कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाला भत्काएर चौडा बनाइँदै मध्यपहाडी लोकमार्ग

६ वर्षअघि बनेका नाला र ग्राभेल भत्काउँदा यसअघिको लगानी खेर गयो
ज्योति कटुवाल

दैलेख — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको दैलेख खण्डमा यसअघि बनेका नालालगायत संरचना भत्काएर सडक चौडा पार्न थालिएको छ । झन्डै ६ वर्षअघि बनेका नाला र ग्राभेल भत्काएर सडक चौडा बनाइँदा यसअघिको लगानी खेर गएको छ ।

आयोजनाले ‘बेस चौडाइ’ का नाममा धमाधम पुराना संरचना भत्काउन थालेको हो । २०७१ मा लोहोरे खोलाबाट दैलेख बजारसम्म १० किलोमिटरमा ७ मिटर चौडाइको ग्राभेल र नाला निर्माण गरिएको थियो । यस वर्ष त्यही ठाउँमा १० मिटर चौडाइ गर्ने भन्दै डोजरमार्फत बनेका संरचना भत्काउन थालिएको छ । ग्राभेल, मेसनरी वाल, ग्याबिन, नाला र होमपाइप भत्काइएको स्थानीय कमल केसीले बताए ।

मुआब्जा विवादमा वर्षौंदेखि रुमल्लिरहेको आयोजना बनेका संरचना भत्काउन थालेपछि फेरि विवादित बनेको छ । लोकमार्गअन्तर्गतको घयातिदु–बडालम्जी हुँदै नारायण नगरपालिका जोड्ने ३० किलोमिटर खण्डमा सुरुदेखि नै मुआब्जा विवाद छ । नारायण नगरपालिका–७, किमुगाउँका पीताम्बर खड्काले सामाजिक सञ्जालमा मुआब्जामा विभेद गरिएको भन्दै आक्रोश पोखेका छन् । ‘घर भएको जमिनको क्षेत्रफल र तला नहेरेरै हचुवाको भरमा मूल्यांकन गरिएको छ,’ उनले भने, ‘घरजग्गाको उचित क्षतिपूर्ति पाउन पनि पहुँचवालै हुनुपर्ने बाध्यता छ ।’

करोडौं रकम खर्च गरेका संरचना भत्काउँदा ‘सरकारी लगानी, बालुवामा पानी’ बनेको स्थानीय अगुवा पुष्कर थापाले बताए । ‘बनेका संरचना भत्काएर फेरि जिरो लेबलबाट सडक बनाउन थालिएको छ,’ उनले भने, ‘नेता, ठेकेदार र कार्यालयका कर्मचारीको मिलेमतोमा लाखौं रकम पचाउन थालियो ।’ कालोपत्रे गर्ने समयमा ग्राभेल भत्काइएको उनको भनाइ छ । अनुगमन अभावमा नयाँ संरचना पनि कमजोर बनेको उनले आरोप लगाए । उनका अनुसार भत्काउँदा उप्किएको माटो, ढुंगा, गिट्टी र बालुवा त्यही ठाउँमा फेरि प्रयोग भइरहेको छ ।

स्थानीयका अनुसार अन्य खण्डमा पनि बालुवा, गिट्टी, सिमेन्ट र छडलगायत सामग्री मापदण्डअनुसार प्रयोग नगरिँदा बनाएको एक/दुई सातामै भत्किने समस्या छ । ‘राष्ट्रिय गौरवकै आयोजनाले प्रयोगशालासमेत स्थापना गरेको छैन,’ नारायण नगरपालिका–७ की माया मल्लले भनिन्, ‘पिच भएको ठाउँमा मात्र अनुगमन हुँदा त्यसपूर्वका अधिकांश संरचना गुणस्तरहीन बनेका छन् ।’

लोकमार्गको दैलेख खण्डले १ सय २५ किलोमिटर सडक छुन्छ । सडकको कुनै ठाउँमा कालोपत्रेको काम सुरु गर्न थालिएको छ भने कुनै खण्ड ग्राभेल नै नभएको दुल्लु नगरपालिका–१ का अध्यक्ष काशीराम कार्कीले बताए । ‘सडक बनाउने र भत्काउने काम मात्र भएको छ,’ उनले भने, ‘अधिकांश काम अपूरा र गुणस्तरहीन हुँदा लोकमार्गको अनुभूति जनताले गर्न सकेका छैनन् ।’ विकासको नाममा लोकमार्गले हिलाम्मे र धुलाम्मे सडक बनाएको उनको आरोप छ । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई योजना बेच्दा आयोजनामा गुणस्तरीय काम हुन नसकेको आठबिस नगरपालिकाका विष्णु शाहीले बताए । उनका अनुसार विभिन्न खण्डमा अत्यधिक मात्रामा बालश्रमिक प्रयोग गरिएको छ । ‘दक्ष कामदार कतै प्रयोग गरिएका छैनन्,’ उनले भने, ‘न महिला र पुरुषमा समान ज्याला कायम गरिएको छ ।’ उनका अनुसार एउटै काम गर्ने पुरुषले ८ सय रुपैयाँ ज्याला पाए पनि महिलाले ५ सय रुपैयाँ मात्र पाइरहेका छन् ।

मध्यपहाडी लोकमार्गको दैलेख कार्यालयसँग अहिलेसम्म कति बजेट खर्च भयो भन्ने यकिन तथ्यांक छैन । आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर मनीष सिंहले केन्द्रीय कार्यालयबाट मात्र खर्च भएको बजेट पाउन सकिने बताए । उनका अनुसार सुरुमा ५ मिटर सडकमा विभिन्न संरचना निर्माण गरिएको थियो भने अहिले १० देखि १२ मिटर चौडाइ बनाउन थालिएको हो । १२ वर्षअघि दैलेख खण्डमा सडक निर्माण सुरु भएको थियो । यस अवधिमा भगवतीमाई गाउँपालिकाको लोहोरेदेखि मनघरसम्मको १९ किलोमिटर सडकमा मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०७३/७४ मै उक्त खण्डमा कालोपत्र गरिएको थियो । आयोजनाका लागि दैलेख खण्डमा ४ अर्ब २७ करोड रुपैयाँ बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा १ अर्ब ६४ करोड रुपैयाँका विभिन्न ठेक्का सञ्चालन गरिएको इन्जिनियर सिंहले बताए । उनका अनुसार सबै ठेक्काको अवधि ३० महिना हो । उनले अहिलेसम्म ५३ करोड रुपैयाँ भुक्तानी भएको जानकारी दिए ।

प्रकाशित : पुस १९, २०७७ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?