कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरि बन्द हुँदै तातोपानी नाका

आगामी माघ ७ गतेदेखि २० दिन बन्द हुने
अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोशी गाउँपालिका–२ तातोपानी क्षेत्रबाट चीन जोड्ने उत्तरी तातोपानी नाका फेरि बन्द हुने भएको छ । भोटेकोसी नदीले क्षतिग्रस्त नेपाल चीन नाका मितेरी पुलको जगको संरचना मर्मतसंम्भार गर्न एकतर्फी आयातको रुपमा चल्दै आएको तातोपानी नाका आगामी (जनवरी २०) माघ ७ गतेदेखि २० दिनसम्म बन्द हुन लागेको हो ।

फेरि बन्द हुँदै तातोपानी नाका

बर्खे बाढी र तिब्बतको न्यालमक्षेत्रमा रहेका केही तालबाट पोखिएर आएको पानी मिसिएको भोटेकोशीले मितेरी पुलको जग र अन्य संरचनामा केही क्षति पुर्‍याएको थियो । चीनको खासास्थित ‘तिब्बती डिर्पाटमेन्ट अफ कमर्स फरेन ट्रेड’का अनुसार बाढीले मितेरी पुलको ध्वस्त जगलाई २० दिनभित्र बलियो बनाएपछि मात्रै नाकालाई खुला गरिनेछ । त्यही सन्देशअनुरुप जाङ्मु पोर्ट म्यानेजमेन्ट कमिटीले नेपाल र चीनका व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गराइसकेको उल्लेख गरे । पुल मर्मतपछि तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले २० दिनभन्दा बढी बन्द हुनेसक्ने चिनियाँ पक्षबाट अनुमान गरिएको छ ।

भूकम्प र भोटेकोशी बाढीले ध्वस्त बनाएको मितेरी पुललाई चिनियाँ कम्पनी ताइन सुन रोड एण्ड ब्रिज कम्पनीले वर्षदिन लगाएर ठड्याएको थियो । मितेरी पुलबाहेक बर्खाले क्षतविक्षत कोदारी राजमार्ग (२६ किलोमिटर) मा मापदण्डविपरित अत्यधिक तौलमा ४० फिटको चिनियाँ कन्टेनरबाट सामाग्री आयात गरिएको व्यवसायी र कन्टेनरले आरोप लगाउँदै आएका छन् ।

नाका पुन: बन्द गरिने बारे आधिकारिक चिनियाँ पक्षबाट प्रशासनिक रुपमा पत्र नआएपनि तातोपानी नाका बन्द हुने बारेमा अन्य अनौपचारिक खबर पाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘यसबारेमा प्रशासनिक, सुरक्षाकर्मी, प्रतिनिधिबीच छलफल बाँकी छन्, तैपनि व्यापारिक रुपमा सूचना आएको केही खबर पाएका छौं,’उनले भने । तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल मर्मतसंम्भारको लागि भनेर चीनले नाकालाई आगामी जनवरी २० देखि २० दिनसम्म नाकालाई बन्द गराइने मौखिक सूचना पाएको बताए । ‘खासा र न्यालममा अलमलिएका सामान नेपाल भित्राइसकेपछि पुल मर्मत थाल्ने चीन पक्षले योजना बनाएको छ, यसबारे आधिकारिक पत्र भने पठाइसकेको छैन्,’उनले भने ।

प्रकाशित : पुस २४, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?