कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा दिनमा सय किलो मार्सी

राजु चौधरी

काठमाडौँ — खाद्य संस्थानले एकताका कर्णालीका उत्पादन सिमी, फापर बेच्दै आएको थियो । बजार भाउभन्दा किलोमै ३०/४० रुपैयाँ सस्तोमा बेचे पनि सर्वसाधारणले यी वस्तुप्रति उति चासो दिएनन् । लिलाम गर्दासमेत बिक्री नहुने अवस्था आएपछि खाद्यले २०७४ यता यी वस्तु किन्न छाडेको थियो । जब कि कर्णालीकै उत्पादन खरिदबिक्रीका लागि सरकारले अनुदानसमेत दिने गरेको थियो ।

उपत्यकामा दिनमा सय किलो मार्सी

खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेपछि कर्णालीको उत्पादनले पुनः प्राथमिकता पाउन थालेको छ । परीक्षणस्वरूप खाद्यले सुर्खेतबाट २ हजार ७ सय किलो मार्सी चामल खरिद गरेर बिक्री गरिरहेको छ । मार्सी चामल खाद्यका थापथलीलगायत आउटलेटमा राखिएको छ । ‘बजार बुस्ट गर्न नेपाल फुड ब्रान्डमा बिक्री थालेका हौं,’ कम्पनीका एक अधिकारीले भने, ‘मार्सी चामलको प्रतिक्रिया सकारात्मक आएको छ । ट्रायलमा पास भएका छौं । बिक्री परिमाणबाट उत्साहित पनि छौं,’ उनले भने ।

माघ १५ देखि बिक्री थालेको खाद्यले बिहीबारसम्म ७ सय ९५ केजी मार्सी चामल बेचिसकेको छ । बिहीबार बन्द हडतालकै दिन पनि ७४ किलो बिक्री गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । ‘दैनिक करिब १ सय किलोका दरले बिक्री भइरहेको छ । अहिलेसम्म ७ सय ९५ किलो बिक्री भइसकेको छ,’ उनले भनिन्, ‘सुरुकै दिनदेखि बिक्री उत्साहजनक छ ।’

कम्पनीले थापाथली, नख्खु, रामशाहपथलगायत आउटलेटबाट मार्सी चामल बेचिरहेको छ । मूल्य प्रतिकिलो २ सय २५ रुपैयाँको तोकिएको छ । कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले पनि उपत्यकाबासीले मार्सी चामल अति रुचाएको प्रतिक्रिया दिए । यसको थप बजारीकरणका लागि जुम्लाबाट मार्सी धान खरिद प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए । ‘किसानले आइतबार मात्रै ६० क्विन्टल धान ल्याएका थिए, त्यो किनिसकेका छौं,’ थापाले भने, ‘थप खरिद र गुणस्तर पहिचान गर्न नेपालगन्जबाट प्राविधिक टोली जुम्ला जाँदै छ । त्यसपछि धान खरिदलाई तीव्रता दिन्छौं ।’

खाद्यले धान खरिद गर्नकै लागि प्राथमिक खरिद समितिसमेत गठन गरेको छ । समितिको अध्यक्षमा सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारी रहन्छन् । सदस्यमा खाद्य कम्पनी, कृषि ज्ञान केन्द्र र कृषि कार्यालयले तोकेको किसान हुन्छन् । टोलीले स्थानीय उत्पादन, बजार मूल्य र सीमावर्ती मूल्य विश्लेषण गरेर उचित मूल्य तोक्ने गरेको छ । समितिले जुम्लाको मार्सी धानको मूल्य प्रतिकिलो १ सय २ रुपैयाँ ५० पैसा तोकिसकेको छ । ‘प्राविधिक टोलीले धानको गुणस्तरलगायत सम्पूर्ण पक्ष हेर्छ । त्यसपछि प्राविधिककै रोहवरमा खरिद हुन्छ,’ थापाले भने, ‘त्यसरी किनिएको धान प्रशोधन गरी सस्तो दरमा चामल बनाएर बेच्छौं ।’

खाद्यले चालु आर्थिक वर्षमा जुम्लाबाट तीन हजार क्विन्टल धान किन्ने लक्ष्य निर्धारण गरेको छ । त्यसपछि प्रशोधन गरेर चामल बनाउनेछ । ‘जुम्लाबाट धानलाई नै जोड दिएका छौं । धान खरिद गर्दा चामलको मूल्य थप घट्न सक्छ,’ थापाले भने । खाद्यले बेचिरहेको मार्सी चामलको मूल्य बजारभाउभन्दा सस्तो रहेको कम्पनीको दाबी छ । अब मार्सीसँगै गेडागुडी पनि खरिद गर्ने कम्पनीले जनाएको छ । यसले किसानलाई थप प्रोत्साहन मिल्ने खाद्यको दाबी छ ।

हाल खाद्य कम्पनीले कर्णालीकै सिमी प्रतिकिलो १ सय २० रुपैयाँमा बेचिरहेको छ । थप बजारीकरण गर्न तत्काल दुई सय क्विन्टल सिमी खरिद गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । जिल्लामै रहेको मूल्य निर्धारण समितिले सिमीको खरिद मूल्य १ सय ४३ रुपैयाँ ७५ पैसा तोकेको छ । उक्त मूल्यमा ढुवानी, लोडअनलोड, प्याकेजिङसहित गरेर बजारभाउभन्दा सस्तोमै बिक्री गरिने थापाले जानकारी दिए । दैलेखबाट भटमास पनि किनेर बेच्ने योजना रहेको उनले बताए ।

प्रकाशित : माघ २३, २०७७ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?