कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अलैंची खेतीबाट मनग्गे

अन्य खेतीबाट आम्दानी गर्न नसकेका किसानले अलैंचीबाट लाखौं कमाए
माधव अर्याल

काठमाडौँ — निस्दी गाउँपालिका–३ झिरुबास खाँदरका तुलबहादुर बयम्बूले २५ रोपनी क्षेत्रफलमा अलैंची लगाएका छन् । मकै र अम्लिसो खेती गर्ने बारीमा अलैंची हुर्केपछि उनले व्यावसायिक रूपमै लगाएका हुन् । ‘धेरै वर्षअघि इलाम घुम्न जाँदा ल्याएको बिरुवा हुर्केपछि यसमा जोसजाँगर चलेको हो,’ उनले भने, ‘हाम्रो भूगोलमा हुन्छ जस्तो लागेको थियो । साँच्चिकै राम्रो भएको छ ।’

अलैंची खेतीबाट मनग्गे

बयम्बूले यस वर्ष १० क्विन्टलभन्दा बढी उत्पादन गरेका छन् । उनले प्रतिकिलो ५ देखि ६ सय रुपैयाँमा अलैंची बिक्री गरे । केही अलैंची अझै बाँकी छ । अन्य खेतीबाट भन्दा अलैंची खेतीबाट चार गुणा फाइदा भएको उनले सुनाए । ‘२० वर्षअघि अलैंची लगाएको भन्ने सुनेको थिएँ,’ उनले भने, ‘अहिले यसबारे अध्ययन गरेपछि भने राम्रो लागेको छ ।’ निस्दीको झिरुबासबाट मात्रै २५ क्विन्टलभन्दा बढी अलैंची बिक्रीका लागि तयारी अवस्थामा छ । कम्तीमा ५ सय रुपैयाँ प्रतिकिलोमा अलैंची बिक्री भएको उनले बताए । गाउँपालिकाले पनि अघिल्लो वर्ष अलैंचीका बिरुवामा सहयोग गरेको थियो ।

कृषि शाखा प्रमुख खिमराज कोइरालाका अनुसार नवलपरासी पूर्वको अरुणखोलाका व्यापारीले अलैंची खरिद गरेका छन् । बजारको अवस्था जानकारी नभएकाले यस वर्ष किसानले थोरै मात्र लगाए । ‘अब किसानलाई व्यावसायिक रूपमै खेती गर्न सहज भएको छ,’ उनले भने, ‘एक जनाले व्यावसायिक खेती गर्दा बिक्रीमा समस्या नभएपछि आगामी वर्षमा अझ धेरैले लगाउने योजना बनाएका छन् ।’

झिरुबासमा मात्रै ३० भन्दा बढी घरपरिवारले अलैंचीको व्यावसायिक खेती गर्ने योजना बनाएका छन् । अहिले ७५ घरमै धेरैथोरै अलैंची फलेको छ । अलैंचीको सम्भावना देखिएपछि गाउँपालिकाले पनि सहयोग गर्दै आएको उनले बताए । पाँच वर्षअघि कबुलियती वन कार्यक्रमले खाँदरसँगै झिरुबासका लाभेत, झिरुदीलगायत गाउँमा बिरुवा विस्तार गरेको थियो । काउले डाँडामा कबुलियती वनको पहलमा दुई वर्षअघि खाँदरको समूहलाई अलैंचीका बिरुवा वितरण गरिएको थियो ।

अलैंची खेती सुरु गरेका खाँदरका युवा यमबहादुर सोमैले यसको विस्तार हुँदै गएको सुनाए । ‘यहाँ राम्रो हुने देखेर अलैंचीका बिरुवा लगाएको छु,’ उनले भने, ‘उत्तर फर्केको जमिनमा सफल हुने देखेको छु ।’ प्रायले कम्तीमा दुई र बढीमा १२ रोपनीसम्म अलैंची लगाएका छन् । निस्दीको कृषि शाखाले गत आर्थिक वर्षमा ५ हजार अलैंचीका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । निस्दीले पकेट क्षेत्रका रूपमा समेत झिरुबासलाई अगाडि बढाएको छ । अलैंचीका बिरुवा लमजुङको भोटेओढारबाट खरिद गरेर ल्याइएको हो । झिरुबासको खाँदरमा १४ हजार बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले जानकारी दिए । बिरुवासँगै किसानलाई सात प्लास्टिक स्प्रेयर, १० किलो फंगिसाइड र ७५ वटा अलैंचीका फल काट्ने स्प्रेयर दिइएको हो ।

यसअघि जिल्लाको मित्याल, कसेनी, कोलडाँडा, भैरवस्थान, ठिमुरेमा पनि अलैंची खेती गरिन्थ्यो । मुख्य आम्दानीको स्रोत रहेको अलैंची खेतीमा रोग लाग्दा यसको विस्तार गर्न छाडेका थिए । रोगको निदान गर्न दक्ष प्राविधिक नहुँदा खेती हराउँदै गएको हो । यसमा कृषि ज्ञान केन्द्रमा समेत कति किसानले खेती गर्थे भन्ने तथ्यांक छैन । अलैंची लगाएको तीन वर्षदेखि नै आम्दानी लिन सकिन्छ ।

नगदेबालीका रूपमा स्थापित मसलाजन्य अलैंची खेतीमा बोटको गानो कुहिने र पातमा दाग देखा पर्ने रोग लागेपछि हराएरै गएको भैरवस्थानका किसान तेजबहादुर पोखरेलले बताए । निस्दी गाउँपालिकाको झिरुबासको लावेद, खाँदर, सहलकोटमा किसानले अलैंची लगाएका छन् । यस वर्ष रैनादेवी छहरा गाउँपालिकाको बल्ढेङढीमा पनि उनीहरूले अलैंची खेती सुरु गरेका छन् । १ सय ६० रोपनी क्षेत्रफलमा अलैंची लगाएको डिभिजन वनअन्तर्गत कबुलियती वन कार्यक्रमले जनाएको छ ।

पाल्पाका धेरै स्थानमा अलैंची खेतीको राम्रो सम्भावना छ । किसानलाई अलैंची खेतीसम्बन्धी पर्याप्त प्राविधिक ज्ञान छैन । जसले गर्दा अलैंचीको व्यावसायिक खेती हुन सकेको थिएन । अलैंची खेतीका विषयमा प्राविधिक नभएकाले उत्पादन पनि नबढेको डिभिजन वनका सूचना अधिकारी यमलाल पोखरेलले बताए । यसअघि झिरुबास, मित्याल, कसेनी, भैरवस्थान, ठिमुरेमा अलैंची खेती गर्थे । तर प्राविधिक ज्ञान नभएकाले अलैंची खेती मासिँदै गएको हो ।

प्रकाशित : माघ ४, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?