कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यवसायीलाई २२ लाख घरभाडा मिनाहा

कपिलवस्तु — लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बस्ने शोभनाथ यादवले २२ लाख रुपैयाँ घरभाडा मिनाहा गरिदिएका छन् । २०७६ चैतदेखि २०७७ मंसिरसम्म नौ महिनाको भाडा उनले मिनाहा गरिदिएका हुन् ।

कोरोना भाइरस संक्रमणले पर्यटन व्यवसाय थला परेकाले १७ जना व्यवसायीलाई राहत प्रदान गरेर सहयोग पुर्‍याएको उनले बताए । मायादेवी मन्दिर प्रवेश गर्ने लुम्बिनीको मुख्य ५ नम्बर गेटअघि उनले पर्यटन व्यवसायीलाई होटल, रेस्टुरेन्ट, उपहार तथा खुद्रा पसल, सैलुन र बस टिकट काउन्टरका लागि घरजग्गा बहालमा दिएका थिए ।

लुम्बिनी होटल संघ, लुम्बिनी संरक्षण नागरिक समाज, रेस्टुरेन्ट तथा माला व्यवसायी समूह र साना व्यवसायी लुम्बिनीले यादवलाई बुधबार सम्मान गरेका छन् । भिक्षु महासंघ अध्यक्ष मैत्री महास्थवीरले यादवलाई सम्मानपत्र र बुद्ध मूर्ति प्रदान गरेका थिए । बैंकको ऋणबाट थलिएका साना व्यवसायीलाई व्यवसाय बन्द हुँदा घरभाडा मिनाहा गरेर ठूलो राहत प्रदान गरेकाले हृदयदेखि सम्मान गरेको बुद्धग्राम रोबटिक प्रालिका सञ्चालक पुरुषोत्तम अर्यालले बताए ।

चीनमा कोरोना भाइरस संक्रमण देखिएपछि गत जनवरीदेखि डिसेम्बरसम्म लुम्बिनीले १० लाख पर्यटक गुमाएको छ । लुम्बिनी विकास कोषले पर्यटकबाट हुने आम्दानी ९ करोड बढी गुमाएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायीले ८० करोड बढी नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । १ अर्ब ५० करोड लगानी रहेको लुम्बिनीमा ८० भन्दा बढी होटल छन् । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीमा १६ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् ।

प्रकाशित : पुस १९, २०७७ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?