निकासी भएको थियो । चालु आर्थिक वर्षको दोस्रो चौमासिकमै ४ अर्ब ८५ करोड ४० लाख मूल्यको निकासी भइसकेको छ । पाम आयल निकासी बन्द भएपछि भारतमा भटमास तेलको माग हवात्तै बढ्दा निकासी पनि चुलिएको अग्रवालको भनाइ छ । यहाँका उद्योगले आर्थिक वर्ष २०७५/७६ मा ८४ करोढ ८६ लाख मूल्यको ८ हजार ३ सय ३१ टन मात्र भटमास तेल निकासी गरेका थिए ।

भारतले हालै सार्वजनिक गरेको बजेटमा भारतमा भटमासको कच्चा तेल पैठारीमा लाग्ने भन्सार महसुलमा १ प्रतिशत थप गरिएको छ । यसले नेपालमा आउने कच्चा तेलको मूल्यमा कुनै असर पारेको छैन । तर बजारमा प्रतिस्पर्धामा उत्रन नेपाली उद्योगका लागि केही सहज भने बनेको छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?