कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०३

कोभिड प्रभावित ऋणीलाई थप सुविधा

एक पटकका लागि कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरण
धितो लिलामी तथा कालोसूचीमा राख्न नपाइने
आउँदो असारसम्म एक पटकका लागि कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न सुविधा दिइएको हो ।– महाप्रसाद अधिकारी, गभर्नर, नेपाल राष्ट्र बैंक
यज्ञ बञ्जाडे

काठमाडौँ — कोभिड–१९ बाट प्रभावित ऋणीले पुनः एक पटकका लागि कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले आइतबार उक्त व्यवस्था गरेको हो ।

कोभिड प्रभावित ऋणीलाई थप सुविधा

कोभिड–१९ को अवस्था सामान्य भए पनि पर्यटन, होटललगायत केही क्षेत्र अझै लयमा फर्किन सकेका छैनन् । ती क्षेत्रका उद्योगी तथा व्यवयासीको आग्रहमा आउँदो असारसम्म एक पटकका लागि कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न सुविधा दिइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

‘२०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७८ असार मसान्तभित्र लिखित कार्ययोजना पेस गरे बैंक तथा वित्तीय संस्थाले सोको विश्लेषण गरी बक्यौता ब्याजको न्यूनतम ५ प्रतिशत असुलउपर गरी एक पटकका लागि कर्जा पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ । यसअघि गत पुससम्म कर्जाको पुनःसंरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था थियो । यसका लागि ऋणीले बक्यौता ब्याजको न्यूनतम १० प्रतिशत ब्याज तिर्नुपर्ने व्यवस्था थियो । यस पटक उक्त सीमा घटाएर ५ प्रतिशतमा झारिएको छ । अर्थतन्त्रका धेरै क्षेत्र सहज बन्दै गए पनि केही क्षेत्र अझै अप्ठ्यारो अवस्थामै रहेकाले ती क्षेत्रका लागि थप सुविधा दिइएको गभर्नर अधिकारीले बताए ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत कोभिड–१९ प्रभावित ऋणीले ६ महिनासम्म ब्याज बक्यौता रहे पनि बैंक तथा वित्तीय संस्थाले धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको थियो । यसअनुसार बैंक तथा वित्तीय संस्थाले २०७८ असारसम्मका लागि कोभिड प्रभावित ऋणीको धितो लिलाम गर्न तथा कालोसूचीमा राख्न पाउँदैनन् ।

समीक्षामार्फत राष्ट्र बैंकले साना लघु जलविद्युत् आयोजनालाई सस्तो दरमा कर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । यसअनुसार १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाहरूको विशेष पुनर्कर्जामा पहुँच पुर्‍याउन आवश्यक व्यवस्था गरिने उल्लेख छ । हाल ती जलविद्युत् आयोजनाले पनि साधारण पुनर्कर्जाअन्तर्गत नै कर्जा पाउँछन् । विशेष पुनर्कर्जाअन्तर्गत प्रवाह हुने कर्जामा बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट बढीमा ३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्छ । यस्तो कर्जा दिने बैंकले राष्ट्र बैंकबाट १ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउँछन् ।

हालको व्यवस्थाअनुसार जलविद्युत् आयोजनाले बैंकबाट ५ प्रतिशतमा कर्जा पाउँदै आएका छन् । मुलुकमा निर्माण हुने साना तथा लघुजलविद्युत् आयोजनालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको गभर्नर अधिकारीले बताए । ‘१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाहरूको विशेष पुनर्कर्जामा पहुँच पुर्‍याउन आवश्यक व्यवस्था गरिनेछ,’ समीक्षामा भनिएको छ ।

विभिन्न प्रयोजनका लागि ऋण धितो मूल्यअनुपात तोकी प्रवाह भएका कर्जामा कोभिडले सिर्जना गरेको असहज परिस्थितिको समयमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको नियामकीय सहजीकरणलाई यथावत् राखिएको राष्ट्र बैंकले बताएको छ । ‘आर्थिक क्रियाकलाप सामान्य हुँदै गएसँगै ऋण धितो मूल्य अनुपातसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । यसको अर्थ सेयर, रियल इस्टेटलगायत क्षेत्रमा प्रवाह हुने कर्जालाई अवस्था हेरेर बिस्तारै कडाइ गरिने भन्ने रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । यसअघि पहिलो त्रैमासिक समीक्षामा ती क्षेत्रमा प्रवाह हुने कर्जामा कडाइ गरिने घोषणा राष्ट्र बैंकले गरे पनि बाह्य दबाबका कारण अझै कार्यान्वयनमा ल्याउन सकेको छैन ।

‘बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्र र वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लक्षित क्षेत्र र वर्गले प्राप्त गरे/नगरेको सम्बन्धमा विशेष अनुगमन गरी उक्त ऋण दुरुपयोग गरेको पाइए सम्बन्धितलाई गरिने कारबाहीलाई थप प्रभावकारी बनाइनेछ,’ समीक्षामा भनिएको छ । राष्ट्र बैंकले यसको अध्ययन सुरु गरिसकेको छ । जसअनुसार सहुलियत ब्याजदरको कर्जा कार्यान्वयन स्थिति र अवस्थाबारे राष्ट्र बैंकले प्रदेशगत रूपमा अनुसन्धान सुरु गरिसकेको छ ।

मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरूप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंकदरलाई यथावत् राखिएको छ । कोभिड–१९ ले सिर्जना गरेको असहज परिस्थितिको समयमा यी दरहरूमा गरिएको समायोजनलाई आर्थिक क्रियाकलाप सामान्य हुँदै गएसँगै पुनरावलोकन गर्ने व्यवस्था गरिने राष्ट्र बैंकले बताएको छ ।

विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गरिने घोषणा पनि समीक्षामा छ । क्यूआर कोडलगायतका विद्युतीय कारोबारको प्रवर्द्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने पनि राष्ट्र बैंकको भनाइ छ । विद्युतीय कारोबारको प्रवर्द्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिने बताइएको छ । विद्युतीय कारोबारसम्बन्धी विभिन्न विज्ञापनका लागि गरिएको खर्च पनि सीएसआरमा गणना गर्न पाइन्छ । आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीको विद्यमान सीमामा आवश्यकतानुसार पुनरावलोकन गरिने पनि राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×