१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

वैद्यखानाको उत्पादन सुस्त

ठेकेदारले कच्चा पदार्थ नल्याइदिँदा कम्पनीले लक्ष्यअनुसार उत्पादन गर्न सकेन
प्रशान्त माली

काठमाडौँ — ललितपुरको सानेपाका ७८ वर्षीय नानीकाजी विष्ट सुगरका बिरामी हुन् । उनले सिंहदरबार वैद्यखानाबाट उत्पादित सुगर फ्री च्यवनप्राश तीन वर्षदेखि सेवन गर्दै आएका छन् । च्यवनप्राश किन्न भनेर सोमबार उनी कुमारीपाटी, लगनखेल, मंगलबजारका सबैजसो आयुर्वेद पसल चहारे । कतै नपाएपछि वैद्यखानाको सिंहदरबारस्थित काउन्टरमै पुग्नुपरेको उनले बताए ।

वैद्यखानाको उत्पादन सुस्त

बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारका ६० वर्षीय सागर बस्नेतले पनि १५ वर्षदेखि वैद्यखानाबाट उत्पादित सिलाजित सेवन गर्दै आएका छन् । सिलाजितले पिसाब नलीमा हुने खराबी हटाउने गरेको उनको अनुभव छ । उनले पनि सिलाजित किन्न पुतलीसडक र अनामनगरका आयुर्वेदिक पसल धाए । कतै नपाएपछि वैद्यखानाकै काउन्टर पुग्नुपरेको उनको पनि गुनासो छ ।

च्यवनप्राश र सिलाजित वैद्यखानको सबभन्दा पुराना उत्पादनमध्ये हुन् । वैद्यखानाबाट उत्पादन हुने च्यवनप्राशमा यार्चागुम्बु, पाँचऔंले, केसरजस्ता दुर्लभ बहुमूल्य जडीबुटीको मिश्रण हुने बताइन्छ । यसले पनि वैद्यखानाको च्यवनप्राशको माग बजारमा उच्च छ । कोभिड–१९ महामारीका कारण यसको माग झन् चुलिएको छ । यद्यपि वैद्यखानाले पर्याप्त मात्रामा उत्पादन गर्न सकेको छैन । सर्वसाधारण मात्र नभई वैद्यखानाका डिलरले पनि यहाँका उत्पादन पर्याप्त नपाएको गुनासो गरेका छन् ।

तारा आयुर्वेद सप्लायर्स थसिखेलले १० केस च्यवनप्राश मागेको साता दिन बित्यो । अहिलेसम्म प्राप्त गर्न सकेको छैन । ताराले मात्र नभई अन्य कम्पनी पनि दैनिक आउने ग्राहकलाई रित्तै फर्काउनुपरेको बताएका छन् । ‘वैद्यखानाको उत्पादन अन्य कम्पनीको भन्दा झन्डै दोब्बर महँगो पर्छ । अन्य कम्पनीको एक किलोको ५ सय ४० पर्छ,’ आयुर्वेद सप्लायर्स थसिखेलका सञ्चालक विश्वराज घिमिरेले भने, ‘वैद्यखानाको भने आधा किलोकै ४ सय ५० पर्छ । सुगर फ्री च्यवनप्राश त झन् आधा किलोकै ६ सय ५० रुपैयाँ पर्छ ।’

वैद्यखानाले आफ्ना उत्पादनको गुणस्तरमा खेलबाड नगर्ने र बहुमूल्य जडीबुटी मिसाउने भएकाले यसको माग उच्च भएको घिमिरेले बताए । ‘अहिले जति उत्पादन गरे पनि बिक्री हुन्छ,’ उनले भने ।

सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले भने यस वर्ष कमै मात्रामा उत्पादन गर्ने लक्ष्य रहेको दाबी गरे । ‘पटकपटक ताकेता गर्दा बल्ल ठेकेदार सम्पर्कमा आएको छ । तैपनि सम्झौताअनुसार च्यवनप्राश बनाउन उपलब्ध गराउनुपर्ने अमलाजस्ता कच्चा पदार्थ पूरा पठाएको छैन,’ उनले भने, ‘ठेकेदारले समयमा कच्चा पदार्थ नझारेपछि बाहिरबाट अमला खरिद गरेर उत्पादन थालेका छौं ।’

अहिले दैनिक च्यवनप्राश उत्पादन भइरहेको र बजारमा पनि पठाइरहेको उनको दाबी छ । अमलाबाहेक च्यवनप्राश बनाउन मह, दालचिनी, सुकुमेल, त्रिकुटजस्ता कच्चा पदार्थ आवश्यक पर्छन् । कृष्णा ट्रेडर्सले गत वर्ष माघमा यी कच्चा पदार्थ यस वर्षको माघभित्र ल्याउने गरी २० लाख रुपैयाँमा ठेक्का पाएको थियो । न्यु लक्ष्मी ट्रेडर्सले गत चैतमा १ करोड रुपैयाँमा एक वर्षभित्र च्यवनप्राशबाहेक अन्य कब्जियत, पिसाब पोल्ने, पाइल्स, दम, खोकी, पत्थरी, ग्यास्ट्रिक, अल्सरजस्ता रोगका औषधि उत्पादन गर्न आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने सम्झौता गरेको थियो । न्युलक्ष्मीले सामान पठाइरहेको खरेलले बताए ।

कृष्णा ट्रेडर्डका सञ्चालक जयकृष्ण मिश्रले ५/६ सय केजी अमला उपलब्ध गराउन बाँकी रहेको स्विकारे । ‘सम्झौताअनुसार आठ हजार किलो जडीबुटी पुर्‍याउनुपर्ने थियो,’ उनले भने । यस वर्ष च्यवनप्राश, सिलाजितलगायत औषधि ९ करोड बराबरको बिक्री गर्ने वैद्यखानाको लक्ष्य थियो । तर हालसम्म च्यवनप्राश साढे २ करोडको पनि बेच्न सकेको छैन ।

प्रकाशित : माघ ११, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?