कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्मिनासाथ छोरीको बिमा

हरि गौतम

रुकुम पूर्व — यहाँको सिस्ने गाउँपालिकामा अब छोरी जन्मिनासाथ बिमा गरिने भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा जन्मने छोरीको बिमा गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा जन्मिसकेकाको पनि बिमा हुने गाउँपालिकाले जनाएको छ ।

जन्मिनासाथ छोरीको बिमा

सिस्ने गाउँकार्यपालिकाको ५८औं बैठकले पारित गरेको यो निर्णय गाउँसभाको हिउँदे अधिवेशनबाट पनि अनुमोदन भइसकेको छ । बैंकमा खाता खोलेर हरेक छोरीको नाममा ५/५ हजार रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ । गाउँपालिकाले छोरीको बिमा गर्न आवश्यक प्रक्रियामा जान सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ । तोकिएको मापदण्ड पूरा गरेर वडा कार्यालयमार्फत गाउँपालिकामा आएर छोरीको बिमा गरिदिन गाउँलेलाई सूचित गरेको हो । स्वास्थ्य, सचेतना, जागरणका लागि छोरी बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । यसबाट रूपान्तरणको अभियान सुरु भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । ‘आमा र बच्चाको स्वास्थ्य सुरक्षा र जनचेतना बढाउने हाम्रो उद्देश्य हो,’ उनले भनिन्, ‘व्यावहारिक रूपमा कार्यान्वयन गर्दा मान्छेमा चेतना बढ्ला र व्यावहारिक बन्ने वातावरण बन्ला भन्ने अपेक्षा छ ।’

छोरी बिमा कार्यक्रमबाट छोरीको सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ । कम उमेरमै बिहे नगरून्, पढाइ पूरा गर्न सकून् र सरकारी निकायमा दर्ता कार्यका सम्पूर्ण कुरा पूरा होऊन् भन्ने उद्देश्य पनि राखिएको अध्यक्ष बरालले बताइन् । पर्चा, पम्प्लेट र अरू अभियानका साथै बिमा अभियान पनि छोरीको पढाइ सुरक्षा, जीवन सुरक्षामा प्रतिविम्बित भएको उनको भनाइ छ ।

गाउँपालिकाले छोरीको बिमा प्राप्त गर्न निश्चित प्रक्रिया भने तोकेको छ । छोरी गर्भमा रहँदा आमाले चार पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै बच्चा जन्माएको र जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्नेछ ।

सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिसमा छोरी बिमाका लागि गाउँपालिकाले नै खाता खोलिदिनेछ । यो खाता मुद्दती हुनेछ । छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्ने पाउनेछन् । त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको हुनुपर्ने, पढाइ नछाडेको हुनुपर्नेछ । यति भएपछि २० वर्षपछि उक्त रकम त्यो छोरीले निकालेर आफैं चलाउन पाउने गरी कार्यविधि बनाइएको छ । चालु आर्थिक वर्षमा बिमाका लागि ५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । यसले मात्रै नपुग्ने अवस्थामा थप बजेट व्यवस्थापन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताए । ‘पहिलो चरणमा यो बजेट पर्याप्त होला भन्ने अनुमान गरिएको छ,’ उनले भने, ‘नपुग्ने अवस्थामा बजेट अभाव हुने छैन ।’

प्रकाशित : माघ १०, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?