२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

नाकाको समस्या हटाउन व्यवसायीको माग

‘पीसीआर परीक्षण र क्वारेन्टाइन बस्ने प्रावधान झन्झटिलो’
सन्जु पौडेल

तिलोत्तमा — सीमा नाका बन्द हुँदा पर्यटक आगमन ठप्प भएर व्यवसाय धराशायी भएपछि रूपन्देहीका पर्यटन व्यवसायी आन्दोलित भएका छन् । नाका खुलाएर पर्यटकलाई प्रवेश दिन पटक–पटक माग गरे पनि सुनुवाइ नभएपछि आन्दोलन थालेको व्यवसायीले बताएका छन् ।

नाकाको समस्या हटाउन व्यवसायीको माग

आन्दोलनको पहिलो चरणमा व्यवसायीले मंगलबार बेलहिया नाकामा शान्तिपूर्ण एकघन्टे धर्ना कार्यक्रम गरे । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (साफ्टा) का लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयले लिखित र मौखिक माग नसुनेपछि नाकामै धर्ना बसेको बताए । ‘सरकारले पर्यटन क्षेत्र खुला त गर्‍यो,’ उनले भने, ‘तर नाका पूर्ण रूपमा खुला गरेन, भारतीयमा निर्भर यहाँको पर्यटन व्यवसाय धराशायी बनेपछि यस्तो निर्णय लिएका हौं ।’ आन्तरिक पर्यटकले मात्र व्यवसाय नधानिने उनले बताए ।

उनका अनुसार समस्या समाधान गर्न सरकारलाई एक साताको अल्टिमेटम दिइएको छ । आन्दोलनलाई बेवास्ता गरे आफूहरू सडकमै रिले अनशनमा उत्रिने उनको भनाइ छ । सरकारले नाका खुलाएको बताए पनि यहाँबाट मुलुक प्रवेश पाउन कोरोनाको पीसीआर परीक्षण गरिएको ७२ घण्टाभित्रको रिपोर्ट र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान यथावत् छ । तर औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतका विभिन्न स्थानबाट दैनिक सयौं मालवाहक भारतीय गाडी र गाडीका स्टाफ, कामदार, सर्वसाधारण भने बिनापरीक्षण आइरहेको बजिमयले बताए ।

तीन महिनादेखि प्रदेशका मुख्यमन्त्रीलगायत सम्बन्धित निकायका प्रमुखलाई आफूहरूको समस्याबारे ज्ञापनपत्रमार्फत जानकारी गराइरहे पनि कुनै सकारात्मक प्रतिक्रिया नआएको सिद्धार्थ होटल एसोसिएसन नेपालका अध्यक्ष सीपी श्रेष्ठले बताए । दैनिक ४० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यवसायी धराशायी बन्दासमेत कसैको ध्यान नपुगेकाले ठूलै आन्दोलन गर्नुबाहेकको विकल्प नरहेको उनको भनाइ छ ।

झन्झटिलो प्रावधान र पर्यटकका लागि सवारी साधन ल्याउने अनुमति नभएपछि पर्यटक आउन नचाहेको बताए । झन्डै ७० करोड रुपैयाँ लगानी गरी सुरु गरेको होटल सञ्चालनको तीन महिना नबित्दै बन्द गर्नुपरेको होटल मौर्याका सञ्चालक तथा सिद्धार्थनगर होटल एसोसिएसनका सदस्य रामबहादुर कोइरीले बताए । ‘तीन महिनामा बल्ल परिचित हुँदै थियौं,’ उनले भने, ‘अहिले ब्याज तिर्न नसक्ने अवस्थामा पुग्दासमेत खोल्न पाइएको छैन ।’ भारत र नेपालबीच मित्रताको सम्बन्ध छ भनी अंगीकार गरिरहेको सम्बन्ध नाकाबन्दकै कारण चिसिँदै गइरहेको नेपाल–भारत मैत्री संघ बेलहिया शाखाका इन्चार्ज श्रीचन्द गुप्ताले बताए । ‘दुवैतर्फ नाका सिलकै अवस्थामा छ,’ उनले भने, ‘नेपाली नागरिक भारतमै रोक्ने र उताका मानिस यतै रोकिँदा संस्थाले केही गर्न सकेको छैन ।’

व्यवसायीका गुनासा सुन्ने र उनीहरूले बुझाएको ज्ञापनपत्र संघीय सरकारी संयन्त्रसमक्ष पुर्‍याइरहेको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । ‘कोभिड–१९ अघिको अवस्थामा फर्कन अहिल्यै अनुमति छैन,’ उनले भने, ‘केन्द्रीय निर्णयअनुसार नै हामीले काम गरिरहेका छौं ।’ भारतीय तर नेपालमा अध्ययनरत विद्यार्थी, प्राविधिकलगायत मजदुर/कर्मचारी आदिलाई प्रक्रिया पूरा गरी प्रवेश दिइएको उनले बताए । नाका खोल्ने बित्तिकै हुने भीडभाडले जोखिम निम्त्याउन सक्ने स्थिति नआओस् भनेर नाका बन्द गरिरहेको घिमिरेले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ६, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?