कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृषिमा ४८ अर्बको आयात हुँदा ४ अर्बको निर्यात

चामल, मकै, गहुँ, हरियो तरकारीलगायतको आयात उच्च
२ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बराबरको चिया निर्यात
राजु चौधरी

काठमाडौँ — सरकारले पन्ध्रौं योजनासम्ममा कृषिका मुख्य बालीको उत्पादन बढाउने लक्ष्य राखे पनि आयात–निर्यातको खाडल झन्भन्दा झन् बढ्दो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको पहिलो चौमासिक प्रगति विवरणअनुसार ४८ अर्ब रुपैयाँको आयात हुँदा ४ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । मुख्य बाली चामल, मकै, गहुँ, हरियो तरकारीलगायतको आयात उच्च छ ।

कृषिमा ४८ अर्बको आयात हुँदा ४ अर्बको निर्यात

मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा धान उत्पादन ७० हजार ८ सय ३२ टन वृद्धि भएको दाबी गरिरहँदा चामल आयात भने उल्लेख्य बढेको छ ।

पहिलो चौमासिकसम्म १३ अर्ब ५८ करोड २४ लाख रुपैयाँ बराबरको ३ लाख ४६ हजार १ सय ६१ टन चामल आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ अर्ब ३० करोड ५६ लाख रुपैयाँ बराबरको १ लाख ४२ हजार ९ सय ७४ टन चामल आयात भएको थियो । चामल मुख्यतः भारतबाट आउँछ ।

मकै आयात पनि उल्लेख्य बढेको छ । पहिलो चौमासिक विवरणअनुसार चार महिनामै ५ अर्ब ५५ करोड १७ लाख रुपैयाँको मकै आएको छ । अघिल्लो आर्थिक वर्षर्को सोही अवधिमा ३ अर्ब ८१ करोड ७३ लाख रुपैयाँको आयात भएको थियो । मकै मुख्यतः दानाका लागि आयात भइरहेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए । ‘मासिक १ लाख टनका दरले आयात भइरहेको छ । तेस्रो मुलुककबाट आयातित मकै कुखुराको दानाका रूपमा प्रयोग गरिन्छ,’ उनले भने ।

गहुँ आयात पनि ५ अर्ब ३७ करोड २७ लाख रुपैयाँले बढेको छ । अघिल्लो वर्षको चौमासिकमा २२ करोड ७९ लाख रुपैयाँको आयात भएको गहुँ अहिले ५ अर्ब ६० करोड ६ लाख रुपैयाँको आएको मन्त्रालयको विवरण छ ।


खेती गर्न किसान लक्षित कार्यक्रम नहुँदा यस्तो समस्या भएको कृषिविज्ञ कृष्ण पौडेल बताउँछन् । किसानका नाममा विभिन्न कार्यक्रम आए पनि बिचौलियकै रजाइँ भएको उनको आरोप छ । ‘कृषि सपार्न यसको प्रविधि चाहिन्छ, सेवा सामग्री चाहिन्छ, नभए कसरी उत्पादन बढ्छ ?’ उनले भने, ‘तर विडम्बना अनुदानका कार्यक्रम बिचौलियाका लागि भएका छन् । बिचौलियालाई कमिसनको भरमा अनुदान दिने गरिन्छ ।’ चौमासिक विवरणअनुसार हरियो तरकार आयात पनि ४ करोड ७८ लाख रुपैयाँले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ करोड १४ लाख रुपैयाँको आयात भएको हरियो तरकारी अहिले १० करोड ९३ लाख रुपैयाँको आएको छ । भटमासको तेल (कच्चा) पदार्थको आयात पनि उल्लेख्य बढेको छ । ४ महिनामा ११ अर्ब ६ करोड ५४ लाख रुपैयाँको आयात भएको छ । भटमासको कच्चा तेल तेस्रौ मुलुकबाट ल्याइन्छ । आयातित भटमास तेल रिफाइन भएर पुनः भारत निर्यात गरिन्छ । भारत निर्यात भएकै कारण स्थानीय बजारमा तेल अभाव भइरहेको खुद्रा व्यवसायी बताउँछन् ।

सनसफ्लावर तेलको कच्चा पदार्थ आयात पनि दोब्बर छ । विवरणअनुसार पहिलो चौमासिकमा ४ अर्ब २९ करोड २८ लाख रुपैयाँको आयात भएको छ । कृिष उपजको उत्पादन बढाउन सकिने मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रेग्मीको दाबी छ । ‘त्यसका लागि सिँचाइ सुविधा र मलबीउको मात्रा बढाउनुपर्छ । सिञ्चित क्षेत्र विकास कार्यक्रम छन् । तिनले पनि उत्पादनमा सघाइरहेका छन्,’ उनले भने ।

फलफूलको आयात पनि बढ्दो क्रममा छ । मन्त्रालयका अनुसार पहिलो चौमासिकमा २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको छ । ६९ करोड ७४ लाख रुपैयाँको सुन्ताला/कागती र २५ करोड ८९ लाख रुपैयाँको केरा आएको छ ।निर्यातमा भने सबैभन्दा अगाडि चिया छ । यो २ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा १ अर्ब १६ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

दोस्रो नम्बरमा अलैंची छ । यो २ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात भएको मन्त्रालयको विवरणमा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५४ करोड ७ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । यस्तै ७ करोड ३१ लाख रुपैयाँको हरियो तरकारी, २१ करोड ९९ लाखको अदुवा र ३ करोड ४७ लाख रुपैयाँको कफी निर्यात भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : पुस २०, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?