कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘पूर्वाधार र गुणस्तरीय इन्धन आपूर्तिमा आयल निगमको जोड’

निगमले माग हेरेर इन्धन भण्डारणलाई पनि प्राथमिकता दिएको बताएको छ

काठमाडौँ — नेपाल आयल निगम आफ्नो सेवाको ५० वर्ष पूरा गरी ५१औं वर्षमा प्रवेश गरेको छ । पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार प्राप्त नाफामूलक व्यावसायिक यो संस्थाले गुणस्तरीय पेट्रोलियम पदार्थको आपूर्तिमा जोड दिइएको जनाएको छ । मागलाई दृष्टिगत गरी इन्धन भण्डारण र भौतिक पूर्वाधार निर्माण पनि प्राथमिकतामा राखिएको निगमको भनाइ छ । 

‘पूर्वाधार र गुणस्तरीय इन्धन आपूर्तिमा आयल निगमको जोड’

‘नेपाली जनताको जीवन सहज बनाउनु निगमको प्रमुख लक्ष्य हो । पूर्वाधारमा भइरहेको तीव्र विकासले पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अंकका दरले बढिरहेको छ । माग र आपूर्तिबीच तालमेल कायम गर्न सञ्चयका लागि भण्डारण विस्तार तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्दै जाने नीति लिएका छौं,’ आइतबार ५१औं वार्षिकोत्सव कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने ।

निगमले गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नम्बर प्रादेशिक कार्यालय अमलेखगन्जमा भण्डारण गृह निर्माण गरिरहेको छ । झापा एवं धनुषामा ग्याास बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगन्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगन्ज र धनगढीमा भण्डारण क्षमता अभिवृद्धि गर्न जग्गा प्राप्तिजस्ता काम सुरु गरिएको पौडेलले जानकारी दिए । सञ्चालनमा रहेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोलसमेत आयात गर्ने प्रक्रिया थालिएको उनले बताए ।

प्रविधिमैत्री कार्यप्रणालीको विकासमा जोड दिइएको, कागजविहीन कार्यालय सञ्चालन, प्रत्यक्ष गुनासो व्यवस्थापन, कार्यप्रणालीमा पारदर्शिता र सूचनामा सरोकारवालाको पहुँच अभिवृद्धि गर्दै सुशासन कायम गर्ने प्रयास पनि गरिएको पौडेलले जनाए । मेकानिकल लकिङबाट डिजिटल लकिङ, ट्यांक–ट्रकहरूको नियमित अनुगमन र डिलरहरूको डिजिटल नक्सांकन गर्ने काम सुरु गरिएको उनले बताए ।

कमिसन नबढाए इन्धनमा प्रतिलिटर ५० पैसा बढाउने चेतावनी

यसैबीच पेट्रोलियम व्यवसायीलले पेट्रोलियम पदार्थको कारोबार गरेबापत पाइने कमिसन बढाउन माग गरेका छन् । लागत खर्च, व्यवसाय सञ्चालन खर्च, कानुनअनुसार व्यवस्था गरिएको मजदुरको सेवासुविधा खर्च र हालको मुद्रास्फीतिलगायतलाई दृष्टिगत गरी व्यवसायीको नाफा बढाउन नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले माग गरेको हो ।

पूर्वाधार स्तरोन्नति खर्च, बैंक ब्याजदर एवं राजस्वका दरहरूलाई हेर्दै औसत कमिसन पेट्रोलमा ३ दशमवल ३९ प्रतिशत र डिजेलमा ३ दशमलव १२ प्रतिशत उपलब्ध गराउनुपर्ने एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले कमिसन नबढाए माघ १ देखि बिक्री मूल्यमा प्रतिलिटर ५० पैसाका दरले बढाएर लिने चेतावनीसमेत एसोसिएसनको छ ।

‘तीन वर्षअघि विज्ञ समूहले अध्ययन गरेर गरेको सिफारिसअनुसार निगमले व्यवसायीको कमिसन थप नगरेको र पछिल्लो समय कोभिड–१९ का कारण व्यवसाय थप धराशायी भएको छ । तीन वर्षपहिले नै सिफारिस उक्त प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ । उपभोक्तालाई थप भार नपर्ने गरी निगमको सञ्चित कोषबाट व्यवस्थापन गर्दै शीघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘माघ १ सम्म माग पूरा नभए व्यवसायीले साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ५० पैसाका दरले बढाएर बिक्री गर्ने जानकारी गराउँछौं ।’

यसैबीच निगमको वार्षिकोत्सवका अवसरमा इन्जिनियर प्रदीप यादव ‘सुवर्णशमशेर पुरस्कार’बाट सम्मानित भएका छन् । उनले निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगन्जमा रहेर समयअगावै मोतीहारी–अमलखेगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित : पुस २७, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?