कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत्‌को उच्च माग १५ सय मेगावाट नजिक

भारतबाट सय मेगावाट आयात बढाउन सकिने गरी पूर्वाधार थपियो
विजय तिमल्सिना

काठमाडौँ — जाडो बढेसँगै विद्युत्‌को उच्च माग करिब १ हजार ५ सय मेगावाट नजिक पुगेको छ । पानी परेर जाडो थप बढे उच्च माग अझै बढ्ने प्राधिकरणको अनुमान छ ।

विद्युत्‌को उच्च माग १५ सय मेगावाट नजिक

उच्च माग धान्न भारतबाट आयात गर्ने विद्युत्‌को परिमाण बढाउनुपरे तयारीस्वरूप पूर्वाधार स्तरोन्नति गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । उनका अनुसार आइतबार विद्युत्को उच्च माग १ हजार ४ सय ६६ मेगावाट पुगेको थियो भने शनिबार १ हजार ४ सय ५७ थियो । गत वर्ष यही समयमा विद्युत्को उच्च माग १ हजार २ सय ८६ मेगावाट रहेको उनले बताए ।

विद्युत्‌को उच्च माग थप बढ्न सक्ने भन्दै प्राधिकरण तयारी अवस्थामा रहेको र आयातित विद्युत्‌को परिमाण बढाउन पूर्वाधार तयार पारिएको उनको तिम्सिनाको भनाइ छ । अहिले भारतबाट दैनिक ६ सय २० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ । विद्युत्‌को माग बढे थप एक सय मेगावाट आयात बढाउन सकिने गरी आइतबार राति ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मर थपेर चार्ज गरिएको तिम्सिनाले जानकारी दिए ।

टनकपुरबाट नेपालले निःशुल्क पाउने विद्युत्को परिमाण पनि आवश्यक पर्दा ७० मेगावाटसम्म ल्याउन सक्ने गरी सबस्टेसनको क्षमता अभिवृद्धि गर्ने काम भइरहेको उनले बताए । हाल नेपालले यहाँबाट ५० मेगावाट हाराहारीमा विद्युत् आयात गरिरहेको छ । प्राधिकरणले धनुषास्थित ढल्केबर सबस्टेसनमा २२०/१३२, ३१५ एमभीए क्षमताको ट्रान्सफर्मर थपेर आइतबार राति चार्ज गरेपछि भारतबाट आवश्यक पर्दा थप एक सय मेगावाट विद्युत् आयात गर्ने पूर्वाधार तयार भएको हो ।

अहिले ढल्केबर सबस्टेसनमा २२०/१३२ केभीका दुई ट्रान्सफर्मर सञ्चालनमा छन् । तिनको क्षमता ३२० एमभीए थियो । क्षमता अभिवृद्धिसँगै अब सबस्टेसनको क्षमता ६३५ एमभीए पुगेको छ । ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गर्न लागिएको ३१५ एमभीएका दुई ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरिएको हो । बाँकी एउटा ट्रान्सफर्मर जडानको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

नेपालकै ठूलो ढल्केबर सबस्टेसनको क्षमता बढाएसँगै आयात र नेपालमा बढी भएको विद्युत् भारत पठाउने पूर्वाधारको क्षमता पनि वृद्धि भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बताउँछन् । केही महिनाअघि सञ्चालनमा आएको ४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा गरी ९४५ एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत् प्रसारण गर्न सक्छन् ।

अहिले ढल्केबर मुजफ्फरपुरबाट २ सय ७० मेगावाट हाराहारीमा विद्युत् आयात भइरहेको छ । प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५०, डिसेम्बर–अप्रिलमा ३५० सम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिदबिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म छ ।

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भइसकेको छ । नेपालभित्र विद्युत् प्रवाहका लागि ४०० केभी र २२० केभीको संरचना तयार भइनसकेकाले ४०० केभी प्रसारण लाइनबाट भारतबाट आएको विद्युत्लाई १३२ मा कन्भर्ट गरी प्रवाह भइरहेको छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ भने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन १३२ केभीमा मात्रै सञ्चालनमा छ ।

खिम्ती–ढल्केबरलाई २२० केभीमा छिट्टै चार्ज गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केबर पुर्‍याइनेछ ।आवश्यक पर्दा देशभित्रै खपत गर्ने र बढी हुँदा ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसाण लाइनमार्फत भारत निर्यात गर्ने उद्देश्यसहित माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् खिम्ती–ढल्केबर प्रसारण लाइनमा जोड्न लागिएको हो ।

प्रकाशित : पुस २१, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?