कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर कारोबार रकममा कीर्तिमान

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ५०.२० अंकले बढेर २ हजार ४ सय २४.८४ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

सेयर कारोबार रकममा कीर्तिमान

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.११ प्रतिशतले बढी हो । सो दिन कारोबार रकमले पनि कीर्तिमानी बनाएको छ । आइतबार ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो पनि हालसम्मकै उच्च हो । यसअघि गत मंसिर १४ मा एकै दिन ९ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

पछिल्ला साता लगातारजसो नेप्से बढिरहेको छ । सोही क्रममा आइतबार २ हजार ४ सय २५ बिन्दु नजिक पुगेको हो । नेप्से उच्च अंकले बढेकाले सबैतिर उत्साह देखिए पनि बजारको प्रवृत्ति शंकास्पद रहेको जानकारहरू बताउँछन् । बजार पर्याप्त करेक्सनबिना उच्च अंकले बढिरहेकाले सोही अनुपातमा गिरावटको सम्भावना रहेको विज्ञहरू बताउँछन् । सोही कारण संयमित भएर लगानी गर्न विज्ञहरूको सुझाव छ । आइतबार करिब ७९ हजार वटा कारोबारबाट २ सय ७ वटा कम्पनीका १ करोड ९३ लाख ७९ हजार कित्ता सेयर किनबेच भए । नेप्सेको वर्गीकरणमा क वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.४५ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १.८१ प्रतिशतले बढे । नेप्से परिसूचक बढेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि ३२ खर्ब ६६ अर्ब रुपैयाँ कायम भएको छ ।

सो दिन कारोबारमा आएकामध्ये व्यापारबाहेकका सबैको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले बढेको हो । सो दिन अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.६९ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक भने २.४७ प्रतिशतले घट्यो । आइतबार जलविद्युत् समूहको परिसूचक २.७२, लघुवित्तको २.५६, निर्जीवन बिमाको १.९३, बैंकिङको १.२४, वित्त कम्पनीको १.२२, होटलको १.२१, जीवन बिमाको ०.९९, उत्पादन तथा प्रशोधनको ०.८६ र विकास बैंकको ०.८१ प्रतिशतले बढे ।

प्रकाशित : माघ १२, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?