कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बनेको तीन महिनामा प्रसारण लाइन उद्घाटन

विजय तिमल्सिना

काठमाडौँ — निर्माण सकिएर चार्ज भएको तीन महिनापछि नेपालको पहिलो ४०० केभी क्षमताको सबस्टेसन उद्घाटन गरिएको छ । धनुषाको ढल्केबरमा निर्मित ४०० र २२० केभी ढल्केवर सबस्टेसनको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरे । यो स्टेसन कात्तिक २६ मा चार्ज भई चालु अवस्थामा छ ।

बनेको तीन महिनामा प्रसारण लाइन उद्घाटन

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १ हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने पूर्वाधार तयार भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ४०० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा पावर ट्रान्सफर्मर छन् । तिनको क्षमता ९४५ एमभीए छ । यसैगरी, २२० केभी सबस्टेसनमा रहेका तीनवटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए रहेको प्राधिकरणले बताएको छ । निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइनको निर्माण पूरा भएपछि यही सबस्टेसनमार्फत २ हजार मेगावाट विद्युत् हेटौंडा र २ हजार मेगावाट विद्युत् इनरुवातर्फ पठाउन सकिने प्राधिकरणको भनाइ छ । देशभित्रको प्रसारण प्रणाली सुदृढीकरण र भारतसँगको विद्युत् व्यापारका लागि यो सबस्टेसन निर्माण गरिएको हो ।

ग्यास इन्सुलेटेड सिस्टम (जीआईएस) मा आधारित सबस्टेसनमार्फत ९ सय मेगावाट विद्युत् ४०० र २२० केभीमा आदानप्रदान गर्न सकिने प्राधिकरणका निमित्त कार्यकारी निर्देशन हितेन्द्रदेव शाक्यले जानकारी दिए । ‘ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत अब भारतसँग १ हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिनेछ,’ उनले भने ।

साथै निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको काम पूरा भएपछि हेटौंडा र इनरुवा दुवैतर्फ २ हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिने उनको भनाइ छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन १३२ केभीमा मात्रै सञ्चालनमा छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पुर्‍याइनेछ । माथिल्लो तामाकोसीको पहिलो युनिटबाट चैतभित्र विद्युत् उत्पादन थाल्ने गरी काम भइरहेको छ । माथिल्लो तामाकोसीलगायत आयोजनाबाट ढल्केबर आइपुगेको बिजुलीलाई यही सबस्टेसनमार्फत मुलुकको पूर्व र पश्चिम क्षेत्रमा पठाउन मिल्नेछ ।

माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको पूर्व–पश्चिम प्रसारण लाइनमार्फत पूर्व र पश्चिम क्षेत्रमा ३ सय मेगावाटसम्म वितरण गर्न सकिनेछ । बाँकी विद्युत् अन्तरदेशीय प्रसारण लाइनमार्फत भारततर्फ पठाउन सकिने प्राधिकरणको अनुमान छ । आयोजना निर्माणका लागि ८ डिसेम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । आयोजना सम्पन्न गर्न १ करोड ७७ लाख अमेरिकी डलर र २२ करोड नेपाली रुपैयाँ गरी २ अर्ब २० करोड रुपैयाँ खर्च भएको शाक्यले जानकारी दिए । भविष्यमा थप विस्तार गर्दै जान सकिने गरी सबस्टेसन निर्माण गरिएको उनी बताउँछन् । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि ढल्केबर सबस्टेसनमै प्राप्त गर्ने प्रावधान रहेको उनको भनाइ छ ।

नेपालकै पहिलो ४०० केभीको सबस्टेसन भए पनि यसको डिजाइन र निर्माणको सुपरिवेक्षण नेपाली इन्जिनियरहरूले गरेका हुन् । आयोजना निर्माण सकिएसँगै नेपाली इन्जिनियरको क्षमता पनि पुष्टि भएको शाक्यको दाबी छ । सबस्टेसन उद्घाटनका अवसरमा प्रधानमन्त्री ओलीले आगामी वर्षदेखि विद्युत् आयात गर्न नपर्ने दाबी गरे । त्यसको अर्को वर्षदेखि विद्युत् निर्यात थाल्ने उनको भनाइ छ । सबस्टेसन निर्माणले ऊर्जा निर्यातको पूर्वाधार तयार भएको उनले बताए ।

प्रकाशित : माघ २०, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?