कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५७

घट्न थाल्यो डन्डीको मूल्य, तेलमा छैन सुरसार

सरकारले निर्देशन दिएर मात्र पुग्दैन, उद्योगीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : उपभोक्ता अधिकारकर्मी
राजु चौधरी

काठमाडौँ — खाने तेल र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएका उद्योगीले डन्डीको मूल्य थोरै भए पनि घटाउन थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार मुलुकमा दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योग छन् । तीमध्ये सात उद्योगले मूल्य घटाएको विभागले जनाएको छ । यद्यपि खाने तेल उत्पादन गर्ने उद्योगले भने मूल्य घटाउन आलटाल गरिरहेका छन् । दुई तेल उद्योगबाहेक अन्यले मूल्य घटाएका छैनन् ।

घट्न थाल्यो डन्डीको मूल्य, तेलमा छैन सुरसार

‘डन्डी उद्योगहरूले मूल्य घटाउन सुरु गरेका छन्, तेल उद्योगलाई घटाउन निर्देशन दिएका छौं,’ विभागका प्रवक्ता शिवराज सेढाईंले भने, ‘यद्यपि अनुगमनले मात्रै भाउ घट्दैन । कच्चा पदार्थको मूल्य, भन्सार र न्यून बीजकीकरणको पनि समस्या छ । त्यसले पनि मूल्य बढ्नुमा भूमिका खेलेको छ ।’ कमला रोलिङ मिल्स प्रालि, हुलास वायर ई. लिमिटेड, आरती स्ट्रिप्स प्रालि, पशुपति आइरन, प्रिमियम स्टिल, लक्ष्मी स्टिल र श्री स्टिलले मूल्य घटाएका छन् । यी उद्योगले डन्डीमा प्रतिकिलो ५ देखि १३ रुपैयाँसम्म मूल्य घटाएको विभागले जनाएको छ ।

मोरङमा रहेका कमला रोलिङ मिल्स प्रालिले एक महिनामा फलामे छडको मूल्यमा मोटाइअनुसार प्रतिकिलो ११ देखि १३ रुपैयाँसम्म घटाएको जानकारी गराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर प्रमुख सन्तोष पोखरेलले बताए । मोटाइअनुसार हालको मूल्य प्रतिकिलो ७२ र ६९ रुपैयाँ कायम गरेको विवरण कार्यालयमा बुझाएको उनको भनाइ छ ।

मोरङमै रहेका हुलास र आरतीले पनि प्रतिकिलो ८ रुपैयाँ घटाएका छन् । आरतीले डन्डीको मूल्य प्रतिकिलो ७८ र हुलासले ७२ रुपैयाँ निर्धारण गरेको छ । यसअघि आरतीको मूल्य प्रतिकिलो ८६ र हुलासको ८० रुपैयाँ रहेको पोखरेलले बताए । प्रिमियम स्टिल र पशुपति आइरन स्टिल सुनसरीमा पर्छन् । कार्यालयका अनुसार प्रिमियम स्टिलले डन्डीको मोटाइअनुसार प्रतिकिलो ८ रुपैयाँ घटाएको छ । पशुपति आइरनले बेच्ने डन्डीको मूल्य साइजअनुसार प्रतिकिलो ७७ रुपैयाँसम्म पर्छ । पशुपतिले किलोमा ५ रुपैयाँसम्म घटाएको पोखरेलले जानकारी दिए । ‘अरूको तुलनामा पशुपतिको मूल्य बढी नै छ । तर किन कम घटायो भनेर पत्र काटेका छौं,’ पोखरेलले भने ।

छडको मूल्य वृद्धिको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी, उद्योगी र कार्यालयबीच छलफलसमेत भएको थियो । त्यस क्रममा फलामको कच्चा पदार्थ साविकको तुलनामा प्रतिटन १ सय ४१ डलरले बढेको व्यवसायीको भनाइ छ । ‘त्यही भएर मूल्य बढेको व्यवसायीले जानकारी गराएका थिए । अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेको छ,’ पोखरेलले भने, ‘सोहीअनुसार मूल्य समायोजन गरे/नगरेको थप अध्ययन गर्दै छौं ।’ लक्ष्मी स्टिल र श्री स्टिलले पनि साविक बजार मूल्यमा प्रतिकिलो ४ रुपैयाँ घटाएर ७७ रुपैयाँ निर्धारण गरेको विभागले जनाएको छ ।

विभागले स्टिलको मूल्य घटिरहेको बताए पनि उपभोक्ताकर्मी भने सन्तुष्ट छैनन् । अत्यधिक मूल्य बढाएर नाम मात्रको समायोजन अनुचित भएको उनीहरू बताउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमा बढेको वहानामा मूल्य मनपरी वृद्धि भयो, अहिले किलोको ५ देखि १३ रुपैयाँसम्म मात्रै घटेको छ । केहीले घटाएकै छैनन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘मिलोमतोमा ठगी भएको छ । यस्ता कुरामा अन्य संवैधानिक निकायले पनि हस्तक्षेप गर्नुपर्छ । अख्तियार, सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालय सतर्क हुन जरुरी छ ।’

स्टिल तथा डन्डीमा जस्तै खाने तेलमा पनि समस्या छ । बजारमा भाउ अस्वाभाविक रूपमा अकासिएपछि विभागले उद्योगीहरूसँग कच्चा पदार्थ खरिदको प्रज्ञापनपत्र मगाएर विश्लेषण गरेको थियो । उद्योगीहरूले उपलब्ध गराएको प्रज्ञापनपत्र विश्लेषण गर्दा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको विभागले जनाएको थियो । तर केही प्रज्ञापनपत्रमा घटे पनि यहाँ मूल्य घटाइएको छैन ।

लागत मूल्य र एमआरपीबीचमै धेरै फरक देखिएपछि केही दिनअघि बारास्थित अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीलाई ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको थियो । अन्नपूर्णले अमृत ब्रान्ड र महालक्ष्मीले महालक्ष्मी ब्रान्डकै तेल बिक्री गर्दै आएका छन् । जरिवानामा परेपछि ती दुई तेल उद्योगले सामान्य मूल्य घटाएका छन् । अन्यले भने मूल्य घटाएका छैनन् । तेलको मूल्य नघटेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले दाबी गरे । ‘रिटेलरले बढी तिरेरै किनेका छन्, अहिलेसम्म तेलको भाउ घटेको छैन,’ उनले भने, ‘एमआरपी कम भएको सामान बजारमा आएको छैन । उद्योगीहरूले धेरै घटाए पनि सर्वसाधारणसम्म आइपुग्न दुई–तीन साता लाग्न सक्छ ।’

प्रकाशित : माघ २८, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?